काठमाडौँ, ३० जेठ– गृहमन्त्री रामबहादुर थापाले व्यवसायीसँग हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन भन्दै हप्ता असुल्ने गुन्डाहरुलाई आफूले नछाड्ने बताउनु भएको हो । ‘पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिने तर्फ पनि सोच्न जरुरी छ’ उहाँले भन्नुभयो । 

महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडी स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिनुभयो ।

महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।महाधिवेशनपछि नयाँ कार्यसमिति चुनिने जनाइएको छ ।  महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।