टीकापुर १८ मंसिर– वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र डेढ वर्षीय नावालक टेकेन्द्र साउदसहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते टीकपुरमा भएको घटनामा नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको नयाँ तथ्य बाहिर आएको छ । 

टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका लक्ष्मण थारुले भदौ ७ गते नौ जनाको ज्यान जानेगरी भएको घटना र त्यसको भोलिपल्ट भदौ ८ गते टीकापुरका थारु व्यवसायीहरुको घर पसलमा भएको लुटपाट र आगजनीमा नेपाली कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको बताएका हुन् । 

थारुले टीकापुर घटनामा निर्दोष मानिसहरुलाई फसाइएको बताउदै स्वतन्त्रपूर्वक छानविनको माग गरेका छन् । उनले भनेका छन् ‘सरकारले दोषीलाई कार्वाही र निर्दोषलाई उन्मुक्ति दिनु पर्छ ।’  

तत्कालीन फोरम लोकतान्त्रिकका नेता समेत रहेका थारुले कैलाली कारागारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्दै टीकापुर घटनाको भित्रि पाटोबारे खुलस्त पारे । 

उनले भदौ ७ को भोलिपल्ट टीकापुर बजारमा थारु समुदायका घर पसलमा भएको आगजनीमा डिएसपी विश्वराज खड्काको संलग्नता भएको वताए । 
टीकापुरका गुण्डा केटाहरु र प्रहरी सहितको सहयोगमा डिएसपी खडकाको नेतृत्वमा भदौ ८ गते राती थारु समुदायका घर पसलमा लुटपाट र आगजनी भएको प्रमाण आफूसँग भएको थारुको भनाई छ । 

थारुले डीएसपी विश्वराज खडकामाथि सरकारले कारवाही नगरे आफूहरुले आदिवासी थारुहरुका घर लुटपाट र आगजनी गर्ने विरुद्द अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने  चेतावनी दिए । 

को हुन डीएसपी विश्वराज खड्का ?
विश्वराज खडका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्का भतिजा हुन् । २०७२ साल भदौ ७ गतेको घटनामा उनी जिल्ला प्रहरी कार्यालय धनगढीमा दरबन्दी भई थरुहट आन्दोलनका क्रममा टीकापुरमा खटिएका थिए । खड्का कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार रहेकी ईश्वरी न्यौपानेका ज्वाईं हुन् । 

नेता लक्ष्मण थारुले टीकापुरमा थारु समुदायको घर पसलमा लुटपाट र आगजनी गर्ने षडयन्त्रको आरोप लगाइरहदा डिएसपी खड्काकी सासु चुनावी मैदानमा छिन् । यसले थारु मतदाता निर्णायक रहेको कैलाली क्षेत्र नम्बर १ मा न्यौपानेको उम्मेदवारीमाथि संकट थपिएको छ । 

भदौ ८ गतेको लुटपाट र आगजनीको भइरहंदा डीएसपी ज्वाईं विश्वराज र सासु ईश्वरी न्यौपानेसँग के के संवाद भयो होला भन्ने प्रश्न यतिवेला उठेको छ ।  
कैलाली कारागारबाट भिडियो वक्तव्यमा थारु नेता लक्ष्मण थारुले टीकापुर घटनामा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको संलग्नताको प्रमाण छ भनेर किन भने होलान् ? यो भने खोजीको विषय बनेको छ ।