मानिस घुमन्ते प्राणी थियो, छ र रहिरहनेछ । कहिले स्वेच्छिक त कहिले बाध्यताले धर्तीको एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देशमा मान्छे आवत जावत गरिरहेको छ । जीविकाको कारणले र सुविधाको खोजीले मानवजाती ‘डायसपोरा’ बनिरहेको छ । यस वृत्तिले मानिसलाई आफ्नो ज्ञान, सीप, कला र सेवालाई संगठित, प्रसारित र समृद्ध तुल्याउन पनि ठूलो मद्दत पु¥याइरहेको छ । संसार विचरण गर्ने यस मानवीय स्वभावलाई नीति,  कानून र आव्हानले रोक्न सकेन, सकिएको छैन र सायद सकिने छैन । त्यसैले देश, काल र परिस्थिति अनुसार विश्वको सर्वश्रेष्ठ बुद्धिमान प्राणीको विश्व आवागमनलाई नियमन र व्यवस्थापन गर्नु नै आधुनिक राज्यको सबैभन्दा उपयुक्त कदम हुनेछ । मानव पूँजी विकासको लागि आवश्यक तत्व हो तर यो व्यापार गरिने वस्तु होइन । मानव समुदाय व्यवसायको विषय होइन, यो त एउटा अद्वितीय बौद्धिक मुल्य हो । प्रकृतिको सुन्दर उपहार मानिस विकासको निर्णायक चालक शक्ति हो । 

विश्वमा प्राचीन कालदेखि नै श्रम, सीप र बौद्धिकता चलायमान हुँदै आएको कुरा स्पष्ट नै छ । ज्ञानी, तपस्वी, ऋषिमुनी, साहित्यकार, वैज्ञानिक, सिद्धान्तकारजस्ता स्रष्टाहरूले मानव कल्याण र बौद्धिकताका निम्ति विश्व विचरण गरे र गरिरहेका छन् । विश्व शान्तिदूत बुद्ध, प्राज्ञ पर्यटक हुएन साङ, वैज्ञानिक आइजक न्यूटन, अहिंसा आन्दोलनका अग्रणी गान्धी, प्रख्यात समाजसेवी मदर टेरेसा, प्रसिद्ध कलाकार अरनिको, ज्ञान प्रसारक विवेकानन्द, चर्चित मानवतावादी जयपृथ्वीबहादुर सिं, दार्शनिकहरू कार्लमाक्र्स तथा फ्रेडरिक एंगेल्स, समाज अध्येता टोनी हागनजस्ता दिग्गज द्रष्टाहरु ज्ञान, समाजसेवा, कलाकौशलका लागि भ्रमणमा निस्के, केही पलायन भए, केही स्वदेश फर्के । ती जहाँ रहे र भए पनि मानबताका निम्ति क्रियाशील बने ।  

बेलायती वैज्ञानिक र प्राविधिकहरूले उत्तरी अमेरिकामा सन् १९५० को दशकदेखि ठूलो संख्यामा आप्रवासन गरेकाले त्यस घटनालाई दर्शाउन सर्वप्रथम ब्रिटीश रोयल सोसाइटीले ‘बौद्धिक पलायन’ भन्ने शब्दावलीको प्रयोग गरेको थियो । एउटा आँकडा अनुसार अहिले विश्व जनसंख्याको तीन प्रतिशत मानिस आफ्नो देश बाहिर बसेका छन् । 

वर्तमान युगमा विज्ञान, साहित्य, कला, संगीत, खेलकूद, समाजकल्याणजस्ता विषयमा कुशाग्र सीप र बुद्धि भएका बीचमा भिषण अन्तरक्रिया र ठूलो प्रतिष्पर्धा चलिरहेको छ । विद्वान विदुषीहरू बीच अन्तर्राष्ट्रियस्तमा बहस, विमर्श र ज्ञानको अन्तरघुलन भइरहेको छ भने सँगसँगै ‘बौद्धिक संजाल’ निर्माणको प्रक्रिया पनि तीब्र बनेको छ । विज्ञान, हवाई सेवा तथा दू्रत यातायात एवं आधुनिक संचार प्रविधिको विकासले विद्वत समुदायबीच हुने अन्तरक्रियालाई थप सघन र प्रभावकारी तुल्याएको छ । अनुसन्धान, वैज्ञानिक प्रयोग, ज्ञान आर्जन, बौद्धिकता प्रसार, कला, सीप तथा श्रमका निम्ति स्थायी वा अस्थायी रूपमा विदेश पलायन विश्वव्यापि प्रवृत्ति बनेको छ । युवा तथा विद्यार्थीहरू यसबाट झन बढि प्रभावित भएका छन् । कुनै मुलुकले यस प्रवृत्तिलाई बढावा दिएका छन् भने कतिपयले निरुत्साहित गर्न कोशिस गरेका छन् । देशको अवस्था र आवश्यकताका आधारमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने कि विदेशमै रहन दिने भन्ने बारेमा नीति नै बनाउन थालिएको छ ।  

नेपालीहरु आप्रवासी हुन थालेको दुईसय वर्ष लामो इतिहास छ । सन् १८१६ को सुगौलि सन्धिपछि साढे चार हजार भन्दा बढि नेपाली युवाहरु ब्रिटिस गोर्खामा भर्ना भए । यसैलाई औपचारिक रुपमा श्रमको लागि नेपालीहरु आप्रवासी भएको मानिन्छ । पच्चिस लाख बढि नेपालीहरु विश्वका विभिन्न मुलुकहरुमा बौद्धिक तथा शारिरिक श्रममा संलग्न छन् । अहिले विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा र लाखौँ परिवारको जीविका, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको माध्यम बनेको छ । यस्तो परिवेशमा नेपाल सरकारले अबका दुई वर्ष सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै विकसशील मुलुकमा र आगामी एक दशक सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण हुने लक्ष्य साकार तुल्याउन बौद्धिक पलायनलाई रोक्ने र बाहिरिएको जनशक्तिलाई स्वदेश फर्काउने दृष्टिकोण अघि सारेको छ ।  विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरूमा के–कस्ता क्षेत्रमा उच्च स्तरका सीप एवं क्षमताहरू छन् र उनीहरूको के कस्तो योगदान हुनसक्छ त्यसको आँकलन गर्न र मातृभूमिसँगको आबद्धता सुदृढ तुल्याउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा पहिलो पटक ‘ब्रेन गेन सेन्टर’ नै स्थापना गरिएको छ । नेपालीहरूको बौद्धिकताको खोजी गर्दै त्यसको विवरण राख्ने प्रक्रिया सरकारी तवरमै थालनी भएको छ । नेपालको संविधानले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति समेत अवलम्बन गरेको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था नेपालको संविधानले गरेको छ ।

विश्वमा बौद्धिकता पलायन र प्राप्तिका बारेमा मिश्रित धारणाहरू विकसित भइरहेका छन् । कतिपय दृष्टिकोणले बौद्धिक व्यक्तिको विदेश पलायनलाई स्वाभाविक र सकारात्मक ठान्छ भने अल्पविकसित र विकासशील मुलुकको जनशक्ति पलायनलाई गम्भीर रूपमा लिएको पाइन्छ । एकातिर ज्ञान पलायनका माध्यमबाट विश्वस्तरमा बौद्धिक व्यक्तित्वहरूको अन्तरक्रियाले नयाँ नयाँ सिद्धान्त प्रतिपादन र आविष्कारहरु गरेर मानवजातीले नै लाभ लिइरहेको छ भने अर्कातिर गरिब राष्ट्रको बौद्धिक पलायनले सम्बन्धित देशमा नवप्रवर्तन र विकास नहुने तर्क गर्दै त्यस्ता मुलुकहरू सधैँभरि परावलम्बी भई गरिबीमा बाँच्नुपर्ने हुन्छ भन्ने गरिएको छ । पछौटे मुुलुकमा विदेशी प्राज्ञिक समुदायले नै बौद्धिक सम्पत्तिमा नियन्त्रण जमाउने संभावना हुनसक्छ भनेर आशंका पनि गरिन्छ ।   

मानव समुदाय व्यवसायको विषय होइन, यो त एउटा अद्वितीय बौद्धिक मुल्य हो । प्रकृतिको सुन्दर उपहार मानिस विकासको निर्णायक चालक शक्ति हो । 

विश्वमा स्थानीय वा घरेलु राजनीतिक सामाजिक निरासाले ठूलो संख्यामा जनशक्ति पलायन भइरहेको विश्लेषण गरिएको छ । देशको आन्तरिक बौद्धिक आप्रवासनले क्षेत्रीय विकासमा समेत प्रतिकूल प्रभाव पार्दै गएको छ । मुलुकमा उत्पादित बौद्धिक जनशक्ति खासगरी ग्रामीण इलाकाको जनशक्ति अवसरका लागि शहरी क्षेत्रमा पलायन भइरहेको छ । मुलतः चिकित्सक, स्वास्थ्यकर्मी, इन्जिनियर, कानूनवेक्ताहरू गाउँबाट शहर पसिरहेका छन् । सार्वजनिक क्षेत्रमा कार्यरत जनशक्ति निजी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रमा प्रवेश गर्दैछन् । दुर्गम क्षेत्रमा प्राज्ञिक, शैक्षिक तथा प्राविधिक जनशक्तिको कमी हुने संभावना बढेर गएको छ । अनुभवी, दक्ष र कुशल श्रमशक्ति औद्योगिक तथा शहरी क्षेत्रमा पलायन बनिरहेको छ । पछाडि परेको भौगोलिक क्षेत्रबाट विकसित स्थानमा पलायन हुने प्रवृत्तिले तीब्रता लिँदैछ ।  

मानव पूँजी पलायनमा भूमिका खेल्ने सामाजिक, आर्थिक, जातीय, साँस्कृतिक, राजनीतिक द्वन्द्व एवं अस्थिरता र हिंसा, असल अवसरको खोजी, पहिले भन्दा अझ बढि बौद्धिकता, ज्ञान, सीप र कौशल आर्जन गर्ने उत्कठ अभिलाषा जस्ता कुरा हुन् । मातृभूमिमा रहिरहँदा भविष्यमा महत्वपूर्ण अवसरबाट बञ्चित भइन्छ भन्ने त्रास रहेको छ । यसैगरी स्वास्थ्य तथा जलवायु परिवर्तन एवं पर्यावरणमा आएको ह्रासले गर्दा पनि विदेशीने प्रवृत्ति बढेर गएको छ । परिवारका धेरै सदस्यहरू विदेश पलायन भएको अवस्थामा त्यस परिवारका बाँकी सदस्यसँगै पलायन हुने प्रवृत्ति रहेको छ । विदेशी भूमिमा सामाजिकीकरण प्रक्रियामा परिवार नै आबद्ध हुने प्रक्रिया पनि तीब्र छ । कतिपय गाउँमा विदेश पलायन हुने एउटा संस्कृति नै मौलाएको छ । यसलाई गौरबको विषय मान्नेहरु पनि छन् तर यो राम्रो प्रवृत्ति होइन । 

बौद्धिक पलायनको सकारात्मक पक्ष पनि छ । कोही व्यक्ति कुन देशको हो भनेर पहिचान दिलाउन र देशको संस्कृति परिचित गराउन समेत बौद्धिक पलायनले महत्वपूर्ण भूमिका खेलिरहेको छ । विश्वमा पहिचानको विषय मुखर बनिरहेको वर्तमान परिवेशमा बौद्धिक पलायनले मुलुकलाई परिचित गर्नसमेत भूमिका निर्वाह गरिरहेको छ । पर्यटन प्रबद्र्धनमा विदेशस्थित नेपालीको भूमिका प्रभावकारी बनिरहेको छ । 

नेपालको सार्वजनिक शिक्षामा सरकारले ठूलो लगानी गरेको छ । निजीक्षेत्रको समेत शैक्षिक क्षेत्रमा उल्लेख्य मात्रामा लगानी छ । मुलुकले विद्यालय तथा उच्च शिक्षामा गरेको यत्रो ठूलो लगानी पश्चात यहाँबाट उत्पादित सक्षम जनशक्ति पलायन भई ज्ञान तथा सीप विदेशमा प्रयोग भइरहेको छ । आर्थिक, सामाजिक र पारिवारिक दायित्व मातृभूमिले व्यहोर्ने तर त्यसको प्रतिफल पराई देशले पाउनाले नेपाललाई ठूलो क्षति पुगिरहेको छ । युवा जनशक्तिको श्रम, सीप तथा कुशलता समेत बाहिरिइरहेको छ । यसबाट विकासको गतिमा अवरोध उत्पन्न भइरहेको छ । सामाजिक साँस्कृतिक विचलन, पारिवारिक अन्तरविरोध र विग्रह बढिरहेको छ । कतिपय परिवार नै छिन्नभिन्न भएका छन् । समाज तथा राष्ट्रलाई अप्रत्यक्ष हानीको त लेखाजोखा पनि गर्न सकिँदैन । स्वदेशमा विविध क्षेत्रमा विभिन्न तहको जनशक्तिको खाँचो भएको बेला छिमेकी मुलुकबाट महँगोमा ज्ञान, श्रम तथा सीप खरिद गर्नुपर्ने विडम्बडापूर्ण अवस्था छ । 

अनेकौँ विकसित मुलुकहरूले आफ्नो आप्रवासन नीति आकर्षक बनाएका कारणले पनि विदेश पलायन हुने बौद्धिक जमात बढेको विश्लेषण गरिएको छ । कतिपय देशहरूले दक्ष जनशक्ति आकर्षित गर्न माग र आपूर्ति अनुकूल आप्रवासन नीति र कानून नै बनाएका छन् । यसरी आफू अनुकूल आप्रवासन कानून बनाउनेमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत अग्रणी मानिन्छन् । अमेरिकाले युरोपियन र विकासशील देशबाट उच्च शिक्षा र विद्यावारिधिका लागि विदेशी विद्यार्थीहरु आकर्षित गर्ने नीति नै बनाएको छ । खुल्ला समाजले सबैलाई आकर्षित गर्ने भएकाले त्यस्ता देशहरूमा जनशक्ति पलायन हुने प्रवृत्ति देखिएको हो भन्ने विश्लेषण पनि छ । प्राज्ञिक जगत, कुशल जनशक्ति र तीक्ष्ण बुद्धि भएकालाई विश्व सीमाबिहिन बन्दै गइरहेको परिवेशमा मूलतः पश्चिमा मुलुकको आप्रवासन नीतिले विदेशीन चाहनेहरुका लागि अनुकूलता थपेको छ  । अन्तर्राष्ट्रिय श्रम बजारमा सक्षम समुदाय स्थायी र अस्थायी दुबै प्रकारले खपत भइरहेका छन् । पलायनको लर्को लागिरहेको छ । 

बौद्धिक पलायनलाई रोक्न र फिर्ता गर्न लगानी मैत्री वातावरण, पर्यावरण प्रबद्र्धन, अध्ययन अनुुुुसन्धान केन्द्र स्थापनाले भूमिका खेल्न सक्दछ । विद्यालयतहदेखि नै विद्यार्थीहरूमा राष्ट्र, राष्ट्रिता र देशप्रेमको भावना थप सुदृढ तुल्याएर स्वदेशमै मिहिनेत गरे व्यक्तित्व विकास, पारिवारिक सुख एवं खुशी र राष्ट्रिय समृद्धिमा योगदान पु¥याउन सकिन्छ भन्ने भावना जागृत गराउन सकेमा बौद्धिक पलायनको  प्रवृत्तिलाई निरुत्साहित तुल्याउने अपेक्षा गर्न सकिन्छ । 

नेपाल संघीयतासहित लोकतन्त्रान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्लयाउँदै आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बन्न अग्रसर बनेको छ । समन्यायिक वितरणमार्फत न्याय र समानतामा आधारित समुन्नत समाज निर्माण संवैधानिक मार्गदर्शन हो । अथाह प्राकृतिक स्रोत र विविध साँस्कृतिक वैभवको जगमा नेपालीको सुरता, वीरता र पौरखता सदुपयोग गर्ने यो महत्वपूर्ण अवसर हो । यस्तो सकारात्मक परिवेशमा सम्बद्ध सबै पक्ष आर्थिक समृद्धि हासिल गर्ने महाअभियानमा आवद्ध हुनु समयको माग हो । सबैलाई चेतना भया !       

(लेखक राष्ट्रपतिका प्रमुख स्वकीय सचिव हुनुहुन्छ)