काठमाडौ, ३२ जेठ – जेठ महिनाको खपिनसक्नु गर्मी । विवाहको कार्यक्रमका लागि सजाईएको झकिझकाउँ विवाह मण्डव । सितारा जँडिएका लेहँगा, बनारसी साडी अनी भएभरको गरगहना लगाएर सजिएका बेहुली पक्षका महिला दिदीबहिनीहरु । तर पनि माहोल अझै सुनसान । उखरमाउलो गर्मीकै कारण सबै आफन्तहरु ओइलाए जस्तै देखिन्थे ।

दिउँसोको ११ बजिसक्दा पनि बेहुला आउने सुरसार नभएर विवाहमा आएका पाहुँनाहरु पार्टी प्यालेसले व्यवस्था गरेको पंखामुनी झुरुप्प भएर बसिरहेका थिए । 

लामो प्रतिक्षापछि एकदर्जन महिला विवाह मण्डपमा बेहुलाको अघि अघि नाँच्दै बाजा बजाउँदै प्रवेश गरे । 

नौमती बाजाको टुन्डु .......पाखुम.........पाखुम.... झै..... झै को तालमा तालदिदै सनैको सुरिलो लय त्यसपछि ढ्लकी, ट्याम्कोे दमाहा, नर्सिगा लगायतका बाजा बजाउदै प्रवेश गरेका महिलाहरुको  जोसिलो टिमले अब भने माहोल अर्कै बन्यो । 

अघिसम्म सुनसान विवाह मण्डपमा अव भने सबैको ध्यान खिंच्यो । विवाहमा जन्ति आएपछि एकखालको रमाइलो माहोल त जहाँ पनि बन्छ । तर गौशालाको पार्टी प्यालेसको विवाहको रमाइलो भने बेग्लै थियो । कारण थियो महिला बाध्यवाधक । 

नौमती बाजाले बिवाहको माहौंल रमाइलो बनाइरहेका महिला दिदी बहिनीलाई देखेर विवाहमा सहभागी भएका अधिकांसले हात उठाँउदै बुढी औलाले ठिक छ ठिक छ भनिरहेका थिए । 

एकै खाले रातो कुर्ता अनि घाँस जस्तै हरियो रंगको सुरुवाल र त्यस्तै कलरको सल ओढेर जन्ती जाने ठाँटमै नौमती बाजा बजाउन आएका थिए महिला समूह । 

आकासतिर फर्काएर गोरुको सिंहजस्तो नर्सिगाको तुतु......धुतु........धुइु........इ गर्ने महिला तनहुँकी कृष्णा क्षेत्री रहेछिन् । 

दुई दर्जनजति महिलाहरु यत्तिखेर बाँजा बजाउने पेशाकै कारण चर्चामा छन् । 

काठमाडौं लगायतका शहरहरुमा हुने ठूला ठूला वैवाहिक समारोहरुमा बाँजा बजाईरहेको अवस्थामा भेटिने यी महिलाहरु पन्चे बाजालाई आफ्नो पेशा बनाइरहेका छन् ।  

नेपाली समाजमा प्राय बाजा बजाउने पेशामा पुरुषहरु नै अघि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलीत समूदाय र त्यसमा पनि दमाई जातिका मानिसहरुको नै वर्चश्व छ । 
महिलाले बाजा छुन पनि हुन्न भन्नेहरुका लागि उदाहरण बन्न सफल यो महिला समूह यत्तिखेर भने काममा भ्याइ नभ्याई बनिरहेको छ । 

यो महिनामा मात्रै २० वटा विवाहमा बाँजा बजाउन भ्याएको टिम लिडर जानुका पौडेलले बताइन्  । 

‘आत्मनिर्भर बन्ने र केही आर्थिक उपार्जन गर्न सकिन्छ की भनेर बिकल्पको  खोजिमा बाजा बजाउन सुरु गरेका थियौं अहिले यही कामको चापले भ्याइनभ्याई छ’ पौड्यालले भनिन् । 

३५ देखी ४८ बर्षसम्मका विवाहित दिदीबहिनीको बाजा बजाउने यो समूह नेपालभित्र जहाँबाट निमन्त्रणा आएपनि पुग्ने गरेको पौड्यालले जानकारी दिइन् । 

यो महिनामामात्रै करिब सात लाखको आम्दानी भएको अनुमान गदै जानुकाले भनिन्,–‘ ११÷११ जनाको दुईवटा टिम छौ यसले नभ्याएर अब देशैभर शाखा खोल्नु पर्ने बाध्यता जस्तै हुन लागिसक्यो ।’ उनले भनिन् । 

विवाहमा बाजा बजाउन नयाँ नयाँ घरमा  जाँदा महिलाहरुले बाँजा बजाएको देखेर अधिंकाश मानिसहरु अनौठो मान्ने गरेको खुसी हुनेगरेको उनले बताइन् ।

बाजा बजाउने निम्ता आउँदा हामीलाइ पनि आफनो तयारी गर्न खुब रमाइलो लाग्छ सनै बोकेर बसेकी मिश्री बरामले भनिन् । 

कहिले बेहुँलाको घरमा गएर बेहुँली लिएर आउनुजस्तै आफैलाई विवाह लागे जस्तै हुन्छ , त्यही भएर म त विवाहमा  जानुपर्छ भन्ने  जानकारी आउने बित्तिकै कपडामा आइरन गरेर चिटिक्क पारेर राख्छु उनले थपिन् । 

पहिला पहिला महिलाले बाजा छुन पनि हुँदैन भन्थे गोरखाकी ज्ञानु बरालले बीचैमा कुरा काट्दै भनिन्, अहिले त हामीले बजाएको बाजाले सबैलाई मोहित बनाएको छ । 

कतिपय ठाउँमा बाजा बजाउने दलित नै होला पनि भन्छन् टिम लिडर जानुकाले अनुभव सुनाउदै भनिन् । क्षत्री ब्राहमण, दमाई कामी सबै मिसिएर आएका छौ भनेपछि ए.... क्षेत्री बाउन पनि पो भन्दै छक्क पर्छन् उनले भनिन् । 

दलित समुदायलाई संस्कारका हिसाबले बाजा बजाउन त्यति समस्या नभएपनि कतिपय बाउन क्षेत्रीका परिवारबाट आएका दिदी बहिनीले भने घरमा ठुलै संघर्ष गर्नुपरेको उनीहरुको अनुभव छ । 

मन भित्र इच्छाशक्ति भए परिवारको विरोधले केही गर्न नसक्ने उनीहरु बताउँछन् । आफूहरुले बाँजा बजाउन सुरु गरेदेखि फुर्सदिलो बन्न नपरेको उनीहरुले बताए । 

विवाहको सिजनमा विवाह तिरै र अन्य समय पनि स्कुल कलेज, भवन उदघाटन, सम्मान तथा रोपाईँ, जात्रा कति हो कति बाजा बजाउनुपर्ने ठाउँ जानुकाले  सन्तुष्टि पोख्दै भनिन् । 

जहाँ बाजा बजाउन जान्छौ  त्यहा स्यावाँसी पनि पाईन्छ, टिका लगाइ दिन्छन्, टिप्स पनि दिन्छन् । महिला बाजा त हामीले पहिलो पटक देखेको हो भन्दै आश्चर्य समेत व्यक्त गर्छन्  पौड्यालले खुसी हुँदै भनिन् । 

एउटा विवाहमा बाजा बजाउन पुग्दा त्यही अर्को विवाहका लागि निम्ता आउछ उनले सुनाइन् । 

पछिल्लो समय उनीहरुले नेकपाका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५० औ एनिर्भसिरीमा पनि पन्चेबाजा बजाए । प्रचण्डसँग बसेर फोटोपनि खिच्ने अवसर पाएका उनीहरुले बाजाकै कारणले ठुला ठुला नेताहरुसँगपनि चिनजान भएको बताए । 

आर्थिक उपार्जन गर्ने सोचले बाजा बजाउने अभियान थालेका उनीहरुले शुरुमा प्रायले अलकोहल सेवन गरेर जीउ तताएपछि मात्रै बज्छ पनि भन्थे टिम लिडर जानुकाले भनिन,–‘ तर होइन रहेछ पानीको बलमा पनि बजाउन सकिन्छ , महिला भएकाले बल पुग्दैन भन्ने पनि थिए । हामीले गरेर देखाइदियौ, अलिकता मेहनत गरयो भने सकिने रहेछ ।’

विवाहमा बाजा बजाउदा कुन समय कुन बाजा बजाउने त्यसैमा ध्यान केन्द्रित गरेर बस्दा रहेछन् उनीहरु । विवाहमा सबैभन्दा धेरै मंगलधुनको प्रयोग हुने गर्छ । कृष्णा क्षेत्री भन्छिन–‘ बेहुलाको घरमा जाने बित्तिकै पहिला मंगलधुन, दुलाहा निकाल्ने बेलामा मंगलधुन, दुल्हीको घरमा पुगेपछि मंगलधुन, सिन्दुरहाल्ने बेलामा मंगलधुन , गोडा धुने बेला मंगलधुन, कन्यादान दिने बेलामा मंगलधुन, अन्माउँदा भित्र्याउँदा मंगलधुन नै बढि प्रयोग हुन्छ । अनि विदाइ गर्ने बेलामा ख्याली भ्mयाली नर्सिगा, ढलकी र सनै प्रयोग हुन्छ ।’ उनले भनिन् । 

महिलाको मन यसै पनि कोमल हुन्छ । बाजा बजाउने क्रममा बेहुली अन्माउदा उनीहरुलाई पनि आँसु आँउछ । बेहुली रुदा हाम्रो मनलाई पनी सम्हाल्न गाहो हुन्छ ज्ञानु बराल भन्छिन् फेरि दुलहीलाई बिदाइगर्दाको अन्तिम गीत पनि रुनमनलाग्ने खालकै हुन्छ । 

बाजा बजाउन धेरै ठाउँ पुग्छन् उनीहरु ठाउँ पिच्छे फरक–फरक अनुभव छ उनीहरुसँग । कुनै ठाउँमा त बेहुलीलाई अन्माउँदा बेहुला नै रुन्छन् भक्तपुरकी अम्बिका परियारले हाँस्दै भनिन् । 

बेहुँलासम्म रुने माहोल बनेपछि हामी नरुने त कुरै भएननी तर बाजा बजाउने जिम्मा भएकाले हामीहरु आँसुलाई कन्ट्रोल गर्छाै उनले थपिन् । 

नरोउ नरोउ दुल्ही नानी मार्न हैन पाल्नलाई लैजाने भन्ने गीत पनि बजाउछौं दमा बोकेकी गोरखाकी गीता थापाले भनिन् ।  तर हिजो आज फाट्ट फुट्टमात्रै बेहुँली रुन्छन् उनले भनिन् । आजभोलीका आधुनिक बेहुँली त विवाहमा नै नाँचेर उधुँम मच्चाउछन् त्यस्तो विवाहमा चाँही रमाइलो हुन्छ उनले भनिन् । 

जागिरको खोेजी अनि आर्थिक उपार्जनका लागि रहरै रहरले शुरु भएको उनीहरुको बाजा बजाउने यात्राले अहिले सर्वत्र चर्चा बटुल्दा उनीहरु थप हौसला मिलेको बताउँछन् ।  

                                                                                                                                                                                                                               प्रस्तुती आशिष पौडेल