सरकार समृद्धिको खाका कोर्दैछ । समृद्धिका लागि पहिला देशमा भएको व्यापार घाटा कम गर्न सक्नुपर्छ । व्यापार घाटा कम गर्न देशमा खपत हुने बस्तु र सेवाको उत्पादन र सृजना देश भित्रै धेरैभन्दा धेरै गर्नुपर्छ । भुक्तानी सन्तुलन कायम गर्न र विदेशी मुद्राको संचित बढाउन पनि यो आवश्यक हुन्छ । 

कृषिप्रधान देशमा कृषि जन्य बस्तुको आयात घटनुको सट्टा बढी रहेकोमा सबैले चिन्ता गरेका छन् । सरकार देशमा उत्पादन बढाउन प्रयास गर्दैछ । विदेश पुगेर फर्किएका युवा देशमै केही गर्न पाए हुन्थ्यो भनेर चिन्तित छन्, प्रयास पनि गरिरहेका छन् । 

अलिकति सुधार गर्न सक्दा देशमा तत्कालै गर्न सक्ने र चाहिएको बस्तु भनेको कृषि उपज नै हो । अरु क्रमशः गर्दै जान सकिन्छ । कृषिमा मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सके धेरै युवाले देशमै रोजगारी पाउने र व्यापार घाटा कम भएर भुक्तानी सन्तुलन कायम गर्न मद्दत पुग्छ । देशमा उत्पादन बढदा मुल्य नियन्त्रण हुन्छ, तुलनात्मक रुपमा ताजा र उपयुक्त बस्तु उपभोग गर्न पाइन्छ । 

उत्पादन बढेसँगै नयाँ प्रकारका केही समस्या देखिन थाल्नु स्वभाविक हो । अहिले तरकारी नबिकेको कुरा आएको छ । नबिकेको भन्दा पनि किसानले अति नै न्युन मुल्य पाएको तर उपभोक्ताले बढी मुल्य तिर्नु परेको गुनासो आउने गरको छ । कुखुराको मासु र अण्डामा देश आत्म निर्भर छ तर पनि समस्या नै नभएको भने होइन । तरकारी, दुध, माछामासु, फलपूmलको उत्पादन बढेको छ । उत्पादन बढेसँगै मुल्यमा आउने असन्तुलनका कारण उत्पादकले मुल्यमा न्यायको खोजी गर्नु स्वभाविक हुन्छ । 

गएको वर्ष जेठमा काठमाण्डौमा विश्व दुध दिवश मनाईरहेको दिन किसानका प्रतिनिधिले दुध नबिकेको, मुल्य न्युन पाएको जस्ता समस्या मुख्य अतिथि बनेको कृषि मन्त्रीलाई सुनाईरहदा सरकारका पशु उत्पादन निर्देशनालयका पदाधिकारी खुसी भएको देखिन्थ्यो । उनीहरुले भने पनि लामो प्रयासपछि उत्पादन साच्चै बढेको छ । यो खुसीको कुरा हो । दुधको उत्पादन बढेसँगै त्यसको व्यवस्थापन हुन नसक्दा गएको वर्ष किसानले संकटको सामना गर्नुप¥यो र निकै निरास भए । जिल्लाजिल्लामा दुध सडकमा पोखियो । सरकारलाई दवाव परेपछि धुलो दुधको आयातमा रोक लगाईयो । देशमा भएका धुलो दुध बनाउने कारखाना बिराटनगर र पोखराको स्तर उन्नति गर्ने र चितवनमा भएको कारखानालाई सञ्चालनमा ल्याउने काम भयो । यो कारखाना केही समयदेखि बन्द थियो । 

अवस्था कस्तो भयो भने किसानले उत्पादन गरेको दुध केही घण्टा भन्दा बढी राख्न सक्ने अवस्था हुदैन । उता कारखानाको स्तर उन्नति गर्न र सञ्चालनमा ल्याउन केही समय लाग्ने नै भयो । धेरै दवावपछि सरकारले धुलो दुधको आयातमा रोक लगायो तर आइसकेको पाउडर दुधको खपत निश्चित समय भित्रै गरिसक्नु पर्ने भएकाले जोसँग थियो उनीहरुले त्यसको प्रयोग गर्नु स्वभाविक थियो । उत्पादन बढी भयो भन्दैमा खपत एक्कासी त बढ्दैन थियो । त्यसैले गएको वर्ष माघफागुनदेखि भदौसम्म दुधको खपत उत्पादन भए अनुसार हुन सकेन । किसान निकै समस्यामा देखिए । किसानले अर्को सिजनमा त खपत होला भनेर उत्पादन थाम्न सक्ने अवस्था नहुने भएकाले उत्पादन नै घटाए । दुधको उत्पादन घटाउनु भनेको भएका दुधालु पशु गोठबाट हटाउनु, सस्तोमा बेच्नु, अरु उत्पादन दिने गरि नथप्नु, लगानी घटाउनु आदि हुन्छ । 

असोज कार्तिक पर्वको समयमा सधैजस्तो दुधको अभाव हुन पाएन । किनकि उत्पादन केही घटेको भएपनि बजारलाई पुग्ने दुध थियो । मंसिर, पुष र माघसम्म आइपुग्दा गत वर्षको जस्तो दुधको अधिकता होइन, अभाव जस्तो देखिन थालेको छ । डेरी उद्योगहरुले पाउडर(धुलो दुध) विदेशबाट ल्याउन पाउनु पर्ने माग गर्न थालेका छन् । यता देश भित्र भएका धुलो दुध कारखानासँग भएको पाउडरको स्टक निकै घटेको छ तर नयाँ थप उत्पादन गर्ने गरिको कच्चा दुध नपाएको अवस्था छ । यसको अर्थ अब बजारमा चाडै नै दुधको अभाव हुने छाट देखिन्छ । 

डेरी उद्योगीहरुको संघ म्क्ष्ब् को साधारणसभा माघको २१ र २२ गते इटहरीमा भएको थियो । त्यहाँ देश भरिका डेरी उद्योगीहरुले प्रदेश नम्बर १ दुधको उत्पादनको क्षेत्र हो । यहाँबाट बढी भएको दुध काठमाण्डौ, पोखराको बजारमा लैजान सकिन्छ भनेर प्रस्ताव गरेका थिए । तर यहाँको दुध लान ढुवानी खर्च प्रतिलिटर चारपाँच रुपियाँ पर्ने भएकाले केही सस्तोमा किन्न खोजेको देखिन्थ्यो । सस्तोमा दुध दिन सकिने अवस्था थिएन तर मागेको दाम दिएमा पनि दुध दिन सकिने अवस्था छैन । दुृधको उत्पादन बढाउन अब फेरी केही समय पर्खनु पर्ने हुन सक्छ । सबैभन्दा महत्वको कुरा किसानको आत्मविश्वास टुटेको अवस्था छ । यस्तोमा भविश्यमा मिल्क होलिडे हुदैन भन्ने विश्वास किसानलाई भरपर्दो गरि नदिने होभने किसानले फेरी जोखिम मोलेर उत्पादन बढाउन लगानी गर्ने अवस्था छैन । यसको लागि सरकारले बोल्नु पर्छ । सहयोगको हात बढाउनु पर्छ । 

अब सरकारलाई डेरी, बिस्कुट, चक्लेट र आइसक्रिम उद्योगीहरुले धुलो दुध पाउडर ल्याउन पाउनु पर्ने दवाव दिनेछन् । सरकारले सजिलो गरि धुलो दुधको आयात खोल्ने होभने फेरी कच्चा दुधको माग उच्च नहुनसक्छ । केही समय उच्चमाग भएमा दुधको उत्पादन बढाउन धेरै समय लाग्दैन । 

केही महिनामा नै उत्पादन बढने छ । यसले देशमा दुध उत्पादनको आधार बलियो बन्छ । किसानमा टुटेको विश्वास पलाउने छ । किसानले उत्पादन गर्न जाँगर देखाउने छन् । लगानी बढाउने छन् । उत्पादनको खपतका लागि धुलो दुध कारखाना सञ्चालनका लागि सरकारले प्रोत्साहित गर्नुपर्छ । कारखानाभन्दा टाढाको दुध ढुवानीमा ढुवानी अनुदान दिन, ढुवानीका साधन खरिदमा सहुलियत दिन सरकारले तत्परता देखाउनुपर्छ । 

त्यसैगरी दुध संकलन केन्द्र स्थापना गर्न आवश्यक पर्ने चिस्यान केन्द्रका औजार उपकरणमा अनुदान दिने, सहुलियत कृषि कर्जा उपलव्ध गराएर किसानलाई पशुपालनमा आकर्षित गर्ने, नश्ल सुधार, घाँस खेती लगायतका सबै कार्यक्रमलाई अभैm प्रभावकारी रुपमा सञ्चालन गर्ने काम गर्नुपर्छ । केही समय अभाव भयो भन्दैमा सरकारले धुलोदुध आयातमा लगाएको बन्देज फुकाउनु हुदैन भने किसानले गएको वर्ष देखिएको समस्या संधैको हो भनेर उत्पादनबाट पलायन हुने सोच बनाउनु हुदैन । 

डेरी उद्योगीहरुले केही समय कच्चा दुधको थोरै कमी भयो भन्दैमा विदेशबाट पाउडर ल्याएर उद्योग चलाउने सोचको सट्टा किसानलाई टिकाउने र उत्पादनमा प्रोत्साहित गर्नुपर्छ । यसले देशमा उत्पादन बढछ, शहरको पैसा गाउँमा बस्ने किसानले पाउछन्, उद्योगीहरुको मुनाफा पनि आयातित पाउडरमाभन्दा किसानले उत्पादन गरेको कच्चा दुध खरिद गरेर चलाउदा नै हुने कुरा यहाँ भनिरहनु पर्दैन । 

सरकारले देशभित्र रोजगारी सृजना गर्न, कृषिको उत्पादनमा आत्मनिर्भर हुन, व्यापार घाटा कम गर्न, भुक्तानी सन्तुलन कायम गर्न देशभित्र अलिकति वातारण बनाएर सपोर्ट गर्दा सजिलै उत्पादन हुन सक्ने दुध, माछा, मासु, तरकारी, आलु, फलपूmल, चिनी, डेरी जन्य उत्पादन, अचार, खाद्यन्न, गेडागुडी, मकै, कोदो, खुदी, तेल, तोरी, दाल, चामल, धान आदिको आयातमा उदार हुन जरुरी छैन । यस्ता बस्तुको आयातमा अनुदार हुँदा केही समय समस्या पर्न सक्छ । 

तर समाधान के हो पहिचान गरेर उत्पादनलाई प्रोत्साहन गर्ने, भएका उत्पादनको भण्डारण, ओसारपसार, उद्योग स्थापना र खपत बढाउन सरकारले मद्दत गर्न सके देशले तय गरेको समृद्धिको अभियानमा सहयोग पुग्ने छ । हाम्रो जस्तो समाजमा कृषि र समृद्धि एकअर्काका पुरक हुन्, आपसमा अन्तर्सम्वन्धित छन् भन्ने विषयलाई राम्ररी केलाउन र तदनुरुपको नीति नियम एवं प्रयास हुन आवश्यक छ ।