काठमाडौं, ४ वैशाख–  लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका हुन् ।

यद्यपी  टिकटकलाई भारतमा अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले यो एप्स अझै प्रयोग गर्न सक्छन् ।


तर, नयाँ प्रयोगकर्ताले भने अब यो एप्स डाउनलोड गर्न सक्ने छैनन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । 
यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गरेको थियो । 
मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गरिदियो  ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ ।

बंगलादेशमा भने  टिकटक प्रतिवन्धित छ  ।  अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर टिकटक कम्पनीलाई जरिवाना गराइएको थियो ।

तर, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकप्रिय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् ।

मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ ।