काठमाडौं, २९ जेठ–  नक्कली रिपोर्ट बनाई बलात्कारी जोगाउने र कमाई धन्दा चलाउने वीर अस्पतालका दुई कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नक्कली रिपोर्ट बनाउन लगाउने विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

वीर अस्पतालमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सेवा आयोगको सचिव पदमा कार्यरत् लक्ष्मणप्रसाद अर्यालसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आरोप पत्र दायर गरेको हो । 

स्रोतका अनुसार तिमिल्सिना र अर्यालले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्ववप्रसाद नेपाललाई उक्त मुद्दाबाट छुटाउन ५० हजार रुपैयाँ लिएर करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजात (मेडिकल रिपोर्ट) बनाइदिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्तका ससुरा केदारनाथ पराजुलीबाट ५० हजार लिएर वीरका कर्मचारीले जबरजस्ती गरेको दिन अस्पतालमा उपचाररत रहेको भनी गलत रिपोर्ट बनाएको र अभियुक्तले सो नक्कली कागजात पुनरावेदन (हाल उच्च) अदालत पाटनमा पेश गरेको उजुरी दिएपछि अख्तियारले छानविन थालेको थियो । 
 
अर्यालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम र वीर अस्पतालको कागजात अनाधिकृत रुपमा गैरकानूनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गर्ने उद्धव नेपालविरुद्ध दफा ११ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।