।। रामचन्द्र उप्रेती ।।
समाजमा अनेकन अवसर छन् र समस्या पनि । धुर्तलाई बाठो भन्ने हाम्रो समाजमा प्राय धेरै अवसर धुर्तहरुले कब्जा गर्छन् । सामान्य मानिसहरु सधै समानता, न्याय, शुसासन र अवसरमा सहज पहुँचको खोजीमा हुन्छन् ।

देशको सबैभन्दा ठुलो र बैधानिक संस्था सरकार हो । त्यसैले सरकारसँग सामान्य मानिसले सधै शुसासन, न्याय, अवसर र समानताको आसा गरिरहेका हुन्छन् । जब आममानिसले सरकारसँग अपेक्षा गरेको कुरा पुरा हुदैन तब मानिसमा निराशा र आक्रोस उत्पन्न हुन्छ । त्यसले सानो ठाउँ पायोभने पनि त्यो सडकमा पोखिन्छ । धुर्त मानिसहरु सधै समानता, न्याय र शुसासनको विरुद्धमा हुन्छन् । उनीहरु आपूmलाई सधै विशेष ठान्ने हुनाले अरु सामान्य मानिसकोभन्दा विशेष प्रकारको सुविधा र अवसरको खोजीमा हुन्छन् । त्यसका लागि शुसासन भङ्ग गरेरै भएपनि आफ्नो इच्छा र आकाङ्क्षा पुरा गर्न लागि पर्छन् । कमजोर सरकार र शुसासनको अभाव भएको मुलुक, समाजमा आममानिस र धुर्त मानिसका बिचमा सधै द्वन्द हुन्छ । अझ धुर्तहरुले सरकार कब्जा गर्छन् । बन्न लागेको थिति बिगार्छन् र हुकुम चलाउन चाहन्छन् । 

धुर्तहरुको पहिलो काम सरकार कब्जा गर्नु, दोश्रो सरकारलाई आफ्नो अनुकुल बनाई राख्नु र तेश्रो काम आम मानिसलाई रनभुल्ल (कन्फ्युज्ड)मा पार्नु । यी तिनवटै उपायको उद्देश्य एउटै हो आफ्नो निहित स्वार्थ पुरा गर्नु । 

नेपालमा लामो समयदेखि झण्डैभण्डै लगातार जस्तै धुर्तहरुले सरकारमा कब्जा जमाए । त्यसको आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव समाजमा जताततै छाउने नै भयो । केही सिमित मानिसको सधै जसो रजगज अर्थात हालिमुहाली भयो र आम मानिस सधै पीडामा परे । 

कुनै समयमा तत्कालिन माओवादीले अन्याय, अत्याचार, कुशासन, शोषण र बेथितिको विरोधमा आवाज र हतियार उठाउदा आम मानिसको त्यसमा ठुलै आकर्षण रहन पुग्यो । त्योभन्दा पहिलाको इतिहास पनि यस्तैयस्तै हो । ती सबै आन्दोलनको कुनै काम थिएन र कुनै प्रभाव परेन बरु नोक्सानी मात्रै भयो भन्ने जमात पनि छ । त्यसको कारण या त धुर्तहरुको दृष्टिकोण हो जुन सोचिबिचारी भनिन्छ । या त कन्फ्युज्ड भएका आममानिसको अभिव्यक्ति हो । जनस्तरबाट हुने आन्दोलन, बिद्रोह, असन्तुष्टिको कुनै अर्थ हुदैन भन्ने हुदै होइन तर तिनले सधै सही बाटो समाउछन् भन्ने चाही हुदैन । 

कुनै समयमा तत्कालिन माओवादीले गाउँमा जुवातास र रक्सि बिरोधि नारा लगाउदा गाउँका आममानिसको आवाज बन्न पुग्यो । त्यसैगरि जताततै भएको भ्रष्टचार र बेथितिका बिरुद्ध आवाज उठाउदा त्यो आममानिसको आवाज बन्न पुग्यो । तर यसले पनि आममानिसले चाहेको परिवर्तन गर्न सफल भएन । यसको अर्थ कुनै परिवर्तन भएन होइन परिवर्तन त भयो तर त्यो प्रयाप्त र पुर्ण भएन भन्ने हो । 

आममानिसले चाहेको परिवर्तन कुनै निश्चित गन्तव्य जस्तो होइन । जुन लक्ष प्राप्त भएपछि सदाका लागि टुङ्गिएको होस् । परिवर्तन त अभियान हो जुन् निरन्तर चलिरहन्छ । फेरी परिवर्तन गरेर मात्रै हुदैन त्यसलाई टिकाउनु पनि पर्छ । परिवर्तन त गरियो तर टिकाउन सकिएन भने त्यो परिवर्तनले खासै उपलव्धि दिन सक्दैन । परिवर्तन गर्ने र परिवर्तन टिकाउने दुवैका निश्चित प्रकृया हुन्छन् । प्रकृया मिचेर गरेको परिवर्तन र थिति, विधि विनाको उपलव्धि धेरै दिन टिक्दैन । 

शुरुमै भनियो देशको सबैभन्दा ठुलो र बैधानिक संस्था सरकार हो । सरकार नै परिवर्तनका लागि पहिलो आधार हो । परिवर्तनको आधारमात्रै होइन त्यसलाई टिकाउने र आममानिसको हितमा काम गर्ने सबैभन्दा शसक्त निकाय हो । सरकारमा धुर्तहरुको बोलबाला हुँदासम्म त्यसले आममानिसलाई झुक्याउने, गुमराहमा पार्ने काम भईरहन्छ । सरकारमा धुर्तहरुको पकड कमजोर भयो भने त्योभन्दा ठिक मुन्तिर बस्ने धुर्तहरुले सरकारलाई समातेर, ठेलेर, घेरेर, दवावमा, करकापमा पारेर, छलछाम गरेर आफ्नो स्वार्थ अनुकुलको काम गरिरहन्छन् । यसमा बदनाम सरकार हुन्छ । स्वार्थ सानो धुर्त समुहले लिन्छ । उता आममानिसमा निरासा चुलिदै जान्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले नियतवस गलत काम गर्दैन । प्रधानमन्त्रीको देशविकासको तिब्रइच्छा यसको पहिलो कारण हो भने प्रधानमन्त्रीसँग रहेको छोटो समय दोश्रो कारण हो । त्यसैले यो पाँच वर्षको कार्यकालमा (अब साडेतिन वर्षमात्र) केही ठोस, राम्रोकाम गरेर विधिको बाटोमा देशलाई हिँडाउने र जनतालाई विश्वास दिलाउने कार्य गर्नुछ । तर प्रधानमन्त्रीभन्दा तल मन्त्रीछन् । तिनका आसेपासे छन् । धुर्तहरुको घेराबन्दी, पुरानो मनस्थितिका कर्मचारी, राजनीतिमा त्याग गरेको भनेर भाग खोज्ने पार्टीका नेताकार्यकर्ताको कारण सरकारले चाहेको काम गर्न नसकेको प्रष्टिदैछ । अर्को एउटा स्थायी धुर्त समुह छ जुनसुकै व्यवस्था, पार्टी र सरकार भएपनि तिनका नजिकमा पुग्ने, लोभीलाई लोभ देखाउने, बिक्रि हुनेलाई किन्ने, किन्न नसकिनेलाई बदनाम गराउने र उछित्तो काड्ने जमात सधै सरकारको वरिपरि नै हुन्छ । यो जमात आममानिसलाई सधै कन्फ्युजमा राख्न चाहन्छ । 

काइते र किर्ते गर्न खप्पिस धुर्तहरुको पहुँच क्याविनेट बैठक र सर्वोच्च न्यायधिसको बेञ्चसम्म छिरेको कुरा अब कसैबाट लुकेको छैन । यसलाई रोक्ने क्षमता एक्लै प्रधानमन्त्रीले मात्रै राख्न सजिलो छैन । धुर्तहरुको घेरामा परेका जुनसुकै मन्त्री, पार्टीका नेता, सचिव, सांसद, उच्चपदस्थ कर्मचारी सबैसँग निर्ममरुपमा प्रस्तुत हुन प्रधानमन्त्री सधै तयार हुनुपर्छ । धुर्तको स्वार्थ बोकेर  नेता, मन्त्री हुने छुट कसैलाई हुनु हुदैन । अहिले पनि कतिपय मन्त्रीको सचिवालय र निकटस्थ सहयोगी (पिए)को कारण धुर्तहरुको बोलवाला चल्ने गरेको छ । यसको कारण इमान्दार कर्मचारी हैरान छन् । कमाउ कर्मचारी यिनैको चाकडिमा व्यस्त छन् । मन्त्रीलाई यो कुरा थाहा छैन भन्न मिल्दैन । 

सरकारले गर्ने तमाम काम ठेक्का, खरिद, सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स, असुली, छुट आदिमा सरोकार राख्नेहरु सधै नेता, मन्त्री र सिंहदरवारको वरिपरी हुने प्रवृत्तिको अन्त्य गर्न सरकारले अभैm निकै मेहनत गर्नुपर्छ । 

दशकौंदेखिको धुर्तहरुको हालिमुहालि सजिलै पन्छिने वाला छैन । यिनलाई घचेटदै, पन्छाउदै शुसासन, विकास र अग्रगतिका पाइला चाल्नु सरकारको वाध्यता हो । 

यति हुदाहुदैै पनि सरकारले यो छोटो अवधि (१७ महिना)मा गरेको कामलाई नदेख्नु सरकारलाई न्याय नगर्नु हो । यो सरकार परिवर्तनको कुरा मात्रै होइन र थिएन । व्यवस्था र अवस्था कै परिवर्तन हो । प्रदेश सरकार, स्थानिय सरकार र तिनलाई चाहिने कानुन, कर्मचारी, भौतिक श्रोत साधनको व्यवस्थापन निकै जटिल विषय हो । धुर्त समुहको प्रभावमा परेर बनेका कैयौं निति,नियम र कानुनले संघिय सरकारको काममा बाधा परेको कुरा यहाँ बिर्सन हुदैन । राजनीतिक पहुँच र भ्रष्ट कर्मचारीका कारण एउटा पप्पुले कति विगार्न सक्छ भन्ने देखिएको छ । यस्ता अनगिन्ति पप्पुहरु गौडागौडा, नसानसामा बसेर स्वार्थको दलालि गरिरहेको सहजै अनुमान गर्न सकिन्छ । बेथितिमा रमाउन अभ्यस्त भएकालाई थितिको कुरा अपाच्य हुन्छ । विरोधको सामना गर्नु पर्छ । शुसासन, विकास समय भएपछि  आपैm आउँछ भन्नु आम मानिसलाई दिग्भ्रमित पार्नु हो । थिति, विधि र कायदा कानुनको कुरा गर्दा विरोध गर्नु यसैको परिणाम हो । यति हुँदाहुदै पनि धेरै कुरा भएको छ । अभैm हुनुपर्छ, हुन्छ । धुर्तहरुको पसिना छुटेको छ तर फेरी नयाँ धुर्तहरु जन्मने क्रम घटेको हो कि होइन भन्न मुस्किल भएको छ । 

कुनै समयमा दन्त्यकथाका नायक भैm मानियका, ठानिएका पार्टीका नेताहरु जे बोल्छन् त्यो सामाजिक खपतका लागि बोल्छन् र जे गर्छन् त्यो आफ्ना लागि गर्छन् भनेर आम मानिसले थाहा पाउदा नेता र पार्टी प्रतिको जनविश्वास धुमिल हुदै गएको छ । त्यसैले सानासाना कुरामा पनि सडक तात्तिन्छ । त्यसमा घिउ थप्ने, आगो ताप्ने र खरानी भाग लगाएर रमाउने समुहको कमि छैन । 

गरिखानेहरुको समाज शान्त हुन्छ । लुटिखानेहरुको कारण समाज असान्त हुन्छ । लुटिखानेहरु गाउँबाट शहर पसेका छन् । किनकि गाउँमा लुट्न लायक केही छैन । सरकारले गाउँमा कहिले काही विकास पठाउछ । त्यो विकास लुटन शहरका गाउँ छिर्छन् । गाउँले पनि यो सिको गर्दैछ । गाउँ पनि विकास लुटन जान्ने भएको छ । हिजो गाउँ जगाउन व्यस्त राजनीतिक मानिस आज गाउँमा आएको विकास लुट्नमा मस्त छन् । तिनको लहरो केन्द्रसम्म भएकाले होला तिनलाई हत्तपत्त कसैले छुदैन । बहुराष्ट्रिय कम्पनिका उत्पादित बस्तुहरु गाउँगाउँसम्म तन्किएका बाटो हुदै भर्खरभर्खर स्थापित भएका सानासाना पसलसम्म छ्यापछ्याप्ति पुगेका छन् । यसले हाम्रो उत्पादन, खपत र सामाजिक संस्कृतिमा परिवर्तन ल्याउदै छ तर सकारात्मकभन्दा नकारात्मक धेरै । शहरबाट गाउँ जाने भरिया गाडि भरिएर जाने र रित्तै फर्कने कुराले गाउँको अर्थतन्त्र डमाडोल बन्दैछ । 

सरकार, धुर्तहरुको जमात ठुलो त छैन तर ती प्रवावशाली बनेका छन् । आममानिस सरकारसँग न्याय, समानता, शुसाशन र रोजगारिको आषा गर्छन् । यो कुनै ठुलो कुरा मागेका होइनन् । धुर्तहरुले लिने माग्ने पद, पैसा, प्रतिष्ठाको घेरा तोडेर आममानिससम्म पुग्न सक्नु सरकारको सफलता हुनेछ । न्याय, समानता र विधिको शासनले मात्रै आममानिसको विश्वास जित्न सकिन्छ, भरोसाको उकाली चढन सकिन्छ । गुमाउनु पर्ने धुर्तहरुको स्वर्ग र स्वार्थ मात्रै हो । 

यो सरकार आममानिसको सपना पुरा गर्नका लागि बनेको हो । देशको भलो चिताउने सबैले भन्छन् यो सरकारले पनि आषा जगाउन सकेन, केही गर्न सकेन, धुर्तहरुको स्वर्ग मेटाउन सकेन भने कसैले केही गर्दैनन् । सबैको पाइन देखिसकियो । कहिलेकाँही सडकमा देखिने ‘सडक नायक’को पछिको भिड आममानिसको असन्तुष्टि पनि हो । सर्वथा वेवास्ता गर्नु हुदैन बरु कारण खोज्नु आवश्यक हुन्छ अभिभावकले । सरकार सबैको अभिभावक हो ।