काठमाडौं, ४ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद बढ्दै जाँदा एउटा वहसले भने निश्चित आकार ग्रहण गर्ने देखिन्छ । त्यो हो– वर्तमान नेतृत्वको विकल्पका रुपमा त्यसपछिको पुस्ता र युवा पुस्ताको माग । 

प्रधानमन्त्री तथा प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफू पछिल्लो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएको लगत्तै महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले पनि  पार्टी सचिवालय असफल भएको भन्दै सामुहिक राजिनामाको प्रसंग उठाउनुभयो । पार्टीभित्र खासगरी दुई अध्यक्षबीच असमझदारी बढ्दै जाँदा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका बिषयले अनौपचारिक प्रवेश पाएका हुन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमाथि निराधार, कपोकल्पित र बतासे आरोप लगाएर प्रस्तुत गरेको आरोप पत्रपछि अवस्था झन गम्भीर बनेको छ । प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा राखेको मन्तब्यको सोझो अर्थ हुन्छ– त्यस्ता गलत आरोप लगाउनेले प्रमाणित पनि गर्नुपर्छ । नभए अगाडिको बाटो सहज छैन ।’

प्रचण्डले एजेण्डामै नरहेको र पार्टी बिधान र पद्धती विपरित अचानक प्रधानममन्त्रीबिरुद्ध लिखित आरोपपत्र औपचारिक रुपमा ल्याएपछि त्यहीबाट पार्टी बिभाजनको आरम्भ गर्नुभएको हो । खासमा त्यो आरोपपत्र मात्र नभएर पार्टी बिभाजनको घोषणापत्र थियो । अरुबेला पार्टी पद्धती र विधानको बखान गर्ने प्रचण्डले प्रथम अध्यक्षसँग सल्लाहसमेत नगरी ल्याएको कथित राजनीतिक प्रतिवेदनबाट पार्टी बिभाजनको आरम्भ भइसकेको देखिदैछ । 

अव मंसिर १३ गते हुने बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले नेकपाको अगामी बाटो तय गर्लानै । सकेसम्म नेताहरु मिलेर जाँदा देश र जनताका लागि हितकर हुन्छ भन्ने हो । नेताहरु मिल्न सक्नु हुन्न भने प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तावमा तयार हुनुपर्छ । नेतृत्व पछिल्लो र युवा पुस्तामा दिनुपर्छ ।

बिभिन्न नामका राजनीतिक पाटी गरेर प्रचण्ड ३२ बर्ष प्रम्ुख हुनुभयो । २०४५ सालदेखि २०७७ एकता केन्द्रका महामन्त्री, माओवादी, एमाओवादी र एमाओवादी केन्द्र हुँदै नेकपाका कार्यकारी अध्यक्ष हुनुहुन्छ । ३२ बर्षदेखि प्रम्ुख हुनुभएका प्रचण्ड दुइपटक प्रधानमन्त्री पनि बन्नुभयो । पार्टीप्रम्ख र सरकार प्रमु्खका रुपमा उहाँले देश र जनताका लागि के गर्नुभयो, त्यो पनि सार्वजनिकनै छ । ओलीपछि प्रचण्डनै नेतृत्वमा रहनुपर्ने वा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु नहुने किन ?  

झलनाथ खनाल १४ बर्ष नेतृत्वमा रहनुभयो । २०३९ देखि २०४६ सम्म महासचिव, २०६५ देखि २०७१ सम्म महासचिव र अध्यक्ष हुनुभयो र प्रधानमन्त्री पनि बन्नुभयो । उहाँले पार्टी प्रम्ख र सरकार प्रमुख हुँदा देश र जनताका लागि के गर्नुभयो भन्ने पनि प्रष्ट छ । औसत र असफल भएको नेतृत्वले फेरी पनि पदकै निम्ति प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दीको प्रयास गर्नुको के अर्थ हुन्छ ? 

त्यस्तै, माधव नेपाल १६ बर्ष पार्टी नेतृत्वमा रहनुभयो । २०५० देखि २०६५ सम्म पार्टी महासचिव रहेका नेपालले फेरी प्रधानमन्त्री र अध्यक्ष ओलीबिरुद्ध अर्का अध्यक्ष प्रचण्डका तर्फबाट किन वहस छेड्नुभएको हो ? बुझ्न सकिएन । नेपाल हुँदा पार्टी कहाँ थियो र अहिले काँहा छ भन्ने सार्वजनिक नै छ । त्यतिमात्र होइन, प्रधानमन्त्री हुँदा माधव नेपालले देश र जनताका लागि के गर्नुभयो ? त्यो पनि मुल्याकंन गर्दा हुन्छ । 
बामदेव गौतम एमाले फुटाएर बनेको मालेको महासचिव बन्नुभएको हो । आम कार्यकर्ता र जनताको भावना विपरित पार्टी फुटाएर २०५५ देखि २०५८ सम्म माले चलाउँदाको अवस्था के थियो र पछि कसरी पुरानै पार्टीमा फर्किनुभयो, त्यो पनि जगजाहेर छ । गौतम अस्थिर राजनीतिका पर्याय बन्नुभयो मात्र होइन, उहाँले जनमतको अपमानसमेत गर्नुभयो । तर फेरी उहाँले पार्टी वा सरकारको नेतृत्वको दावी गर्न कसरी सक्नुहुन्छ । पार्टीभन्दा गुटका प्रबक्ता बनेका नारायणकाजी श्रेष्ठ १४ बर्ष पार्टीका प्रमुख भएका नेता हुनुहुन्छ । एकता केन्द्र, एकता केन्द्र मसालमा २०५१ देखि २०६५ सम्म उहाँ महामन्त्री, सहमहामन्त्री रहनुभयो । त्यस्तै उहाँ उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री समेत हुनुभयो ।

समकालिन नेताहरुमा तुलनात्मक क्षमतावान र देशलाई केन्द्रमा राखेर विकासको दृष्टिकोणसहित काम गर्नुभएका प्रधानमन्त्री ओलीबिरुद्ध यी पाँच नेताको मोर्चावन्दी देश र जनताका लागि नभएर व्यक्तिगत स्वार्थका लागि हो भन्ने प्रष्टै छ । जव देश र जनता केन्द्रित राजनीतिमा उहाँहरुलाई चासो छैन भने अव किन उहाँहरुलाई नेतृत्व दिने ? त्यसैले अवको एकमात्र विकल्प भनेको ४०–६० को पुस्तालाई नेतृत्व हस्तान्तरण नै हो । समाधानको उचित विकल्प ।