साहित्यकार खगेन्द्र संग्रौलालाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देख्ने र सम्झने बित्तिकै चिटचिट पसिना आउँछ । यही ज्वरोका कारण उनी मिडियामा सार्वजनिक रोइलो गरिरहन्छन् । 

डा.बद्रीविशाल पोखरेल

संग्रौलाको यो धारावाहिक रोदनमा ओलीप्रति  आक्रोस, क्षोभ र आतेस देखिन्छ । यसलाई रिमिक्स रोइलो पनि भन्न सकिन्छ । यस्तो रोइलो लेखन र वाचनले देख्नेलाई समेत लाज लाग्न हुन थालेको छ । 

कुनै कुनै रोइलो अचम्मको हुन्छ । जसलाई देखाउन र लक्षित गरेर रोइन्छ, त्यसले खासै वास्ता गर्दैन । नगरेपछि रोइलो गर्नेले डाँको छोड्छ,आफ्नो कपाल आफैँ लुच्छ र रमिता देखाउँछ ।   संग्रौलाको ओली केन्द्रित रोदनसित उपयुक्त रोदन मिल्न गयो भने यसलाई संयोग मानिदिन पाठक गणलाई यो लेखक नम्र निवेदन गर्छ । 

संग्रौला केही दिन विदेशको साहित्यिक कार्यक्रमबाट फर्किए र  लगत्तै भदौ ९ गते नेपाल टेक्ने बित्तिकै ओली विरुद्ध भाँडभैलेमा उत्रे । 

संग्रौलाको रोइलो लेखोट देख्दा सात वर्ष अघि उनैलाई दमकको एक कार्यक्रममा किन त्यस्तो लेखेको भनेर सोधेको थियो । मैले संग्रौलालाई तपाईंहरुकाबीच पुस्तैनी रिस, इबी, लेनदेन वा आपसी झैझगडा भएका त होइनन् भनी प्रश्न गर्दा उनले त्यसमा उनले खासै जवाफ दिएनन्   ।

शायद सोझै भन्न मिल्ने तर्क र तथ्य नभएर संग्रौला मौन बसेका थिए । संग्रौला एकतारे र एकसुरे शैलीमा लगातार ओली केन्द्रित लेखोट मार्फत् रोइलो गरिरहेका छन् भने ओली त्यो रोइलो देखेर चुपचाप छन् ।

लेखकले कतै सुनेको थियो । त्यसलाई पुष्टि गर्ने काम मोरङ जिल्लाका पूर्व एमाले (हाल नेकपा) नेता बाबुराम कार्कीले गरे । ओलीले माओवादी द्वन्द्वकालमा संग्रौलाको ज्यान बचाइ दिएका रहेछन् । 

जसअनुसार त्यसबेला संग्रौला खरो माओवादी रहेछन् । सुराक थाहा पाएर सेनाले उनलाई कब्जामा लियो  । तीन चारदिनदेखि बेपत्ता श्रीमान्को खोजीमा परिवार भौतारियो । 

संग्रौला सेनाको कब्जामा परेको थाहा पाएपछि चिनजान र प्रभावका आधारमा परिवारमार्फत ओलीसित समस्या पुर्याइयो । नभन्दै ओलीले सेनाको उच्च तहमा कुरा राखे । ओलीले संग्रौलालाई पक्राउ गर्ने के के कारण हो, त्यो सेनाको सरोकारको विषय भन्दै तर उनलाई सही सलामत रिहा गर्न भने ।  

ओलीले संग्रौला आफ्नो बाल सखा भएको,आफ्नो चिन्ता गर्ने व्यक्ति भएको, आफूलाई तारो बनाएर उधुम कटाक्ष गर्ने गरेको भन्दै तर सही ५ फिटको सगुलै ज्यान सही सलामत बाहिर निस्कन पाउन् भनेछन् । 

संग्रौलाजी भारतले नेपालमा नाकाबन्दी लगाउँदा ओली त्यस खालका थिचोमिचोका विरुद्ध डटिरहेका थिए । र, ओली अडानले नाकाबन्दी असफल भयो । तर तपाई त्यसबेला  नेपाल–भारत सीमास्थित दशगजामा बसेर के गर्दै हुनुहन्थ्यो ? 

नभन्दै केही समयपछि थुनाबाट निस्केर संग्रौला लुखुरलुखुर ओली निवास गएछन् । ओलीले चिया र जलपानसहित अझ मालपुवा झैँ मीठो व्यङ्ग्यवचन मार्फत् अव सकल्लै निस्कनु भयो, भोलिदेखि मेरा बारेमा लेख्न नछाड्नु होला भनेर  संग्रौलालाई सुझाएछन् ।

यही प्रसङ्गमा अर्को एउटा एउटा पुरानो  कथाको सम्झना आयो । 

यो कथा ऋषिमुनि कालको हो । कथा यस प्रकार छ । उहिले भृगु नामका एक ऋषि थिए । उनी सबै प्राणीको अन्तर मनदेखि भलो चाहन्थे । एक दिन न्यास र ध्यान गरेर खोला किनारमा बसिरहेको बेला किनारमा एउटा बिच्छी बग्दै गरेको ऋषिले देखे । यो दृश्य देख्ने बित्तिकै भृगु ऋषि बिच्छीलाई बचाउन न्यास र ध्यान छाडेर दौडिँदै खोला किनारमा पुगे । बिच्छीलाई बनाउन खोजे । बिच्छीले ऋषिको औँलामा टोक्यो । ऋषिको हातबाट रगत बग्यो । फेरि पनि ऋषिले बग्नै लागेको बिच्छीलाई जोगाउन खोजे, फेरिपनि बिच्छीले ऋषिको हातमा टोकेर रक्ताम्य बनायो ।

यो दृश्य हेरिरहेका भृगु ऋषिका शिष्यहरुले गुरु भृगुलाई सोधे गुरुवर, तपाईं बिच्छीलाई बारबार बचाउन खोज्नु हुन्छ । बचाउन खोज्दा बिच्छीले हातमा टोकेर रक्ताम्य बनाउँछ तर पनि तपाईं त्यही बिच्छीलाई किन बचाउन खोज्नु हुन्छ ?

शिष्यहरुको प्रश्न सुनेर हाँस्दै भृगु ऋषिले मेरो धर्म प्राणी मात्रको सुरक्षा गर्नु हो भने बिच्छीको धर्म टोक्नु हो बाबु,  त्यसैले म मेरो धर्म जसरी पनि पूरा गर्छु र गर्नुपर्छ बाबु भनेका थिए ।

लेखकले ओली र संग्रौलासित दाँज्न यो कथाको प्रसंग झिकेको होइन  । पाठकहरु विज्ञ हुनुहुन्छ । 
ओली भने संग्रौलाको क्रुद्ध  रोइलोको खासै वास्ता गरिरहेका छैनन् । किन पनि वास्ता नगरेको होला भने ओलीलाई देश,जनता र जनजीविकाको चिन्ता छ । ओलीकै भाषामा सेता चामल बुद्धिजीवीका पछि लागि रहनु ओलीलाई सुहाउँदैन ।

संग्रौलाले त ओलीलाई नै लक्षित गरेर छापा रङाउनु छ,उनको वृत्ति नै यही छ  । अनि टिभीहरुमा पनि ओली विरोधी प्रायोजित बखान गर्नुछ । काम नै यही र खेतीपाती नै यही भएपछि जनता र पाठक समुदायमा लेखोटका माध्यमबाट भ्रम पस्किएर जिउनु परेको छ । जे जच्छ, जे काम छ र लगाइन्छ त्यही नै गर्नुपर्छ ।

तर संग्रौलालाई भोलि इतिहासले प्रश्न गर्छ । संग्रौलाजी भारतले नेपालमा नाकाबन्दी लगाउँदा ओली त्यस खालका थिचोमिचोका विरुद्ध डटिरहेका थिए र ओली अडानले नाकाबन्दी असफल भयो । तर तपाई त्यसबेला  नेपाल भारत सीमा स्थित दश गजामा बसेर र के गर्दै हुनुहन्थ्यो भनेर सोध्ने छ ।
संग्रौलाजी तपाईं त नेपाल आमालाई आमा चकारी गाली गर्ने  र देश विखण्डनकारी सिके राउतको मानव अधिकारका पक्षमा किन  के स्वार्थले सडक वकालत गर्दै हिड्नु भयो भनेर पनि इतिहासले सोध्नेछ ।

कसको स्वार्थका लागि तपाईं यस्तो पुण्य कार्यमा मानव जुनी बिताउनु भयो भनेर पनि इतिहासले सोध्ने छ ।
ओली त हिजोका दिनमा संविधान समयमै जारी गर्न नदिने भित्री र बाहिरी षडयन्त्रलाई परास्त गर्दै थिए र यसमा सफलता हासिल गरे  । तर तपाईं त्यहीँ संविधान भाँडमा जाओस् भन्दै गैर जिम्मेवार हर्कत गर्दै हुनुहुन्थ्यो, नाक,नश्ल,जात र भातको युरोपियन युनियनको मुद्दामा बहस पैरवी गर्दै हुनुहुन्थ्यो  इतिहासको प्रश्न यस्तो पनि हुनेछ ।

यो प्रश्न त तपाइका साखा र सन्तानले अहिले पनि सोध्न सक्छन् यही जुनीमा ।

तपाईं नेपाललाई विखण्डित गर्ने प्रायाजित लेखन र व्यावहारिक कृत्यका विरुद्ध किन एक अक्षरल लेख्नु हुन्न र ओलीविरुद्ध नानाथरि मनोगत रोइलो प्रलाप गर्नुहुन्छ भनेर पनि इतिहासले सोध्नेछ ।
यसरी  सोध्दा तपाई नाजवाफ हुनुहुुनेछ तर ओलीले गरेका तमाम कामको जवाफ देश,जनता,संविधानसँग छ ।

ओलीलाई इतिहासले सोध्ने जवाफ यो देशको सुरक्षित भाग्य र भविष्यसित छ । ओलीको जवाफ संघ प्रदेशको संसदीय रेकर्डमा छ । ओलीको गौरवशाली इतिहास छ ।

तर संग्रौलाजी तपाईको भूत,वर्तमान र भविष्य कहाँ छ हेर्नुभएको छ ?

गुरु भएपछि गुरुको औकात थाम्नसक्नु पर्छ संग्रौलाजी । ओली नै भन्छन् – गोरु नाङ्गै हिँड्दा मैले किन लजाउनु ?

हिजो अस्ति उनै ओलीले भने मौरीसित उड्दा  फूलमा र झिँगासित उड्दा फोहरको डंगुरमा पुगिन्छ । संग्रौलाजी, तपाई ओली केन्द्रित सडक रोइलो गरिरहे पनि यो रोइलो आफैँतिर फर्किनेछ र केही दिनपछि आफैँ मैले किन यतिबिघ्न रोइलो गरेँछु भनेर सम्झीसम्झी फेरि पश्चात्तापको राइलो नगर्नु होला

किन चाउरिस मरिच आफ्नै पिरले । पढ्नु र लेख्नु मात्रै ठूलो कुरो होइन, पढेको र लेखेको जुन विषय र विज्ञता छ त्यसलाई आत्मसात् गर्नु चाहिँ ठूलो हो ।
माक्र्सवादी भन्ने द्वन्द्ववादी भन्ने अनि ओली वा अरु कसैलाई भएभरका पाँडे गाली भन्दै र लेखोट गर्दै  हिड्ने कुरा चाहिँ किमार्थ सुहाएन ।

किन पनि सुहाएन भने एउटा स्रष्टा लेखक र साहित्यकारका नाताले सबै सर्जकको हुर्मत लिन खोज्नु भएन संग्रौलाजी ।

हुन त जति पढे पनि लेखे पनि विद्वान् भए पनि मानिस आदत र आग्रहको दास पनि हुन्छ । यस्तो स्वभाव पुस्तैनी पनि आउन सक्छ भन्छन् । पानी जतिसुकै खन्याए पनि पत्थर भिज्दैन ।

माओले नै पनि कत्ति प्रयत्न गर्दा पनि पुरातनपन्थी पश्चगामी संस्कारको तुस केही मात्रामा आफूमा बाँकी बचेको बताएका थिए । तपाईंले आफूमा रहेका कमी कमजोरी सुधार्ने काम त गरेको आजसम्म सुनिएन ।

त्यसैले प्रसिद्ध समालोचक निनु चापागाईंले एक राष्ट्रिय अखबारमा अन्तवार्ताका क्रममा संग्रौलाका गम्भीर कमजोरी उल्लेख गरेका थिए । जूनकिरीको संगीत जस्ता आइएनजिओ र एनजिओ उपन्यास लेखेर देशका लागि के के न गरेँ भनेर फुइँ नगर्ने कि ?

संग्रौलाजी ओलीसित के कुरामा आफूलाई तुलनीय ठान्नु हुन्छ ? जसले यस देशमा लोकतन्त्र,मानव अधिकार,समानता ल्याउन १४ वर्ष कालकोठरीमा जीवन बिताए, जसले देश र दुनियाँको हितका खातिर अहोरात्र अनेक प्रतिकूलतासित जुधेर  देश र जनाताको शिर उच्च बनाउन निरन्तर लागि रहेका छन्  ।

ओलीबारे अर्थको अनर्थ बोल्दै हुनुहुन्छ संग्रौलाजी । बयल चढेर अमेरिका जाने कुरालाई प्रसंगसहित बुझ्ने प्रयत्न गर्नुहोस् तपाई त लेखक हो नि ।

विद्यार्र्थी हो शान्तिसित बस भनेको शान्ति भन्ने केटीसित लठारिएर बस भनेर सरले भनेको भन्ने जस्ता अनर्थ लगाउन तपाई जत्तिको मान्छेलाई सुहाउँछ ?

तपाईं त ओलीलाई कम्युनिष्ट नै होइनन् भन्न पनि हुँदो रहेछ । ओली आफैँले नेपाली कम्युनिष्टहरुका कमजोरी उल्लेख गर्ने क्रममा अमुक कम्युनिष्ट नेताले मूल ढोकामा आग्लो लगाएर बुइँगलमा ग्रहदशाको पूजा गरेको प्रसंग उल्लेख गरेर पोलिटिकल कम्युनिष्ट पारा परित्याग गर्नुपर्छ भनेका हुन् तर तपाईं त अर्थ न बर्थ बोल्न थाल्नु भएको छ ।

हुनत बाल्य सखा ओली यति उचाइमा पुग्दा डाह त अवश्यै हुँदो हो । ओली फेरि बैगुनीलाई गुन लगाएर हैरान पार्छन् । व्यर्थमा ओली विरोधी दाह्रा किटेर रोइलो गर्दा आफ्नै स्वास्थ्यमा हानि हुन्छ । यस्तो काम नगर्नु होला ।

सिन्धुपाल्चोकतिर सिकिस्त विरामी हुँदा ओली आज हो कि भोली भन्नेहरु र भनाउनेहरु अहिले सरमले शिर निहुराइ रहेका होलान् ।

संग्रौला जी तपाईं त ओली विपरीत पार्टीको हुनु भयो । शायद् गोत्रियारीलाई नै बढी सगोत्री प्रति धेर रिस उठ्छ । दाजु भाइ भनेको पुच्छरको पिलो पनि भन्छन् ।

तर यत्रो विशाल पार्टी हाँक्ने नेता ओली,देशको प्रधानमन्त्री भएर देश,जनता र जनजीविकाका लागि अहोरात्र खट्ने नेता ओलीसित तपाईले दाँजिन खोज्नु बेकार छ ।

ओलीका काव्यात्मक,लाक्षणिक,बिम्ब प्रतीकात्मक अभिव्यक्ति त यसै धाराप्रवाह प्रवाहित हुँदा रहेछन् । उनले तपाई हामीले जस्तो घुँडा धसेर लेख्नै पर्दो रहेनछ ।

ओलीमा प्राकृत प्रतिभा पर्याप्त रहेछ । जननेता मदन भण्डारीले नै ओलीले बोलेपछि आधा समस्या समाधान हुन्छ भनेका हुन् ।

बरु आजसम्म यस देशका लागि आफूले के कति दूरगामी काम गरेँ भनेर आफैँ औँला भाँच्न थाल्नु होला । व्यर्थको ओली विरोधी रिस,डाह,जलन बस  दह्रा किटेर अखबारी रोइलो नगर्नु होला ।
ओलीको एकोहारो डाह गरेर  देशमा अराजक स्थिति ननिम्त्याउनु होला  ।

ओलीले यस्तै प्रवृत्तिलाई लक्षित गौँथलीको रिसले घरमा आगो लगाउने हुँदैन भनेका हुन् । 

संग्रौलाजी सदा रुने बानी जाती हुदैन  ।  हुँदाहुँदा सदा रुने बानी नपरोस् ।