नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, झापा (एनएमसी)ले तेश्रो व्यवसायको रुपमा एनएमसी कृषि फर्मको शुरुवात गरेको छ । अहिले सम्ममा करिव १६ विगाहा जमिन खरिद गरेर शुरु गरिएको कृषि कर्मले केही अनुभवहरु दिएको छ । जमिनको खरिदको शुरुवात बिक्रम सम्वत २०७५ सालबाट शुरु भएको थियो । शुरुमा करिव १२ विगाहा जमिन खरिद गरेर काम शुरु गरेका थियौं । 

एनएमसीले कृषि फर्म किन शुरु गरेको हो भन्ने बारेमा यस अघि नै लेखि सकेको छु । यद्यपि एक वाक्यमा भन्दा कृषि उत्पादनको बजार छ तर बिक्रि हुदैन, सरकार किसानलाई सहयोग गर्न चाहन्छ तर ठाउँमा पुग्दैन, सोचेको नतिजा आउदैन, सबै अनुकुलता भएर पनि किन किसानको हित हुन सकेन, किन किसानले उत्पादन गरेका बस्तुले बजार पाएन, के एनएमसीले यो विषयमा काम गरेर सबैका लागि उदाहरण पेश गर्न सक्छ ? यो प्रश्नले हामीलाई कृषिमा अब सहकारीले हामीले नै केही गर्नुपर्छ भनेर काम शुरु गरेका हौं ।

यो लेखमा यो छोटो अवधिमा हामीले यहाँबाट के सिक्यौं ? के हामीले सोचेको जस्तै हुन सक्छ ? एनएमसीले लिएको उद्देश्य पुरा गर्न यो कृषि फर्मले सहयोग पु¥याउछ ? यसबारेमा यो अवधिमा हामीले गरेको, सिकेको, भोगेको सिकाईबाट आर्जन गरेको ज्ञान, अनुभव र अनुभुतिका आधारमा अगाडिको बाटो तय गर्र्न सकिने भएको छ । 

जमिनको छनौट: हामी जुन प्रकारको कृषि कर्म गरेर उत्पादन र सिकाईलाई सदस्य एवं समाजमा चिनाउन चाहन्थ्यौं त्यसका लागि यो जमिन धेरै उपउक्त थिएन । तर झण्डै दुई वर्ष अघिदेखिको जमिन खोज्ने कार्यले हामीलाई भनेजस्तो जमिन, उपयुक्त स्थान र मुल्यको सन्तुलन मिलाउन सहज भएको थिएन । त्यसैले यो जमिन केही होचो भागमा रहेको र बर्षामा पानीको प्रकोप अलि बढी नै हुने भए पनि लिने निस्कर्षमा पुगेका थियौं । अबको बाटो यो जमिनलाई सकेसम्म स्ुधार गर्ने र हामीले चाहेको र जमिनले मागेको खेतीलाई अगाडि बढाउनु थियो । 

२०७४ सालको कार्तिक तिरै यो जमिन खरिद गर्ने निर्णयमा पुगे पनि जग्गा पास गरेर स्वामित्व ग्रहण गर्न सरकारी नीतिका कारण केही असजिलो हुन गयो र सबै प्रकृया मिलाएर जग्गा पास गरेर लिन २०७५असारको अन्त्यसम्मै लाग्यो । वर्षाको मौसमका कारण कार्तिकसम्म यहाँ गएर केही गर्न सकिने अवस्था थिएन । कार्तिकमा साधारण कार्यलय स्थापना गरियो । मंसिरबाट जग्गा एक्किन गर्ने र घेराबारा लगाउने काम शुरु गरियो । कृषि फर्ममा आन्तरिक बाटो, नाला बनाउने, गाईगोठ निर्माणका लागि बेस बनाउने, अलि गहिरो स्थानमा माछा पोखरी खन्ने र त्यहाँको माटो निकालेर अन्यत्र पुर्ने, दुई कठ्ठा जमिनमा कुरीलो रोप्ने, कुरीलो र करेलाको बेर्ना उत्पादन गरेर बिक्रि गर्ने र केही करेला खेतीको काम यो अवधिमा भयो । असार लागे पछि गरेका काम अधुरै छोडेर पर्खनु पर्ने अवस्था आयो । पानी पर्न थाले पछि खेतमा पुग्न सकिने अवस्था भएन । श्रावण, भदौ, अशोजसम्म खासै केही काम गर्न सकिएन । वर्षाको पानीले खेत डुवाएको देख्दा बेलाबेला मन खिन्न हुन्थ्यो । 

कार्तिक मंसिरमा धान काट्ने सिजन हो । यसमा हामीले धान काटने हाते रिपर किनेर किसानलाई भाडामा दिन शुरु ग¥यौं । दक्ष जनशक्तिको अभावमा त्यति राम्रो त गर्न सकिएन तर गर्दै नगरि सिक्ने सिकाउने कुरै हुदैन थियो । मेशिन चलाउन केही मानिसलाई तयार ग¥यौं । जसोतसो काम चल्यो । 

२०७५ जेठमा एउटा माछा पोखरी तयार गरिएको थियो । अर्को खनि नसकि पानी भरिएर अधुरै छाडिएको थियो । कार्तिकमा तयार भएको पोखरीमा माछाका भुरा छाडिए । मंसिरदेखि नै जमिन तयारी गर्ने र हिउँदे तरकारीमा टमाटर, कोपी, बन्दा, काउली, इस्क्वास फर्सी, फर्सी, रायो साग, पोथ्रे बोडि, मिटर बोडी, काक्रा, करेला, लौका, घिरौला, झिगानी, भिण्डी, प्याज, खरबुजा, नेपियर घाँस आदि लगाउने काम गरियो । यो हाम्रो पहिलो सिकाई थियो । खाली भएको जमिनमा मकै खेती गरियो ।

बाली लगाउने कामका लागि अनुभवि मानिस थिएनन् । एक जना युवा जेटिए कर्मचारीका रुपमा नियुक्ति गरियो । उनीसँगै अरु दुई जना सहयोगी राखियो । अलि पछि एकजना टेक्टर चालकको नियुक्ति गरियो । जेटिएको मातहतमा अरु कृषि पढदै गरेका ३ जना भाइहरुले काम गरे । अरु ज्यालादारीमा काम गर्ने मानिस लगायौं । प्रसाशनिक प्रमुखको जिम्मा भुपाल गौतम (एनएमसीका सिनियर कर्मचारी)लाई दिइयो । कृषि व्यवसाय समितिको नेतृत्वमा एनएमसीका पुर्व सञ्चालक केसव प्रसाद पोख्रेल र सदस्यहरुमा चन्द्र सिग्देल र गंगा भुजेलको समिति बन्यो । समितिको बैठकमा आवस्यकता अनुसार म, बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद कोइराला, सञ्चालक माधव प्याकुरेल, प्रवन्ध निर्देशक लक्ष्मी उप्रेती सहभागि हुने गरेका थियौं । 
    
बालिबिरुवा र खेतीको कामसँगै तरकारीका बेर्ना बनाउने कामले निरन्तरता पाएको छ । तरकारी उत्पादनसँगै तरकारीका बेर्ना बेच्ने काम निरन्तर चलिरहेको छ । यो समयमा कुरिलोका बेर्ना निकै धेरै बेच्यौं । कुरिलोको बिरुवा बजारमा प्रतिगोटा रु.२० थियो र छ । एनएमसीले प्रतिगोटा रु.१० मा बेच्ने गरेका छ । एनएमसीको उद्देस्य तत्कालै नाफा खोज्ने होइन चलन चलाउने हो । त्यसैले मानिसले बिरुवा लगेर रोपेभने केही त उत्पादन हुन्छ । हराउदै गरेको तरकारीको उत्पादनलाई घरघरमा फेरी जगाउन सकिन्छ भन्ने हो । 
    
बालिबिरुवासँगसगै जमिनमा बाटो, नाला बनाउने, अधुरो रहेको माछा पोखरीको काम पुरा गर्ने, नयाँ पोखरी खन्ने, गाई गोठको काम पुरा गर्ने, साइलेज बनाउने पिट बनाउने, कार्यलय घर र आवासका लागि कोठा निर्माण गर्ने, स्टोर बनाउने, बाटाहरुको स्तर उन्नति गर्ने, स्थाई फलका बिरुवा लगाउने, शौचालयहरुको निर्माण, सिचाईका लागि बोरिङ, ट्युवेल, तरकारीका लागि टनेल बनाउने आदि थुप्रै काम भई रहेको छ । काममा निकै प्रगति भएको छ । गएको वर्ष वर्षाको समयमा जानै नसकिने त्यो ठाउँमा अहिले सबै दिन काम गर्न सकिने अवस्था भएको छ । यो वर्षको काम, सिकाई र अनुभवबाट आगामि दिनमा अभैm धेरै गर्न सकिने भएको छ । 
    
यस पटक खट्केको कुरा के रह्यो भने हिउँदको समयमा यहाँ तरकारी उत्पादन गर्न कुनै समस्या भएन, देखिएन । तर वर्षाको समयमा तरकारी उत्पादन गर्न लगभग नसकिने देखियो । जति गरे पनि धेरै भागमा पानीको डुवान हुने समस्या देखियो । वर्षामा तरकारी उत्पादन गर्न सकिने र बजार मुल्य पनि उच्च रहने रहेछ । यो अनुभव भयो । त्यसैले यो वर्ष अलि उचा र पानी नजम्ने, सजिलै पानी कटाउन मिल्ने जमिन भाडामा लिने र हिउँद वर्षै तरकारी उत्पादन गर्न सकिने विश्वास पलाएको छ । यस्तो जमिनको खोजी शुरु गरिएको छ । 

एनएमसी नमुना कृषि फर्मको विशेषता भनेको रसायनिक मल र रसायनिक विषादि प्रयोग नगर्ने बरु थोरै उत्पादन गर्ने, नाफाका लागि धैर्य गर्ने, पर्खने सोचाईमा छौं । त्यसैले प्राङ्गारिक मल बनाउन चाहिने सामाग्रि जुटाएर यस्तो मल बनाउने र प्रयोग गर्ने गरेका छौं । गाई पालन शुरु भएपछि यस्तो मल बनाउन अरु सहज हुने अनुमान गरेका छौं । गोवर, गहुँत र खेर जाने झारपातलाई प्राङ्गारिक मलको कच्चा श्रोतको रुपमा लिने छौं ।

कृषि नाफाको व्यपार बन्न सक्छ भने विश्वास बढेको छ । यो वर्ष हामीले यहाँ जति पनि बालि लगायौं यो पहिलो खेती हो । नयाँ अनुभव हो । अनुभव नै नभएका मानिसबाट गरिएको र गराएको खेती हो । जमिन उपयुक्त थिएन, छैन । बनाउदै छौं । तर, जति उत्पादन भयो त्यो सोचेभन्दा राम्रो भएको छ । 

अनुभवले विश्वास बढाएको छ । तरकारी उत्पादन गरेर मज्जाले फाइदा गर्न सकिन्छ । यसका लागि अलिकति शिप र जाँगर चाहिन्छ । उत्पादन भएपछि बिक्रिको व्यवस्था सहज हुनुपर्छ । एनएमसीले उत्पादन गरेको तरकारी बेच्न कुनै कठिनाई महसुस गर्नु परेको छैन । यहाँ विषादिको प्रयोग नगरेको थाहा पाउने उपभोक्ता धाएर भएको सब्जि लिन आउने गरेका छन् । सोधखोज गर्ने गरेका छन् । जे छ त्यो लिएर जाने गरेका छन् । बजारमा पनि एनएमसीको उत्पादन भने पछि सदस्यले आफ्नै ठानेर किनिदिने गरेका छन् । एकै पटक धेरै लौका, करेला, काक्रा फलाएको समयमा भने बजारमा पठाउनु परेको थियो । यो बिचमा कोभिड–१९ का कारण लक डाउन परेकाले पनि बिक्रिमा केही सहज भएको छ । भारतिय तरकारीको आपुर्ति केही कठिन भएकाले स्थानिय उत्पादनले बजार पाउन सहज भएको फाइदा पनि भयो । 
    
सबैभन्दा महत्वपुर्ण सिकाई भनेको थोरैथोरै जमिनमा लगाएको पहिलो तरकारी बालिहरु लगभग सबैले फाइदा दिएका छन् । यस्ता बालिले लगाएको छोटो अवधि(करिव ३ महिना)मा नै बालि उठाएर फाइदा लिन सकिने र पुनः अर्को बालि लगाउन सकिने हुँदा जमिनको सदुपयोग गरे आम्दानि राम्रै हुने विश्वास पलाएको छ । 

यो कृषि फर्ममा हामीले धेरै फाइदा लिन सकेका छैनौं । यसको कारण भनेको पहिलो सिकाई हो, भने जतिकै राम्रो गर्न सकिएको छैन, प्रशासनिक खर्च र ज्याला खर्च अलि बढी नै हुने हुँदा लागत बढी देखिन्छ । तर जुन किसानले आपैm खेतबारीमा काम गर्छन्, विधि प्रविधि सिकेर काम गर्छन् उनीहरुको खर्च भनेको मल, बिउ लगायतका अरु साधारण खर्च बाहेक आएको सबै आम्दानि हो । यसरी काम गर्ने किसान सधै फाइदामा हुन्छन् भन्ने विश्वास पलाएको छ ।

किसानलाई व्यवहारिक तालिम, प्रविधिको जानकारी, सिचाईको व्यवस्था, बालि लगाउन चाहिने आर्थिक सपोर्ट, उपयुक्त बिउबिजनको छनोट र सहज आपुर्ति, मलको उपलव्धता, बालिमा लाग्ने रोगको जानकारी र उपचारको विधि, माटोको परिक्षण र उपचार, उत्पादित तरकारी फलपूmलको बजारको निश्चिता । यति भए कुनै किसान घाटामा जाने होइन थोरै जमिनमा पनि मौसमी बेमौसमी तरकारी र फलपूmल लगाएर राम्ररी आम्दानि गर्न सक्छन् भन्ने विश्वास मात्रै होइन दृढ विश्वास पलाएको छ । 

एनएमसीले यहाँ प्रयोगात्मक खेती गर्ने, सिक्ने, सिकाउने र उत्पादन सँगसगै गर्नेछ । यहाँ सिकेको अनुभव र सिपलाई इच्छुक र जागरिला किसान सदस्यलाई हस्तान्तरण गर्ने प्रयास निरन्तर गरिने छ । त्यस्ता किसानको समुह बनाउने आवश्यक सबै प्रकारको इनपुट सहयोग गर्ने र यस्ता किसानको उत्पादनलाई खरिद  गरेर बजारसम्म पु¥याउने काम एनएमसीले गर्ने छ । 

अहिलेसम्मको अनुभवको आधारमा अब एनएमसीले छिट्टै तरकारी फलपूmलको आयु लामो बनाउने गरि उपयुक्त कोल्ड स्टोरको व्यवस्था गर्नुपर्ने देखिएको छ । यस्तो कोल्डरुमको व्यवस्था भएपछि एनएमसीले प्रवर्धन गरेका किसानले उत्पादन गरेका तरकारी तथा फलपूmल नियमित खरिद गरि स्टोर गर्न र बजारको माग अनुसार उपलव्ध गराउन सहज हुन्छ । बजारमा गुणस्तर र स्थानिय उत्पादनको भन्दा नाफाको खोजि धेरै हुने चरित्र भएकाले एनएमसीले आफ्ना बिक्रि कक्षहरुको स्थापना गर्ने र यस्तो संख्या बढाउदै लैजानु पर्छ । सदस्य र उपभोक्तालाई यस्ता उत्पादन प्रति आकर्षण गर्न अभियान नै चलाउनु पर्छ । यो काम निरन्तर गरिने छ ।