राजविराज, २५ वैशाख - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् । 

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएकाको विराटनगरस्थित न्यूरो अस्पताल र सामान्य घाइतेको भारदहस्थित शिव उपचार क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरीको छिन्नमस्ता सखडा मन्दिर दर्शन गरी सुनसरीको इनरुवा जाँदै गरेका यात्रु चढेको को १ त ९७७१ नम्बरको ट्र्याक्टर हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित राजमार्गमा आफैँ अनियन्त्रित हुँदा पल्टेको थियो । यता दुर्घटनामा परेको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ । 

रासस