हाम्रो समाजको बिडम्वना जो नेता बन्न सक्छन् ती नेता हुन लायक छैनन् र जो नेता हुन लायक छन् ती नेता बन्नै सक्दैनन् । 

मैले सानासाना ओहदाकादेखि देश चलाउने ठुलोठुलो ओहदामा बसेका र बसिसकेका नेताहरुलाई नजिकबाट हेरेको छु । सबैलाई होइन केहीलाई । कसौंडि भरिको भात पाकेको छ कि छैन भनेर सबै सिताको परिक्षण गरिदैन । केही सितालाई निकालेर हेर्दा, मिच्दा थाहा हुन्छ । त्यस्तै नेताको बारेमा बुझ्न सबै नेतालाई बुझ्न पर्दैन केहीलाई बुझे पुग्छ । फेरि पनि यो भन्नु गलत हुन्छ कि सबै नेता उस्तै हुन् । सत्य यो हुदै गयो कि धेरै नेताहरुमा सोच, आचरण र व्यवहार जनहितमा नभएर नितान्त आफु केन्द्रित मात्रै हुदै गएको देखिएको छ । 
    
हाम्रो समाजमा नेताको कारखाना राजनीतिक पार्टीहरु हुन् । पार्टीहरुले नेता उत्पादन गर्छन् । कारखानाको अवस्था जस्तो छ उत्पादितहरुको अवस्था त्यस्तै छ । कारखानाका ठुला नेता, मुख्य नेता, माउ नेता पार्टीका मालिक भएका छन् । मालिकले आफुलाई चाहिए अनुसारका नेता उत्पादन गर्दैछन् । पार्टीको केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा स्तरमा सङ्गठन हुने गर्छन् । त्यहाँभन्दा तल टोल हुन्छन् र टोलटोलमा आम मानिस बस्ने गर्छन् । यी टोलदेखि केन्द्रसम्ममा आपुर्ति हुने नेता समाजबाट आपुर्ति गरिन्छ । जस्को पनि आधार समाज हो तर कोही स्कुलकलेज, भात्रिमात्री सङ्गठन, पेशाव्यवसाय आदिका नामबाट नेतालाई चाहिने उत्पादनहरु यी विभिन्न कारखानाबाट झिकिन्छन् अर्थात ल्याइन्छन् । 
    
कुनै बेला पार्टीहरु चलायमान हुन्थे र पार्टीले नेता बनाउथ्यो । अहिले पार्टीहरु सुतेका छन् र नेताहरु चलायमान छन् । पार्टीहरु सकृय हुँदा पार्टीमा भएका सानादेखि ठुला पदमा बसेकाहरु सबै चलायमान हुन्छन् । त्यहाँ विधान हुन्छ, नीति हुन्छ, नियम र परम्परा हुन्छ । सिद्धान्त, आचरण, व्यवहारको बहस र छलफल हुन्छ । निस्कर्षबाट जे आउँछ त्यसलाई सबैले मान्छन्, मान्नुपर्छ । 
    
नेपालका ठुला पार्टी मध्येका नेपाली कांग्रेस र नेकपा हुन् । नेपाली कांग्रेसमा अलि पहिलेदेखि नै नेता सकृय थिए । दुईतिनजना नेता मिलेपछि पार्टी नामको लर्को त्यतै सोझिन्थ्यो । पार्टीमा नीति, पद्धति, आचरण, व्यवहार, न्याय, सजाय जस्ता विषयमा छलफल हुन छाडेको वर्षौं भएको थियो । नेता र नेताका खास मानिसमा भागबण्डा मिलेपछि पार्टीका सबै बादविवाद बहस समाप्त हुन्थे । त्यो पार्टी अहिले पनि त्यसरी नै चलिरहेको छ । टाउकाहरु चल्ने र जिउ नचल्ने रोगबाट थलिएको बर्षौं भएको छ नेपाली कांग्रेसमा । 

अहिलेको ठुलो र त्यतिकै पुरानो पार्टी नेकपा बन्नुभन्दा पहिला नेकपा (एमाले) र नेकपा एकिकृत माओवादी पार्टी मिलेर बनेको हो । एक हुनुभन्दा पहिलाका दुई अलगअलत पार्टीका झण्डा एउटै, सिद्धान्त अर्थात दर्शनका गुरु एउटै कालमाक्स, एंगेल्स, लेनिन भएपनि आचरण, मुल्य, मान्यता, विश्वास, कार्यनीत र रणनीति फरकफरक भएका पार्टी हुन् । संगठनको ढाचा, आन्तरिक लोकतन्त्र, कार्यशैलि फरक थिए नै । नेकपा बन्नुभन्दा पहिला तत्कालिन माओवादीको केन्द्रिय कमिटि नैै करिव चार हजार जनाको थियो । त्यो पार्टीमा कहिले महाधिवेशन भयो, महाधिवेशनले के के महत्वपुर्ण निर्णय गर्यो, नेतृत्वको निर्माण कसरी गरियो, आन्तरिक लोकतन्त्रको अभ्यास कसरी गरिन्थ्यो भन्ने विषयमा राजनीतिमा चासो राख्ने सबैका लागि जगजाहेर नै छ । 
    
अर्को पार्टी नेकपा (एमाले) २०४९ देखि २०७४ सम्मको अवस्थाको मोटामोटी विश्लेषण गर्दा यो पार्टीमा हुने बहस, बिवाद, छलफल नीतिभन्दा नेता प्रधान भएर हुने गरेको अवस्था बढदै गएको थियो । पार्टीका नेता कार्यकर्ता ठोस परिस्थितिको ठोस विश्लेषण गर्नेभन्दा आपूmलाई पार्टीका स्थानमा र राज्यले उपलव्ध गराउने सुविधामा भाग पाउन र आपूmलाई सुरक्षित गर्न नेतामुखी भएर छलफलमा भागलिने गरेको अवस्था बढता थियो । ठुला नेताहरु पार्टीभित्र आफ्नो पोजिसन बलियो बनाउन पार्टीका र राज्यका पदहरुको पजनि गरेर आफ्नो समुह ठुलो एवं बलशाली बनाउन लागि परे । ठुला नेताको आडमा अरु विभिन्न तहका नेता तथा कार्यकर्ताहरु पार्टी र राजकिय पदमा आपूmलाई सुरक्षित गर्न तिनका पछाडि अन्धभक्त भएर लागे । आफ्नो पक्षको ठुला नेताको अगाडि पर्दा अर्कालाई होचो देखाउन र आफ्ना नेतालाई अग्लो देखाउन जे जे गर्नुपर्ने थियो सबै गरे । यो चरित्र झाङ्गिदै जादा पुर्व एमालेमा पनि नेताहरुमा हार्दिकता र विश्वासमा स्खलन भयो । अरु नेता कार्यकर्तामा आफ्नो सुरक्षा (पद र पावरका लागि) भन्दा माथिको चिन्तन गर्नेहरु कम हुदै गए । 
    
२०७४ जेठमा अचानक जस्तो लाग्ने गरि पुर्वमाओवादी र एमाले बिचमा एकता भएर नेकपा बन्न पुग्यो । बन्यो । दुईपार्टी मिलेर नेकपा बन्दा शुरुका दिनमा जुन उत्साह थियो त्यो क्रमशः हराउदै गएको छ । यो अस्वभाविक थिएन । अब अहिलेको नेकपा धेरै दिन एउटै पार्टीकोरुपमा रहला भन्नेमा मलाई चाहिँ विश्वास छैन । 

पार्टी बलियो बनाउन संख्याको खेलमात्रैले पुग्दैन भन्ने मेरो बुझाई हो । अहिले नेकपा संख्यामा ठुलो छ, भयो । जन अनुमोदित पनि छ । केन्द्रमा झण्डै दुईतिहाईको सरकार, ७ प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार, ६५३ स्थानिय तहमा भारी बहुमत । साधारण आँखाले हेर्दा यसमा संकट नआउनु पर्ने हो तर नेकपा अहिले निकै गम्विर संकटबाट गुज्रिरहेको कुरा कसैबाट लुकेको छैन । 
    
नेताहरु पार्टी बलियो बनाउने छलफल गरिरहेका छैनन् । सिद्धान्तको बहस रोकावटमा परेको छ । चरित्र, आचरण र व्यवहारका कुरा हुन छाडेका छन् । पार्टीमा आफु नै सबैभन्दा बढी योग्य र आपूmले नै धेरै योगदान गरेको भनेर कथा आफैले कथ्ने  गरिएको छ । पार्टीमा कमिशन जिवि दलालहरुको फुर्ति बढेको सबैले सहजै अनुमान गर्न सकिन्छ । दलाल पुँजिको बिरोध गरेर नेता भएकाहरु दलालपुँजि अर्थात कमिशन र अपारदर्शी धनको आडमा राजनीति फस्टाएको देखेपछि धेरैको ध्यान र ज्यान त्यहाँबाट हटनै सकेन । यस्तैै धनका आडमा नेता  गुट बलियो बनाउने कसरत गरिरहेको कुरा कसैबाट लुकेको छैन । गुट किन बलियो बनाउने त्यो पनि प्रष्ट छ । आफु ठाउँमा पुग्न, पुगेकाले टिकिरहन र सबैले आफ्नालाई बढीभन्दा बढी भाग पु¥याउन । 
    
जनताले पत्याएको पार्टी नेकपाले सबै तहमा सरकार चलाई रहेको बेलामा भएको बहसमा सरकारका कामलाई, जनताका आवश्यकतालाई र देशको समृद्धिको एजेण्डामा छलफल हुनुपर्ने हो । समृद्धि र शुसासनका अवरोधहरु छिमल्ने, तगाराहरु हटाउने बारेमा बहस र छलफल हुनुपर्ने हो । तर भएन, भएको छैन । यसको मुल कारण आपूmलाई शक्तिमा केन्द्रित गर्ने नेताहरुको ध्याउन्नको परिणाम हो जुन सर्वत्र आलोच्य भएपनि नेताहरु यसबाट पछि हटेका छैनन् । 
    
यस्तो प्रवृत्ति नेतृत्वमा किन देखियो ? किन नेतृत्वमा देखिएका यस्ता स्वार्थि सोच र प्रवृत्तिमा त्योभन्दा तलभएका नेता तथा कार्यकर्ताले सच्याउन सकिरहेका छैनन् ? किन पार्टीमा नीति, सिद्धान्त, कार्यक्रम र कार्यशैलिका बारेमा बहस हुन छाडेको छ ? यसबारेमा चर्चा गर्नु आवश्यक छ । 

पार्टीमा देखिएका हरेक समस्या अब लेनदेन र टालटुले पाराले मात्रै समाधान गरिदैछ । पार्टीमा देखिने हरेक संकटको समाधान अस्थाई, लेनदेन र भागबण्डामा टुङ्गिने गरेको छ । विश्वासको संकट चुलिएका कारण लेनदेन उधारोमा होइन हाताहाति हुनुपर्छ भन्न थालिएको छ । गुट अदलबदल तिब्र बन्ने गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, राजनीतिक पार्टी बन्नै सकेन । नेताका व्यक्तित्वको टकराव नै त्यहाँ मुख्य समस्या बन्न पुग्यो । जनता समाजबादी पार्टी, पार्टी बन्न सक्छकि सक्दैन अहिले नै भन्न सकिदैन तर पार्टी बन्ने छाट कमै छ । स्वार्थ समुहको झुण्ड मात्रै भएको छ । नेपाली कांग्रेस शिथिल छ, कार्यकर्तामा कुनै उर्जा छैन । पार्टीका नेता बचेखुचेको पार्टी कसले कब्जा गर्ने भन्ने दाउमा दिनरात छलकपटमा व्यस्त छन् । 

जनताले अलि बढी नै आषा र भरोसा गरेको नेकपाको हालत पार्टी कम र प्रभावशाली ठुला नेताको मोर्चा बढी भएको छ । यी बाहेकका अरु साना पार्टीको चर्चा गर्न आवश्यक नै देखिदैन । 

पार्टीहरुको दुर्दशा किन यति गम्बिर अवस्थामा पुग्यो ? यो सोचनिय र विचारणिय पक्ष हो । राजनीतिक पार्टीहरु जिवित रहन सिद्धान्त, दर्शन, विचार, कार्यक्रम र कार्यशैलि महत्वपुर्ण पक्ष हो । पार्टीले लिएको सिद्धान्त अर्थात विचार प्रष्ट, लक्ष, कार्यक्रम घोषित र आम मानिसले बुझ्ने हुनु आवश्यक छ । पार्टीले जनतालाई बुझाउने र कार्यकर्ता बनाउने गर्नुपर्छ । पार्टीको विचार र कार्यक्रमले देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको स्पष्ट मार्गचित्र कोर्नुपर्छ । देशमा भएका सबै साधनश्रोतको उपयोग कसरी गर्नें, बैदेशिक सहयोगको उपयोग कसरी गर्ने भन्ने बारेमा पारदर्शी र व्यवहारिक नीति पार्टीहरुले प्रष्ट पार्नुपर्छ । 

पार्टीको सिद्धान्त, विचार, नीति र कार्यक्रमलाई आत्मसाथ गर्ने, स्विकार्ने, तिनमा विश्वास गर्ने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर तिनलाई कार्यन्वयन गर्न लागि पर्ने नेता तथा कार्यकर्ताको पंक्ति पार्टीमा हुनुपर्छ । पार्टीले पार्टी नेता र कार्यकर्ताका लागि आचारसंहिता र आचरण सार्वजनिक गर्नुपर्छ । नेता कार्यकर्ताले त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ । नेता कार्यकर्ताको आचरण र व्यवहार (आर्थिक, सामाजिक र सांस्कृतिक) पालन भए नभएको, पालन गरे नगरेको पार्टीले निरन्तर खवरदारी गर्नुपर्छ । कमजोरी देखिदा सच्याउन सक्नुपर्छ । नेता कार्यकर्ताका आचरण, व्यवहार र जीवनशैलि पारदर्शी र आम मानिसले सजिलै जानकारी पाउन सक्ने हुनुपर्छ । पार्टीका उपल्लो तहका (केन्द्रिय कमिटि, समिति)नेताको सम्पुर्ण विवरण सार्वजनिक गर्ने विधि अपनाउनु पर्छ । वेभसाइडमा राखेर हेर्न बुझ्न चाहने सबैको पहुँचमा पु¥याउनु पर्छ । भनाई र गराई मिलेनमिलेको जनताले जाँच्न पाउनु पर्छ । जनताका प्रश्नको जवाफ नेताले दिने र जिम्वेवार नेता भएको आवास दिन सक्नुपर्छ । 

पार्टीका नेता पार्टीका मात्रै होइनन् ती देशका नेता हुन् । त्यसकारण तिनमा सबैको चासो हुन्छ हुनुपर्छ । ती नेता जिम्मेवार र जवाफदेहि बन्न सक्नुपर्छ । पार्टी र नेता प्रति जनआकर्षण कम हुनु, पार्टीमा भाडभैलो हुनु, नेताको सिमा बिहिन र निकृष्ट आलोचना हुनुको पहिलो जिम्वेवार नेता र पार्टीहरु नै हुन् । पार्टीका बैठकहरुमा पार्टीका सिद्धान्त, नीति, कार्यक्रम, मुल्य, मान्यता र नेताको जीवनशैलि, आचरण, व्यवहार एवं जनचासोका विषयमा छलफलनै हुन छाडेको छ । 

छलफल केवल कसलाई कुन भाग दिने, कसले के पाउने, कसरी अरुलाई कमजोर पार्ने भन्ने छलफल हुनु देश र जनताका लागि दुर्भाग्य हुन पुगेको छ । सबै पार्टीमा पार्टीका बैठक औपचारिकताका लागि र गुटका बैठक धेरै हुने गरेको अवस्था छ । गुटका बैठकको मुख्य एजेण्डा नै आफ्नै पार्टीका प्रतिस्पर्धिलाई कसरी पाखा लगाउने, कमजोर बनाउने र आफ्ना गुटकालाई कसरी भागबण्डा गर्नेभन्दा माथि केही हुदैन । त्यहाँ पार्टी कसरी बलियो पार्ने, जनचासोका विषयलाई कसरी समाधान गर्ने, पार्टीको शुद्धिकरणका लागि कसरी काम गर्ने भन्ने छलफल हुदैनन् । अहिले जुन अवस्था पार्टी र नेताहरुमा देखिएको छ । यसले के संकेत गर्छभने कि पार्टी र नेताहरु सच्चिने र सच्याउने बाटोमा लाग्नुहोस् । यदि यसो हुन सकेनभने अब यी पार्टीहरुको औचित्य समाप्त हुदै गएको छ । यसका विकल्पमा पार्टी भित्रैबाट सिद्धान्त आचरण र विचारको शुद्धताका पक्षधरहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउन पर्छ । किनकि लोकतन्त्रमा पार्टीको विकल्प पार्टी नै हो ।