हाम्रो छिमेकी देश चीन यतिबेला कोरोना भाइरस विरुद्धको लडाइँ लडिरहेको छ । चालीस हजार भन्दा माथिको प्रमाणित संक्रमित संख्या, हजारभन्दा माथिको मृत संख्या र मानिसहरूको आवतजावतमा लगाइएको नियन्त्रणका कारण यसले मानिसहरूको जीवनमा एक खालको सन्त्रास थपेको छ ।

कोरोना भाइरसको यो संक्रमणलाई चीन लगायत विश्व समुदायले सामान्य रूपमा लिए पनि विश्व स्वास्थ संगठनको चेतावनी पछि यो विषय गम्भीर बन्न पुग्यो । यो भाइरस विरुद्ध खोपको आविष्कार नभएको, मानिसको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरेर मात्र यो संक्रमणलाई परास्त गर्ने एकमात्र उपाय भएकोले सोही मुताबिक संक्रमित मानिसहरूलाई उत्प्रेरणा प्रदान गर्दै बिरामीहरूको प्रतिरोधात्मक क्षमता बढाउन संक्रमित मानिसहरूलाई अलग-अलग ‘आइसोलेसन’मा राखी उपचार गर्ने रणनीति चीनले अख्तियार गर्यो । जसको परिणामस्वरूप दुई दिनमै हजार बेडको अस्पताल निमार्ण गरेर चीनले विश्वसामु आफनो क्षमता प्रदर्शन गर्यो ।

एकबाट अर्कोलाई यो भाइरस संक्रमित नहोस् भन्नका खातिर मुख्य प्रभावित क्षेत्रहरू जस्तै हुवेइको उहान जस्ता क्षेत्रहरूमा हवाई, रेलवे, बस सेवा र अन्य सवारी सेवाहरू बन्द गर्यो । चीनका अन्य शहरहरूमा मानिसहरूलाई घरभित्रै बस्ने निर्देशन जारी गर्यो । 

एक अरब चालीस करोड जनसंख्या भएको यो विशाल चीनमा यो भाइरस विरुद्धको लडाइँ लडन चिनियाँ सरकारमात्रै तयार भएन चिनियाँ नागरिकहरूको प्रतिबद्धता समेत रह्यो । सरकारले जारी गरेको निर्देशनको पालना गरेर चीनका सम्पूर्ण नागरिकहरू र चीनमा रहेका विदेशी नागरिकहरू समेतले यो भाइरस विरुद्धको लडाइँ लडने चिनियाँ सरकारको रणनीतिमा आ–आफनो ऐक्यबद्धता जनाए । 

कोराना र चिनियाँ अर्थतन्त्र 
यो भाइरस भेटिएको शुरुको समय डिसेम्बर अन्तिमदेखि गणना गर्ने हो भने चीनले यो भाइरस विरुद्ध डेढ महिनाको लडाइँ लडिसकेको छ । यो लडाइँ लडने क्रममा चीनको आन्तरिक अर्थतन्त्रमा समेत केही असर पुगेको छ । जनवरी तेस्रो साता सिङ्गो चीनले वसन्त चाड मनाइरहेको बेला एकाएक फैलिएको यो भाइरसका कारण करीब चारसय मिलियन चिनियाँ नागरिकहरूले पहिले नै बुक गरेका आन्तरिक तथा अन्तर्देशीय ट्राभल टिकट रद्ध भए । जसले छिमेकी देशहरूको पर्यटनमा गम्भीर असर पुग्यो । यसको मारमा पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने होटल व्यवसायी र ट्राभल एजेन्सीहरू परे । चीनको उर्वर जनसंख्या घरभित्र आइसोलेसनमा रहँदा सेवा तथा वस्तुहरूको उत्पादन व्यापार र उपभोगमा समेत असर पर्यो । तत्कालका लागि यो असर अल्पकालीन भएपनि यो संक्रमण लम्बिएको खण्डमा चिनियाँ अर्थतन्त्रका हरेक क्षेत्रमा यसको असर केही न केही मात्रामा देखिने छ । 

चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यसले विश्व अर्थतन्त्रमा करीब २० प्रतिशत योगदान पुरयाउँछ । अन्तर्राष्ट्रिय व्यापार लगानी र रोजगारीका माध्यमबाट चीन विश्व अर्थतन्त्रको महत्वपूर्ण आधारशिला हो । वर्तमान अवस्थामा अफ्रिकाका ५४ वटा देशहरू, ल्याटिन अमेरिकी देशहरू , दक्षिण पूर्वी एशियाका देशहरू, दक्षिण एशियाका देशहरू अन्तर्राष्ट्रिय व्यापार र लगानीका माध्यमबाट चीनसँग केही न केही निर्भर रहेका छन् । स्वयं अमेरिका पनि चीनसँग व्यापार घाटामा रहेको अवस्था छ । यस्तो अवस्थामा यो भाइरसका कारणले चीनको अर्थतन्त्रमा केही असर पर्यो भने त्यो असर चीनमा मात्रै नभएर चीनसँग व्यापार र लगानीका माध्यमबाट जोडिएका देशहरूमा पनि पर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । 

कोरोना पछाडिको राजनीतिक प्रोपोगन्डा 
आपत र विपत कस्लाई, कतिबेला र कहाँ आउन सक्छ भन्न सकिन्न । चीनबाट उत्पन्न भएको यो भाइरस आज संसारका ३० भन्दा बढि देशमा फैलिएको छ । भोलि यो विश्वव्यापी समस्या बन्न सक्दछ । त्यसैले यो भाइरस विरुद्धको लडाइँ लड्न विश्वका सबै देशका सरकारहरू, नागरिकहरू एक हुन जरुरी छ । तर यसको अलावा अमेरिका, अष्ट्रेलिया जस्ता देशहरूले चिनियाँ नागरिकहरूलाई भिषा नदिने, भर्खरै चीन भ्रमण गरेका अन्य देशका नागरिकहरूलाई पनि भिषा नदिने, चीनसँगको हवाई कनेक्टिभिटी बन्द गर्ने, तेस्रो मुलुकबाट चीनलाई ट्रान्जिट बनाएर अष्ट्रेलिया, अमेरिका जाने यात्रुहरूलाई प्रवेश निषेध गर्ने आदि कामले अमेरिका र अष्ट्रेलिया जस्ता देशहरू चीनको यो भाइरस विरुद्ध लड्ने काममा असहयोग गरिरहेको पुष्टि हुन्छ । 

कोरोना भाइरसका पछाडि अहिले विभिन्न प्रोपोगन्डा चलाइएका छन् । चीनले वास्तविक संक्रमितहरूको संख्या लुकाएको, वास्तविक मृत मानिसहरूको संख्या लुकाएको, संक्रमित मानिसहरूलाई मार्नका लागि अदालतको आदेश पर्खिएको आदि जस्ता झुठा र कपोल कल्पित आरोपहरू लगाउन शुरु गरिएको छ । तर यी आरोपहरू सत्यतामा आधारित नभई कोरोना भाइरसको नाममा चीनको आर्थिक प्रगति र राजनीतिक स्थायित्व प्रतिको आरोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा होमिएको चीन प्रति लगाइएका यस्ता काल्पनिक आरोपहरूले आरोप लगाउने देश वा मानिसहरूलाई केही समयको आत्मरति त मिल्ला तर यो भाइरस विरुद्धको लडाइँ लड्ने चिनियाँहरूको मनोबलमा कुनै कमि आउने छैन । त्यसैले सकिन्छ चीन विरुद्धको यो लडाँमा ऐक्यबद्धता जाहेर गरौँ, यदि सकिन्दैन  यस्ता अफवाह फैलाउने काम बन्द गरौँ ।

कोरोना र वेल्ट रोड इनिसियटिभ्स्
पछिल्लो अवधिमा वेल्ट रोड इनिसियटिभ्सका माध्यमबाट चीन एक सय पच्चीस भन्दा बढि देशहरूसँग जोडिएको छ । यो परियोजना मार्फत चीनले आर्थिक साझेदारीको अवधारणा अगाडि सारेको छ । कोरोना संक्रमणको नियन्त्रण हुने काम केही पछि धकेलियो भने हवाई, रेल्वे, सडक, वाटरवेज कनेक्टिभिटीका माध्यमबाट संसारलाई जोड्ने विश्वव्यापीकरणको अवधारणा बोकेको बेल्ड रोड इनिसियटिभ्सका परियोजनाहरूलाई समेत गम्भीर असर गर्नसक्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ । 

कोरोना भाइरसको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव 
छिमेकी देश हुनुको नाताले हाम्रो देशमा पनि कोरोना भाइरसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको छ । भ्रमण वर्ष २०२० ले सबैभन्दा बढि चिनियाँ पर्यटकहरू। भित्रयाउने लक्ष्य राखेको थियो । तर भ्रमण वर्ष उद्घाटनकै दिनमा चीनमा यो भाइरस देखिनु चीनबाट नेपाल आउने पर्यटकहरूले बुक गरिएका टिकटहरू रद्ध गर्ने कामले नेपालको भ्रमण वर्षको पूर्वसन्ध्यामा नै केही असरहरू देखिएका छन् । यसको प्रत्यक्ष प्रमाणको रूपमा काठमाडौँको ठमेल लगायत पोखराजस्ता पर्यटकीय क्षेत्रहरूमा रहेका चिनियाँ पर्यटकहरूको कम उपस्थितिले देखाउँछ । जसले नेपालको पर्यटकीय क्षेत्रमा दीर्घकालीन रूपमा नै असर पुर्याउन सक्दछ । 

सन २०१६ पछि नेपाल र चीन बीचमा भएका उच्चस्तरीय भ्रमणहरूका क्रममा करीब ४० वटा भन्दा महत्वपूर्ण सन्धि सम्झौताहरू भएका छन् । जुन सन्धि सम्झौताहरूले नेपालको चीनसँगको रेल्वे, हाइवे, जस्ता कनेक्टिभिटीलाई प्रमुख प्राथमिकता दिएका छन् । चार वटा सामुन्द्रिक बन्दरगाह, तीनवटा सुख्खा बन्दगाह मार्फत नेपालको भूपरिवेष्ठितलाई भूजडित राष्ट्रमा परिणत गर्दै नेपालको तेस्रो मुलुकसँग व्यापार गर्ने कामको निरन्तरतामा र नेपाल चीन बीच भएका सम्झौताहरूको कार्यान्वयन गर्ने सन्दर्भमा समेत यो भाइरसको संक्रमणले केही असर गर्न सक्दछ । 

चीन नेपालको भारत पछिको दोस्रो अन्तर्राष्ट्रिय व्यापार गर्ने मुलुक हो । नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको ६५ प्रतिशत भारतले ओगटेको छ भने ११ देखि १३ प्रतिशतको हिस्सा चीनले ओगटेको छ । यो अन्तर्राष्ट्रिय व्यापारको अवस्थाले नेपाल भारतको एकाधिकार बजार भित्र रहेको र यसलाई प्रतिस्पर्धी बजारमा परिर्वत नगर्न चीन र चीनका बन्दरगाहहरूको उपयोग गर्दे तेस्रो मुलुकसँग व्यापार गर्ने नेपालको रणनीतिलाई समेत यो संक्रमणले असरगर्न सक्दछ । 

नेपाल अहिले आर्थिक विकासमा अगाडि बढिरहेको छ । आर्थिक विकासको महत्वपूर्ण पाटो भनेको वैदेशिक लगानी हो । नेपालमा अहिले वैदेशिक लगानीमा चीन पहिलो नम्बरमा पर्दछ । राजनीतिक स्थायित्व सहितको स्थिर सरकार भएकै कारण चिनियाँ लगानी नेपालमा भित्रिएको यथार्थता सबैका सामु छर्लङ्ग छ । चिनियाँहरूको नेपालमा लगानी गर्न बढिरहेको यो चाहना माथि अहिले देखिएको यो संक्रमणले पनि केही असर गर्ने निश्चित प्रायः छ ।

त्यसैले चीनसँग हुने अन्तर्राष्ट्रिय व्यापार, चीनबाट आउने वैदेशिक लगानी र चीनियाँहरूको नेपाल आगमनबाट नेपाली अर्थतन्त्रमा परिरहेको विगतको प्रभाव र कोरोना भाइरसको संक्रमण पछाडि नेपाली अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा व्यापक छलफल र बहस हुन आवश्यक छ । यदि यो संक्रमण लामो समयसम्म रहने अवस्थामा वैकल्पिक अर्थतन्त्रको खोजिगर्न समेत आवश्यक छ ।