अन्तराष्ट्रिय रुपमै नोभेम्बर २५ देखि डिसेम्बर १० (अन्तराष्ट्रिय मानव अधिकार दिवशको दिनसम्म) १६ दिने महिलाका बिरुद्धमा हुने हिंसाका बारेमा चर्चा गर्ने, यस्ता हिंसाको पहिचान गर्ने, हिंसा हुन नदिने, हिंसाका दोषिहरुलाई कार्वाहीको दायरामा ल्याउने, हिंसा बिरुद्ध कानुन निर्माणमा पहल गर्ने, भएका कानुनको कार्यन्वयन गर्न जोड दिने लगायतका काम गरेर विश्वभर महिला हिंसा बिरुद्धको अभियान चलाईन्छ । अभियान र जागरणका यी १६ दिन विशेष हुन् । यी दिनमा भएको थप उपलव्धिलाई जोगाउने, कार्यन्वयनलाई अभैm उचाइमा पु¥याउने र महिला बिरुद्ध हुने हिंसाको  अन्त्यको अभियान चलाउने गरिन्छ । 

महिला हिंसा कम गर्नलाई महिला हिंसा कसरी–कसरी भएको छ भनेर थाहा पाउनु पहिलो सर्त हो भन्ने मलाई लाग्छ । किनकि हामीले जे सुन्यौैं, जे देख्यौं, जे भोग्यौं ती सबै सामान्य लाग्छ । यस्तै होला भन्ने लाग्छ । हाम्रो समाजबाट परको अर्को समाजमा पुग्दा बल्ल थाहा हुन्छ यहाँ त यस्तो चलन पो रहेछ । यहाँका महिलाले हाम्रो समाजमा भन्दा दुःख भोगेका रहेछन् वा अभैm बढी अधिकार भोगेका रहेछन् । दुनियाँमा यस्ता एकदमै सिमित समाज छन् जहाँ महिला घर मुली, परिवारका मुली र समाजमा हर्ताकर्ता छन् । बाँकि दुनियाँमा पुरुषको बोलवाला चलेको छ । त्यसैले यो असमानता सामान्य आँखाले, सामान्य चेतनाले थाहा नपाउने भएको छ । 

महिला हिंसाको व्यापक अर्थ यो हो कि लिंगको आधारमा अर्थात महिला भएवापत यो गर्नुपर्छ, यो गर्नु हुदैन भनेर छेकवार लाउनु वा तोक्नु हिंसा हो । धर्मको आडमा, राजनीतिको आधारमा, चलन र परम्पराको आधारमा कसैलाई पनि नारी, स्त्री, छोरी, केटी, महिला, पत्नी आदिको नाममा हुने सबै कार्य महिला हिंसा हुन् । कुनै काम महिलाले विना दवाव (व्यक्ति, परिवार वा समाजको) स्वेच्छाले गर्छन भने सायद त्यो हिंसा होइन । तर त्यही काम महिला भएवापत चलन, सामाजिक प्रभाव, धर्म, परम्परा आदिका नाममा गर्न प्रत्यक्ष वा परोक्ष दवाव हुन्छ र दवावमा यस्ता कर्म गरिन्छ भने त्यो महिला हिंसा हो । जस्तै छोरी मान्छेले ढाकाको टोपी लाउनु हुदैन भनियो भने त्यो विभेद हो । छोरी भएवापत उनको कपाल लामो नै हुनुपर्छ भनियो र कपाल पाल्न वाध्य पारियो भने त्यो विभेद हो । बिवाह पछि छोरी भए वापत केटाको घर नै जानु पर्छ भन्नु विभेद हो, महिला हिंसा हो । छोरी भएवापत मेकअप नगरि हुदैन भन्नु विभेद हो । खाना बनाउने काम श्रीमतीले नै गर्नुपर्छ भन्नु महिला हिंसा हो । तर घरका काम बाढेर गर्नु, आफ्नो इच्छाले शृंगार गर्नु, इच्छाले विवाह पछि श्रीमानको घर जानु, लामो कपाल पाल्नु, मनपरेको कपडा लाउनु विभेद होइन । विवाहित नारीले यी पहिरन लाउनै पर्छ भन्नु विभेद हो । तर स्वेच्छाले लाउनु विभेद वा हिंसा मानिदैन । यी र यस्ता कैयौं फरकलाई छुट्याएर महिला हिंसा के हो के होइन भन्ने बहस अभैm लामो समयसम्म चलिनै रहने पक्का छ ।

२०३५ साल तिर कुनै विवाहित नारीले पैण्ट लगाएको देखियो भने त्यो निकै चर्चाको विषय हुने गरेको सम्झना छ । आज बयस्क नारीले सारी लाएको देख्दा चर्चा गर्नुपर्ने भएको छ । प्रकृतिले छुट्याएको फरकलाई सबैले सम्मान गर्नुपर्छ र पालना गर्नुपर्छ । जस्तै शुक्रकिट नारीले बनाउन सक्दैनन्, डिम्व पुरुषसँग हुदैन, गर्वाधारण गर्ने, बच्चा जन्माउने, स्तनपान गराउने काम पुरुषले गर्न सक्दैनन् । यी प्रकृतिले बनाएको फरक बाहेक नारीले यो गर्नुहुन्छ यो गर्नु हुदैन भनेर बनाएको सबै नियम, कानुन, धर्म, परम्परा, चलन आदि मानव निर्मित हुन् । यी विभेदपुर्ण हुँदासम्म सच्याउनु पर्छ ।

माथि चर्चा गरिएका कतिपय विभेद त आज पनि विभेद हुन जस्तो लाग्दैन । यो त यसै हुनै पर्छ नि भन्ने लाग्छ । जस्तै नारीले बिहे पछि केटाको घर नै जानु पर्छ भन्ने सबैलाई लाग्छ । किनकि बिहे गरेर केटो केटीको घरमा भित्रिन गएको सुनेको छैन, देखेको छैन, जानेको छैन । यसको पनि कुनै दिन मज्जाले छलफल हुने छ भन्ने मलाई विश्वास छ । आजलाई छलफलको विषय यो पनि हो भनेर भन्न सकेको छैन । 

अहिले त हामी छोरीले सम्पति पाउछन् कि पाउदैनन् अर्थात पाउनु हुन्छ कि हुदैन भन्ने बहस गर्न थालेका छौं । आमाको नामबाट सन्तानले नागरिकता अर्थात पहिचान पाउने कि नपाउने भन्ने बहस शुरु भएको छ । नागरिकता अर्थात पहिचान पत्रमा बाबुको नाम लेख्नै पर्ने, नभई नहुने आमाको लेख्नै नपर्ने, नलेखिने चलन पुरानो भएकै छैन । बल्ल नागरिकको पहिचान पत्रमा बाबुआमा दुवैको नाम लेख्ने चलन, कानुनी अवस्था बन्दैछ । महिलाले पैतृक सम्पति कसरी पाउने, कति पाउने वा नपाउने बारेमा घनिभुत बहस हुदैछ । कसैलाई बेतुकको बहस लाग्न सक्छ भने कसैलाई छोरीलाई अंश दिनु पर्छ भन्ने लागेको छ । 

बाबा र आमामा को ठुलो भन्ने बहस शुरु नै भएको छैन । स्वतः बाबा ठुलो हो भन्ने छ । सम्पतिको मालिक महिला पनि हुन सक्छन् भन्ने मान्यता भर्खर स्थापित हुदैछ, विस्तारित हुदैछ । छोरालाई घर बढार्ने, भुईँ पुछने सफा गर्ने, भात पकाउने, लुगा धुने, तरकारी पकाउन सिकाउने, भाँडा माभ्mने जस्ता काम सिकाउने गरेकै छैन । छोरीलाई यी सबै काम सहजै अह्राउने, गर्न लाउने, छोरीले सहनु पर्छ, प्रतिवाद गर्नु हुदैन भनेर सिकाउन छाडेकै छैन । छोरा भए ढुक्क, छोरी भए दुःख भन्ने भाव मनमनबाट अझै हटेकै छैन । एउटी छोरी भएपनि ठिकै छ तर छोरा चाहि चाहियो, चाहियोको अवस्थाबाट समाज, हामी कहाँ मुक्त हुन सकेका छौ र ? छोरीले कृया गरेको अभैm समाजले पचाउदैन होइन सामान्य मान्दैन । घरमा श्रीमती भकुर्ने भलादमी नारी दिवसमा मञ्चासन गर्नेमात्रै होइन मज्जाले महिला हिंसाका विरुद्धमा लामो भाषण ठोक्छन् । श्रीमान्को इज्जत श्रीमतीले जोगाइदिनु पर्छ । दाजुभाइको अंशका कारण झगडा हुने गरेको सुनेका छौं तर कुनै भाइलाई अंश दिनै हुदैन भनेको सुनेको छैन । तर दिदीबहिनीलाई अंश दिनु पर्छभन्दा दाजुभाइले बाबुआमासँग रोइलो गरेको देख्न थालिएको छ । माइतिले पन्छाउने घरकाले हेला गर्ने आम चलन हो । माइतिले पन्छाएको तर घरमा बस्न सक्ने वातावरण नै नभएपछि कैयौं महिलाले आत्महत्या गरेको, घर छाडेर बेपत्ता भएको अवस्था छ । दाइजो कम ल्याएको वा नल्याएको भनेर हेपिने विवाहित महिला कति हो कति छन् । कही कतै यस्तो भएको रहेनछ भने ती अति नै भाग्यमानी महिला हुन पुग्छन् । 

 दाइजो, छाउपडी, बोक्सी, एसीड प्रहार, गर्वमै हत्या, बलात्कार आदि छोरी, नारी वा आमाले मात्रै भोग्ने व्यथा र पीडा हुन् । ‘सेक्सुवल सेक्युरिटी’को माग महिलासँग मात्र गरिन्छ । उमेर पुगेकी छोरीको महिनावारी हुँदै भएन भने कति तनाव हुँदो हो बाबुआमालाई र स्वयं किशोरीलाई पनि । तर जब महिनावारी हुन्छ तब तिनै किशोरी छोरी, नातिनीमाथि शुरु हुन्छ अपमान, हेला, विभेद र गरिन्छ पुर्ण अछुतको व्यवहार । छुन नहुने, हेर्न नहुने, सँगै बस्न नहुने, छोएको खान नहुने, पोशिलो खान नहुने, हास्न नहुने, पढन नहुने, धर्मकर्म गर्न नहुने, आपैmले जोगिएर बस्नु पर्ने, सँगै बसेर खान नहुने, भान्सामा जान नहुने, के के हो के के ? यो प्रथा, चलन, धर्म जे भनौ दुनियामा सबैतिर समानरुपमा लागु हुदैन, भएको छैन । नेपालमै पनि यो छोेइछिटो गर्ने र बार्ने चलन जनजाती समुदायमा प्राय छैन । ब्रम्हाण क्षेत्री परिवारमा यसलाई कट्टरताका साथ पालना गरिन्छ, गर्न लगाइन्छ । पालना गर्ने भनेको आफ्नो घरमा मात्रै हो । बजारमा त यसको पालना हुदैन र कसैले खोज्दैन पनि । बजारमा गएर खाजा, चिया, खाना खाने बेलामा कुनै पसलमा भएकी वा टेवल शेयर गरेर बसेकी महिलालाइ के हामीले सोध्ने हिम्मत गर्छौं महिनावारी भएको छ ? कतिदिन भयो ? भनेर । तर घरमा छोरी, बुहारी, नातिनी, दिदी, बहिनी, भाउजुहरुमा अछुतको व्यवहार गर्छौैं ।

प्रशव बेदना पछि आमाले सबैभन्दा पहिला जन्मने बच्चाको लिंग हेर्ने गर्छिन् यदि होसमा छिन्भने । होसमा छैनन् भने होसमा आएपछि सोधिने र खोजिने विषय हो यो । आमालाई पनि छोरो चाहिन्छ । किनकि उनको मनमा छ मेरो सन्तानले मैले जस्तो अपमान, असमानता, अन्याय, दुखः, अभाव, हेंला मेरो सन्तानले भोग्नु नपरोस् भन्ने चाहना हो । तर सन्तान छोरी हो भने त्यो सबै नभोगि कसरी जीवन काटिन्छ र ? आमाहरुले यो देखेकै छैनन् । सुनेकै छैनन् । आमा सधै छोरा जन्माउन चाहन्छन् तर छोरीलाई बढता माया गर्छन् । किनकि आमालाई मात्रै थाहा छ छोरीले कति दुखः पाउछन् भन्ने । 

महिला हिंसाको अन्त्य गरेर समतामुलक समाज निर्माण गर्न पहिला हाम्रा दृष्टिकोणहरु सहि बनाउनु पर्छ । जे सुनियो, जे देखियो, जे जानियो, जे गरियो त्यसैको निरन्तरता भईरहने हो भने हामी सामाजिक खपतका लागि मात्रै महिला हिंसाको अन्त्यको कुरा गरिरहेका छौं । वास्तवमा हामी चलनलाई छोडनै चाहदैनौ भन्ने पुष्टि हुन्छ । बुहारीलाई छोराले घरको काम सघाउदा छोरो जोइटिंग्रे हुने तर छोरीलाई ज्वाँइले त्यही घरको काम सघाउदा ज्वाइ असल हुने हाम्रो दिमाग र सोचमा भएको विभेद बाहेक केही होइन । छोरीलाई खेल्नका लागि गुडियाँ किनिदिने र छोरालाई खेल्न पेस्तोल किनिदिने हाम्रो सोचले पनि बिभेद नै गरिरहेको हुन्छ । 

महिलाहरु यसै पनि कमजोर बनाइएको छ । अनि हिंसा कमजोर माथि बलियाले गर्ने हो । श्रीमान् भन्दा श्रीमती अलि कम पढेकी, अलि कम उमेरकी, अलि होची, अलि हैसियत कमजोर भएकी खोजिन्छ । किन ? किनकि हेप्न, कज्याउन, तहलाउन, सजिलो होस् भनेर हो । नारीको क्षमतामा हत्तपत्त विश्वास गरिदैन तर सुन्दरता हेर्ने गरिन्छ । सुन्दरता हेर्न, छुन, सुमसुम्याउन, भोग्न लोभिने पुरुष समाज महिला माथि पाइलापाइलामा यौनिक हिंसा गर्न उद्धत भएको भेटिन्छ । यस्तो हिंसाको प्रतिकार गर्ने वयस्क महिलालाई समाजले उल्टै आक्षेप लगाउने र शंकाको नजरले हेर्ने गर्छ । आँट गरेर प्रतिकार गरेमा घरपरिवार र समाजमा टिक्न मुस्किल हुन्छ । सधै आलोचनाको शिकार बन्नुपर्ने वाध्यता हुन्छ । त्यसैले धेरै जसो यौनिक हिंसा गुपचुप पारिन्छ । गुृपचुप पार्ने चलनले अपराधिको मनोवल बढने गर्छ । बढने गरेको छ । बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना उजुरी सुन्न, उजुरी लिन कडा निर्देशन दिएपछि पीडितको मनोवल बढेको छ । उजुरी लिन आलटाल गर्ने, सुनवाई नगर्ने र घटना मिलाउन, दवाउन लाग्ने जोसुकैलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्ने भनेपछि उजुरी बढेका छन् । शक्तिशाली र पहुँचवाला समेत धमाधम कानुनको दायरामा आएका छन् । 

 बिधुर विवाह लगभत अनिवार्य जस्तै मानिन्छ । तर विधवा विवाहलाई समाजले अभैm सहज मान्दैन । पत्नीको निधन हँुदा उही घरमा अर्की कुनै नारीलाई पत्नी बनाएर ल्याएको समाजले सहजै स्विकार गर्छ तर पतिको निधन भयो भने एकल भएकी महिलाले अर्को कुनै पुरुषलाई त्यही घरमा पति बनाएर राख्दा समाजले सहजै स्विाकार्ने दिन आउन अभैm कति कुर्नु पर्ने हो थाहा छैन । यस बारेमा अभैm बहस नै शुरु भएको छैन । यी र यस्ता अनगिन्ति विभेदका पर्खाल जताततै छन् तर देख्ने आँखा, दृृष्टि, चेत नै प्रष्ट भइसकेको छैन । यो अभियानले महिला हिंसाका विभिन्न रुपहरुलाई देख्ने चेतना एवं दृष्टिको विकास गर्न सहयोग गरोस् । व्यवहारमा महिला हिंसा कम हुन सकोस् । सबै आमा, दिदीबहिनी, भाउजु, छोरी, बुहारी, नातिनी अर्थात सम्पुर्ण नारीहरुले लिङ्गको आधारमा हुने विभेदको शिकार बन्ने अवस्थाको चाडै अन्त्य हुन सकोस् । शुभकामना ।