कविता अधिकारी

काठमाडौं, २९ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीको हिन्दी च्यानल जी न्युज र अंग्रेजी च्यानल विअनमा आएका दुई अन्तरवार्तालाई नेपाली जनताले प्रशंसा गरेका छन् । भारतसँगको सम्बन्धमा यसअघिका नेपालका कुनैपनि प्रधानमन्त्रीले नेपाली राष्ट्रिय स्वार्थ र मुद्धाको नेतृत्व गरेर प्रष्ट रुपमा कसैले राख्न सकेका थिएनन् भन्ने कोणबाट नागरिकका टिप्पणीहरु आइरहेका छन् । वास्तवमै प्रधानमन्त्री ओलीले दुई ठुला छिमेकीका बीचमा रहेको नेपालका चुनौती सम्भावनाहरु यही ढंगमा केलाउदै जसरी सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइरहेको र बढाउने नीति कार्यान्वयन गरिरहनु भएको छ, त्यो प्रशंसनीय छ ।

ती अंग्रेजी र हिन्दी दुबै च्यानलमा प्रधानमन्त्रीले जसरी पारस्परिक सम्मान र पारस्परिक लाभका आधारमा सम्बन्ध अघि बढाउने आफ्नो नीति रहेको बताउनु भएको छ । त्यसरी नै नेपालप्रतिको सम्बन्ध कायम गर्न छिमेकीलाई आग्रह गर्नु भएको छ । त्यो एउटा ठुलो नीतिगत परिर्वतन मात्रै नभएर त्यो कार्यक्रमिक परिर्वतन नै हो ।

प्रधानमन्त्री ओलीको पूविर्य सभ्यता, दर्शन र संस्कृतिको जुन गहिरो अध्ययन छ । त्यसले भारतीय पत्रकारहरुको बिषयबस्तु र सन्दर्भलाई गलत निश्कर्ष तर्फ मोड्ने प्रबृती र प्रयासलाई पनि गतिलै झापड दियो । भारतलाई नेपालको ठूल्दाईको रुपमा चित्रित गर्न चाहनेदेखि अखण्ड भारतको वर्णन गरेर नथाक्ने भारतीय बुद्धिजिवी र पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले थप अनुसन्धान र खोज गनुपर्नेतिर बाटो देखाउनुभएको छ । उहाँले अखण्ड भारत कहिल्यैपनि नरहेको बरु भारत बर्ष भनेर कुनै बेला दक्षिण एशियालाई नै भनिएको उल्लेख गदै अखण्ड भारत अस्तित्व मै नरहेको बताइदिनुभयो । कसैको पनी औपनिवेश नरहेको नेपाली इतिहास गर्व गर्न लायक रहेको भन्दै नेपालीले हिनताबोध पाल्नुपर्ने केही नरहेको र ठूला राष्ट्रका रुपमा भारत र चीनले नेपालप्रति बडप्पन नपाल्न सुझाब पनि दिनुभयो ।

प्रधानमन्त्री र अध्यक्ष पदका लागि आफ्नै दलका प्रचण्ड र माधवकुमार नेपाल लागेपछि परिणाम स्वरुप प्रतिनिधिसभा विघठन भएपछि नेकपाभित्र एक अर्कालाई गलत प्रमाणित गर्न प्रयास जारी रहेकै बेला प्रधानमन्त्रीको यो अन्तरवार्ता आयो र यसले प्रचण्ड समूहलाई थप प्रतिरक्षात्मक बनायो किनकी ओलीले सर्वत्र प्रशंसा पाउनुभयो । प्रचण्डपक्षका नेता र कार्यकर्ताका टिप्पणी हेर्दा लाग्छ ओलीको लोकप्रियताबाट उहाँहरुको अस्तित्वमाथी नै प्रश्न उठ्यो र जसरी भएपनि ओलीलाई थप क्षति पुरयाउन उहाँहरु भ्रामक प्रचारको सहारामा लाग्नुभयो । त्यसैको परिणाम हो, जी र अर्को अंग्रेजी च्यानलाई दिएका अन्तरवार्तालाई सकेसम्म नकारात्मक रुपमा उचाल्नु ।

पहिलो, यो अन्तरवार्ता कुनै प्रायोजित अन्तरवार्ता होइन र प्रधानमन्त्री ओली कुनै प्रायोजित अन्तरवार्ता दिनुपर्ने तहको नेता र प्रधानमन्त्री पनि होइन् । प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रवादी भएको प्रमाणित गर्न यस्ता कुनै अन्तरवार्ताको सहारा उहाँले लिनुपदैन । उहाँले गर्नुभएको ऐतिहासिक कामले ती प्रमाणित छन् । तिनै ऐतिहासिक कामकै कारण नेपाली जनताले अहिले पनि स्वभाविक मन पराइएका नेतामा ओली पर्नु हुन्छ । प्रचण्ड माधवहरुले जतिसुकै योग्य र क्षमतावान आफुलाई प्रमाणित गर्न खोजेपनि जनताले उनीहरुलाई होचो कदकै सूचीमा राखेका छन् । त्यसैले ओलीले आफूलाई सक्षम, योग्य र सफल नेता र प्रधानमन्त्री प्रमाणित गर्न कुनैपनि देशका कुनैपनि सञ्चार माध्यमलाई बोलाएर अन्तरवार्ता दिर्नैै पदैन् ।

यही जी न्यूजले केही महिना अघि जसरी प्रधानमन्त्री ओलीको छवी धुमिल पार्नेगरी रिपोर्ट प्रसारण गरेको थियो सरकारले यसको प्रसारण नेपालमा बन्द गरेकै हो । तर पछि उसले आफ्नो गल्ती भएको भन्दै क्षमायाचना गरयो त्यसपछि नेपालका प्रधानमन्त्री ओलीसँग बारम्वार अन्तरवार्ताका लागि अनुरोध गरेपछि उहाँले यो अन्तरवार्ता दिनुभएको हो । अन्तरवार्तामा उहाँले भारतीय गलत रवैया र सोचबिरुद्ध तथ्य सहित धारणा राख्नु भएको छ । अन्तरवार्तामा कहि कतै भारतका पक्षमा बनाउन खोजेको मिडियाको लाइनलाई सहयोग पुग्नेगरी उहाँले बोल्नुभएको छैन । त्यसैले प्रायोजित अन्तरवार्ता वा ओलीको राष्ट्रियवाद उदांगियो भन्ने खालका काल्पनिक र नक्कली खालका तर्क , आरोपको कुनै अर्थ छैन ।

दोस्रो, अन्तरवार्तापछि पत्रकारले कुनै रिपोट बनाउँछ र प्रसारण गर्छन भने त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिने कुरा आउँदैन् । यो पत्रकारिताको आधाभूत मूल्य मान्यता बुझनेलाई पनि थाहा भएकै कुरा हो । अर्को कुरा सुधीर चौधरी नरेन्द्र मोदी पनि होइनन् उनले भारतीय सरकारको धारणाको प्रतिनिधित्व पनि गदैनन् । उनी एक च्यानलका कार्यकारी सम्पादक हुन र उनले धेरै गर्न सके आफ्नै सम्पादकीय नीतिको नेतृत्व गर्न सक्छन् । उनले सगरमाथाको कालापत्थरमा पुगेर, हेरेर रिपोर्ट बनाएर सगरमाथाको नाम माउन्ट एभरेष्ट नभएर राधानाथ सिक्दर राख्नुपर्छ भन्दैमा हुने पनि होइन् । फेरि नेपालले सगरमाथालाई सगरमाथाकै रुपमा बुझेको छ र नेपाललाई सगरमाथाकै देश भनेर विश्वले चिन्छन् । प्रधानमन्त्रीसँग अन्तरवार्ता लिएकै आधारमा र त्यतिकै कारण त्यसपछि अरुले गरेका रिपोटिङ्गलाई प्रधानमन्त्रीसँग जोड्नु गलत मात्रै होइन भत्सर्ना योग्य छ ।

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भोलि नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन नयाँ दिल्ली जादै हुनुहुन्छ । त्यसअघि आएको प्रधानमन्त्रीको यो अन्तरवार्ताले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग फिर्ता गर्न महत्वपूर्ण भूमिका पनि खेल्छ नै । त्यसैले प्रधानमन्त्रीको अन्तरवार्ता लिने व्यक्तिका अरु रिपोटिङ्गलाई आधार बनाएर प्रधानमन्त्रीलाई विवादमा तान्ने यस्ता प्रयासको कुनै अर्थ छैन र ती सफल पनि हुँदैनन् ।