हे हलीदाइ ! गोरु फुकाई
जोताराले बाँधेर ल्याओ सामन्ती साँढेलाई ।
मालखाने साँढे सधैँ रजगज गरी
सालभरि हिलो झरी हाम्रा कपालभरि
अकालले गाँजेको छ झुप्राछाप्राभरि
हाम्राभने रोएका छन् भोका छोराछोरी ।

हे हलीदाइ !........
उसकाभने हाको-डाको गर्छन् महलदेखि
कमारी भै कामगर्छन् हाम्रा चेलीबेटी
भोको पेट रोएको छ बाँझो डाँडा फोर्दा 
हाडमासु दुखेको छ झोरा आवादगर्दा ।

हे हलीदाइ !.....
सामन्तका पढ्न जान्छन् हाँस्तै हल्लीहल्ली
भेडा(बाख्रा) गाई हेर्ने हाम्रै लल्लामुन्नी
हाम्रै कान्छी साफ गर्छिन् साँझअँधेरीमा
सामन्तको जुठो भाँडो माझमझेरीमा ।

हे हलीदाइ !.....
जोत्ने खन्ने हामी सधैँ सधै जिउँदा मर्दा
हाम्रो रगत-आर्जनमा सामन्तको बिर्ता
अब हामी पोस्ने छैनौँ पसिनाले ठालु
बोलाएर फलाइदिऊँ तालुभरि आलु ।

हे हलीदाइ !......
कान्छीलाई बोलाएर हल्लुड भिजाउन लाऊ
च्यान्टी-म्यान्टी छोरीलाई सिस्नु लिन पठाऊ
काले(गोरे साथलागी सामन्तलाई समाऊ
सिस्नुपानी हल्लुडले अब बजाऊ बजाऊ

हे हलीदाइ !......
सामन्तको छाला काढी नारा बनाउनु छ
बेलाभयो गोरु फुकाऊ देश बनाउनु छ ।
हे हलीदाइ ! गोरु फुकाई
जोताराले बाँधेर ल्याओ सामन्ती साँढेलाई ।