काठमाडौँ, २५ असोज – नेपाल खाद्य संस्थानले दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गर्ने भएको छ । शुक्रवारदेखि नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट दसैँका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु हुन लागेको हो । 

संस्थानका लागि वागमती अञ्चल कार्यालयले हालसम्म  बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङ्ग्रा काठमाडौँ आइपुगेको जनाएको छ । 

भोलिसम्म मुस्ताङबाट १ हजार वटा च्याङ्ग्रा काठमाडौँ ल्याउने योजना बनाइएको संस्थानका अञ्चल प्रमुख  सुरेन्द्रराज विष्टले बताएका छन् ।  हेटौडाबाट पनि ९ सय १० वटा खसी, बोका काठमाडौँ ल्याउने संस्थानको तयारी  छ । शुक्रवार बिहान ८ बजेदेखि  खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु हुने बताइएको छ  ।

संस्थानले बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने जनाएको छ । संस्थानले बिक्री वितरण गर्ने खसी बोका तथा च्याग्राह बजारको भन्दा सस्तो मूल्यमा बिक्री वितरण हुने बताइएको छ  ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैँका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्दे आएको छ । यस वर्ष बाटो अप्ठ्यारो भएका कारण मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिनाइ भइरहेको पनि संस्थानले जनाएको छ ।