कविता अधिकारी
पछिल्लो समय नेपाली चलचित्रको बजार निक्कै प्रतिस्पर्धी भएर आएको छ । जनसंख्याको हिसाबले छिमेकी राष्ट्र भारतमा चलचित्रको स्कोप धेरै भएपनि नेपाली चलचित्रको बजार पनि करोडौ करोडक्लबमा प्रवेश गरेसँगै यसको कारोबार राम्रो बन्दै आएको छ । तर चलचित्रको व्यवसायमा देखिएको सफलतासँगै चलचित्र क्षेत्रमा चोरीएको कथा प्रस्तुतिको बिषय कहिले काही मुद्धाको बिषय बनिरहेको छ । भारतिय चलचित्र र नेपालको चलचित्रमा विगतलाई हेर्ने हो भने अधिकांश चलचित्रले चोरीका कथालाई नै प्रस्तुत गरेर सुपरहिटसम्म भएका रामकहानी छन् । 

भारतमा सन् १९९५–१९९६ मा केही महिनाको अन्तरालमा तीनवटा ठूला हिन्दी चलचित्रहरु रिलिज भएका थिए । पहिलो थियो डेभिड धवन निर्देशित ऋषि कपुर, माधुरी दिक्षित अभिनित याराना । दोश्रो अब्वास  मस्तान निर्देशित जुही चावला, अरजाव खान अभिनित दरार र तेस्रो थियो पार्थो घोषद्धारा निर्देशित मनीषा कोइराला, नाना पाटेकर र ज्याकी श्राफ अभिनित अग्निशाक्षी । यि तीनवटा चलचित्रका बारेमा यहाँ उल्लेख गर्न किन आवश्यक पर्यो भने यि तीनै चलचित्रहरु १९९१ मा बनेको  जुलिया रवर्ट अभिनित हलिउड फिल्म स्लिपिङ्ग वीथ दि ऐनेमी बाट हुबहु उतारिएको थियो । यि तीन मध्ये दुई चलचित्र याराना र दरार बक्स अफिसमा असफल रह्यो र एउटा अग्निसाक्षी ले मात्र दर्शकहरुको मन जित्न सफल भएको थियो । त्यो चलचित्रलाई समिक्षकहरुले पनि रुचाएका थिए र त्यसै चलचित्रबाट नाना पाटेकरलाई १९९६ को वेस्ट सपोर्टिङ्ग एक्टरको राष्ट्रिय एवार्ड समेत दिइयो । अब प्रश्न उब्जिन्छ यि तिनै चलचित्रको कथा–प्लट एउटै थियो भने परिणाम किन फरक फरक निस्कियो त ? यसको सिधा उत्तर हो चलचित्र  विधामा कथा होइन कथा वाचन गर्ने शैली महत्वपूर्ण हुन्छ । कथा जहाँबाट लिइएपनि कथा भन्ने शैली प्रभावशाली र कलात्मक भएन भने चलचित्रले दर्शकलाई ‘कनेक्ट’ गर्न सक्दैन । चलचित्र सफलताको मूल कडी नै यही हो । 

सन् १९७५ मा माथि उल्लेखित तीन फिल्महरु भन्दा पनि ठूलो मानिएको एउटा फिल्म रिलिज भएको थियो – शोले । जि.पी. सिप्पीले निर्माण गरेको र उनका भाई रमेश सिप्पीले निर्देशन गरेको शोले मा त्यसबेलाका भए भरका स्टारकास्टलाई राखिएको थियो । धर्मेन्द्र, अमिताभ बच्चन, संजिव कुमार, हेमा मालिनी, जया मादुडी र अमजद खान जस्ता कलाकारलाई अभिनय गराइएको सो चलचित्र त्यस बेलासम्मको सबैभन्दा ठूलो बजेटको चलचित्र थियो । यहाँ सम्म कि चलचित्र खिच्न क्यामराम्यान र एक्सन डाइरेक्टर समेत हलिउडबाट झिकाइएको थियो । फिल्मलाई सफल बनाउन कुनैपनि कसर बाँकी राखिएको थिएन तर विडम्बना चलचित्र हेर्न दर्शकहरुको ओइरो भने हलमा लागेन । कारण, यसले रिलिजसंगै थुप्रै आलोचना खेप्नु परेकोे थियो । आलोचनाको मुख्य सार एउटै थियो यो अंग्रेजी चलचित्र दि म्याग्निफिसेन्ट सेभन र सेभन सामुराईबाट कपि गरिएको भन्ने । वास्तवमा शोले चारवटा फिल्मको रिमेक थियो । आकिरा कुरासावाको सेभन सामुराई, जोन स्टर्गसको दि म्याग्निफिसेन्ट  सेभन लाई आधार बनाएर फर अ फ्यू डलर मोर र वन्स अपन अ टाइम इन वेस्ट जस्ता फिल्महरुबाट ‘पंच लाइन’ हरु लिइएको थियो । तत्कालीन भारतीय मिडियालाई यो कुरा पटक्कै पाच्य भएन । त्यसपछि त के चाहियो र ! आलोचनाको बमबाडी नै बर्सियो । चलचित्रबारे जताततै नकारात्मक प्रचार हुन थाल्यो ।

त्यसबेलाका प्रख्यात चलचित्र समिक्षक के.एल.अम्लाडीले त शोले लाई डेड एम्बर र ए ग्रयाभली फ्लाड एटेम्ट अर्थात निभेको आगो र गम्भीर त्रुटीयुक्त प्रयाश भनेर कटु आलोचना गर्न भ्याए । त्यस्तै भारतको सबैभन्दा प्रख्यात सिने पत्रिका फिल्मफेयरपनि यो फिल्मको विरुद्धमा कडा रुपमा उत्रिएको थियो । फिल्मफेयरले समिक्षाको एउटा हरफमा चलचित्रलाई इमिटेशन अफ वेस्टर्न–नाइदर हिएर नर दिएर अर्थात पश्चिमा नकल–न यताको न उताको भनी तीब्र ब्यगं प्रहार गरेको थियो ।

यि सबै कुराले कसैलाई असर गरिरहेको थियो भने त्यो भर्खर रिलिज भएको फिल्म शोले लाई नै थियो । चलचित्र समिक्षाको प्रमुख ‘ईशु’ नै ‘कपि’ लाई यसरी बनाइयो कि जनतामा त्यसै कारणले यो फिल्म हेर्नु हुन्न भन्ने संदेश जान थाल्यो । चलचित्र राम्ररी चलिरहेको थिएन । रिलिज भएको एक हप्तापछि मात्र हलमा विस्तारै भिड बढ्न थाल्यो । एक कान दुई कान मैदान हुँदै फिल्मको तारिफ सुरु भयो । दर्शकहरुले समिक्षालाई बहिस्कार गरे र आफूले प्राप्त गर्ने मनोरंजनको मुद्दामा चासो दिन थाले । फलस्वरुप शोले सुपर डुपर हिट भयो र भारतीय चलचित्रकै इतिहासमा ‘कायापलट’ सिनेमामा पर्न सफल भयो । भारतीयहरुको गर्व बन्यो चलचित्र शोले ।

हिन्दी चलचित्रहरुले नेपालबाट वर्षेनि करोडौं रुपैंया लैजाने गर्छन । विडम्बना के छ भने नेपाली चलचित्रलाई चोरीभयो भनी सत्तोसराप गर्नेहरुले हलिउडको हिन्दी भर्सनलाई भने स्वीकार्ने मात्र होइन तारिफ नै गर्ने गर्छन । उनीहरु शोले को बयान गरेरै थाक्दैनन । सन् १९९८ मा अजय देवगणको एउटा फिल्म प्यार तो होना ही था ले नेपालबाट मात्र भारु एक करोड लगेको थियो । सो चलचित्र हलिउड फिल्म फ्रेन्च किस को हिन्दी अनुवाद थियो । त्यस्तै मिस्टर विन सिरिज र हलिउड फिल्म इट्स अ म्याडम्यान वल्र्ड बाट उतारिएको फिल्म धमाल नेपालमा सुपह हिट भएको थियो । अमिर खान, मनिषा कोइराला अभिनित चलचित्र अकेले हम अकेले तुम हलिउड मुभी क्रेमर भर्सेस क्रेमर को हिन्दी अनुवाद थियो भने अजय देवगणको सन् २००८ मा बनेको फिल्म यु मि औ हम हलिउड मुभी नोट बुक को हिन्दी भर्सन थियो । त्यस्तै अजय देवगणकै २०१६ को फिल्म शिवाय हलिउड ब्लक बस्टर टेकेन बाट नउतारिएको भए हम तुम भन्ने फिल्म ह्वेन हेरी मेट शेली बाट नलिएको भए र मुन्ना भाई एम वि.वि.एस. रोवर्टस विलियमको हलिउड फिल्म प्याच एडम्स बाट साभार नगरिएको भए के यति राम्रो फिल्म दर्शकले हेर्न पाउथ्ये ? 

अब कुरा गरौ नेपाली चलचित्रको स्कृष्ट चोरी गरेर बनेका सुपरहिट फिल्महरुको । वर्षौं पहिले एउटा नेपाली चलचित्र खुब चलेको थियो – कुशुमे रुमाल । तुलसी घिमिरेद्धारा निर्देशित सो चलचित्रलाई सबैले मन पराएका थिए । तर धेरै कमलाई थाहा होला त्यो चलचित्रको कथा–प्लट सुपर हिट हिन्दी चलचित्र मिलनबाट लिइएको थियो । त्यस्तै भूवन के.सी. को करोडपति पाकिस्तानी चलचित्र दिल्लगीबाट र उज्वल घिमिरेको जिन्दगानी पुरानो हिन्दी फिल्म धर्ती कहे पुकारके बाट कपि गरिएको थियो । गोविन्द शाहीको लभ स्टेशन टर्किस फिल्मका कपि अनि भूवन के.सी. को ड्रिम्स लाई बेलायती फिल्म इफ वन्ली को कपि गरिएको देख्न सकिन्छ । सुदर्शन थापाको मेरो एउटा साथी छ  लाइ मिलियनर्स फस्ट लभ बाट कपि गरिएको छ । त्यस्तै हिन्दी फिल्म रमैया वस्ता वैया को हुबहु बाँध मायामा कपि गरिएको छ । अनि भूवन के.सी कै क्याप्टेन लाई चाँही पेलेः बर्थ अफ लिजेण्ड बाट कपि गरिएको छ । थाहा पाएर होस या थाहा नपाएर त्यस विषयमा दर्शकहरुले  कपि गरिएको कथा चोरिएको कुरालाइ खासै महत्व दिएका छैनन उनीहरुले हेर्ने चलचित्रबाट मनोरञ्जन पाए कि पाएनन त्यो चाहि मुख्य पक्ष हो । 

चलचित्रको कथा लेखनमा धेरै समय लाग्छ र साच्चै भन्ने हो भने नेपाली चलचित्रको स्कृष्ट तैयार गर्ने भनेजस्ता राइटरपनि छैनन भन्दा पनि फरक नपर्ला औलामा गनिने संख्यामा मात्रै छन् । र अधिकांशको लेखन शैली भनेकै दुइचारवटा सिडि मिलाउने र लेख्ने नै हो । अहिले सम्म नेपाली चलचित्रमा भएको त्यही नै छ किनभने उनीहरुलाई कम पारिश्रमिक दिए पुग्छ । चलचित्रको कथाका लागि एक डेड लाखसम्मको पारिश्रमिक दिदा बन्ने चलचित्र यस्तै नै हुने अधिकांश निमार्ताहरु बताउँछन । ठुला भनिएका स्कृष्ट राइटरहरुले एउटा कथा तयार गरेको १० देखि २५ लाखसम्म पारिश्रमिक डिमान्ड गर्छन र त्यो कथा लेख्न पनि बर्षो समय लगाउछन । त्यति लामो समयसम्म निर्माता, निर्देशकलाई टिक्नै मुश्किल पर्छ किनभने बर्षकै १०० बटा नयाँ फिल्म आइदिन्छन त्यही भएर चलचित्रको बजार हिजो ‘कुसुमे रुमाल’ देखी लिएर ‘लभस्टेशन’सम्म आइपुग्दा अधिकांश कथा चोरिएर नै बनेका छन । 

यो लेखको उद्देश्य चलचित्र कपि गरेरै बन्नु पर्छ भन्ने कदापी होइन । कपि गर्नेहरुलाई एडभोकेसी गर्न यो लेख लेखिएको पनि हैन । चलचित्रको फस्ट सो मा गएर हेरेर समिक्षा गर्दा कपि मात्रलाई आधार बनाइन हुन्न भन्न खोजेको मात्रै हो किनभने कपिको आवाज चर्को पारेर करोडौ लगानी गरेर बनाइएका चलचित्रको अरु सबै राम्रा पक्षहरुलाई अन्धकारमा राखिदिनु चाँही अन्याय हो । कथा वाचन, कलाकारहरुको अभिनय, दृश्य संयोजन, क्यामरा वर्क, लोकेशन, छनौट, आदि राम्रा पक्षहरु सबैलाई ‘कपि’ तेर्साएर प्रचार गरिदिदा त्यसको निर्देशक र लेखकको मात्र होइन सयौं नयाँ प्रतिभा र प्राविधिकहरुलाइ पनि त्यसले असर पुरयाउँछ ।

कथा चोरिएका मुद्धाको बहस हुनुपर्छ, त्यो बेग्लै पाटो हो । तर हलमा चलचित्र प्रदर्शन भइरहेको छ , पहिलो ‘सो’ बाट नै समिक्षा गदै चलचित्रमा कपि भयो नहेर्नुस भन्नु चाहि गलत हो । नेपाली चलचित्रहरु नेपाल मै बन्छ र नेपाल मै चल्छ । सानो बजारमा चलेका नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको छ भने राम्रो छ तर कपि हो भन्ने बानीको विकास गर्ने की ?