‘मदन भण्डारी, न त उनी राजा थिए न त प्रधानमन्त्री नै । तर पनि उनले बहुदलीय व्यवस्थाको तीन वर्षदेखि चाहे जीवितै होस् चाहे मृत्युपश्चात्, नेपालको राजनीतिक क्षितिजमा एक्लो आधिपत्य जमाइरहे ।’ कोलकाताबाट प्रकाशित हुने ‘दि टेलिग्राफ’ को यो टिप्पणी निकै अर्थपूर्ण छ । हुन पनि, जीवनको ४१ बर्ष पनि पूरा नगरेका, महासचिवको रुपमा ४ बर्ष पनि पार्टी नेतृत्व गर्न नभ्याएका र खुल्ला राजनीतिमा खालि ३ बर्ष मात्र बिताएका मदन भण्डारीले नेपाली समाजमा यति गहिरो हलचल ल्याइदिए, जुन अभूतपूर्व थियो । सङ्कटमा राष्ट्रलाई नयाँ मार्गदर्शन गर्न सक्ने, भीडलाई डोहो¥याउन र ‘एण्टी करेन्ट’ जान सक्ने नेतृत्वको खाँचो खट्किएको बेला आज पनि मान्छेहरु ‘मदन भण्डारी भइदिएको भए !’ भनेर याद गर्छन् ।

मदन भण्डारीले त्यस्तो कालखण्डमा नेतृत्व गरे, जतिबेला अन्तर्राष्ट्रिय आन्दोलन गहिरो सङ्कटमा थियो र नेपाली राजनीतिले नयाँ दिशा खोजिरहेको थियो । ‘केही बर्ष पहिले जब नेपाल एउटा महान ऐतिहासिक मोडबाट गुज्रिरहेको थियो–त्यतिबेला कम्युनिष्ट आन्दोलनले यस्तो सिद्धान्तकार खोजिरहेको थियो जो माक्र्सवादका सार्वभौम सच्चाइलाई नेपालको ठोस परिस्थितिमा मिलाउन सकोस्, नेपालको लोकतान्त्रिक आन्दोलनले एउटा यस्तो नेता खोजिरहेको थियो, जो सुसङ्गत लोकतन्त्रको झण्डालाई निर्भिकतापूर्वक फहराउन सकोस् र नेपाल राष्ट्रले एउटा यस्तो व्यक्तित्व खोजिरहेको थियो जो साहसपूर्वक नेपालको राष्ट्रिय हित र आकाङ्क्षाको पक्षपोषण गर्न सकोस् । कमरेड मदन भण्डारीले यी तीनवटै आवश्यकतालाई एकैचोटी पूर्ति गरेका थिए ।’ भाकपा (माले) का महासचिव विनोद मिश्रले यसरी मदन भण्डारीकोे उदय र योगदानको विश्लेषण गरेका थिए ।

सोभियत मोडल समाजवादको पतन र सोभियत सङ्घ विघटनले ल्याएको प्रतिकूल हावाले विश्व कम्युनिष्ट आन्दोलनकोे डुङ्गा धरमराएको समय थियो त्यो । फ्रान्सिस फुकुयामा जस्ता पुँजिवादी ‘थिङ्कट्याङ्क’ हरु उदारवाद नै अन्तिम सत्यका रुपमा स्थापित भइसकेकाले अब सिद्धान्तको थप अन्वेषण र प्रतिपादन गरिरहनु नपर्ने र यस अर्थमा ‘इतिहासको अन्त्य’ भएको निष्कर्ष निकाल्दै थिए । त्यस्तो बेला माक्र्सवादको दृढ पक्षपोषण गर्नु र र समाजवादको भविष्यका बारेमा विश्वास जगाउनु आवश्यक थियो । तर माक्र्सपछिको सिङ्गो शताव्दीको समिक्षा गर्दै यसलाई ‘रिभिजिट’ नगरी,  नयाँ प्र्रश्नहरुको नयाँ जवाफ नखोजी र सिद्धान्तको नयाँ विकास नगरी खालि माक्र्सवाद सही छ भन्ने मन्त्रोच्चारण र समाजवाद अवश्यंभावी छ भन्ने अमूर्त पुनरोक्तिले मात्रै सङ्कट चिरिंदैनथ्यो । नयाँ बाटोको खोजी नगरी समाजवादलाई धक्काबाट उठाउन संभव थिएन । 

यही सन्दर्भमा मदन भण्डारीले आफ्नो सिर्जनात्मकता र नेतृत्व क्षमता देखाए । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण सम्बन्धी उनको मान्यता अर्थात् जनताको बहुदलीय जनवादले वाम आन्दोलनका सामु उपस्थित धेरै प्रश्नको जवाफ दियो । माक्र्सवाद समाजलाई बुझ्ने, विश्लेषण गर्ने र रुपान्तरण गर्ने वैज्ञानिक पद्धति हो र समाजवाद जनताको मुक्तिको सपना । ‘व्यक्तिको स्वतन्त्रता नै समाजको स्वतन्त्रताको पूर्वशर्त हो’ भन्ने माक्र्स आफ्नो  युगका प्रभावकारी स्वतन्त्रता सेनानी थिए । तर समयक्रममा माक्र्सवादकै आवरणमा यति धेरै विचलन भित्रिए कि यो वैज्ञानिक सिद्धान्त र यसले कल्पेको सुन्दर समाजको तस्बीर नै विकृत बन्न पुग्यो । हिंसालाई क्रान्तिको एकमात्र साधन तथा अधिनायकत्वलाई अपरिहार्य सिद्धान्तको रुपमा अपव्याख्या गरियो । वैयक्तिक स्वातन्त्र्य र आलोचनात्मक चेतलाई नियन्त्रण गर्न खोजियो । यस्तो पृष्ठभूमिमा, समाजको शान्तिपूर्ण रुपान्तरण सम्भव छ, जनता नै परिवर्तनका मुख्य संवाहक हुन् र प्रतिष्पर्धा, मानवअधिकार, स्वतन्त्रता र विधिको शासनलाई ग्रहण गर्दैै समाजवादले पनि लोकतन्त्रलाई आत्मसात पर्छ भन्ने उनका मान्यता माक्र्सवादको ‘रेनेसाँ’ जस्तै थिए । उनले आन्दोलनका कतिपय जडता, भ्रान्ति र विकृतिसँग सम्बन्ध विच्छेद गरे । पञ्चायती तानाशाहीमाथि संयुक्त जनआन्दोलनको विजय र राजतन्त्रलाई अन्त्य गर्ने १९ दिनको शान्तिपूर्ण जनआन्दोलनको सफलताले अनुभवले मदन भण्डारीका विचारको सहीपना पुष्टि गर्छन् ।

हिंसात्मक बाटो पछ्याइरहेका वामपन्थी समूहहरुको विश्वव्यापी पराजय र शान्तिपूर्ण र लोकतान्त्रिक बाटो हिंडिरहेका वामपन्थीहरुको सफलताले मदन भण्डारीको दूरदृष्टिलाई पुष्टि गर्छन् । 

सामन्तवाद समाप्त पार्न लोकतान्त्रिक आन्दोलनका दुई धारा– ¥याडिकल वामपन्थ र उदार प्रजातन्त्रबीच एकता अपरिहार्य थियो । तर लोकतान्त्रिक आन्दोलनका ‘दुग्धविनायक स्कुल’ र ‘सारनाथ स्कुल’ को झगडामा निरङ्कुशतन्त्रको आयु लम्बिंदै गएको थियो । मदन भण्डारीले पुष्पलालको संयुक्त जनआन्दोलनको उत्तराधिकारीका रुपमा गणेशमान सिंहसँग मिलेर वाममोर्चा र काङ्ग्रेसबीच संयुक्त आन्दोलनको रेखाङ्कन  गरेका थिए । द्वन्द्वोत्तर समाजका कतिपय चुनौतीलाई व्यवस्थापन गर्नका लागि मुख्य मुख्य राष्ट्रिय प्रश्नहरुमा आन्दोलनका दुई धाराबीचको यस्तो समझदारीको सान्दर्भिकता आज पनि उत्तिकै छ । यस्तो बेला छयालीस सालपछिको स्थितिलाई व्यवस्थापन गर्न जिम्मेवार भूमिका खेल्ने मदन भण्डारीको स्मरण सान्दर्भिक हुन्छ । 

अधिकार खोसिएर रन्थनिएको राजतन्त्र र त्यसैप्रति वफादार राज्यसंयन्त्र, उर्लिएका जनआकाङ्क्षा, भर्खर खुल्ला भएका तर उग्रवामपन्थी स्कुलिङबाट दीक्षित र परिवर्तनसँग तालमेल मिलाउन नसकिरहेका कम्युनिष्टहरू अनि उग्र कम्युनिष्ट विरोधी मान्यताबाट अभिप्रेरित काङ्ग्रेसको यौटा पक्ष– त्यतिबेलाको सङ्क्रमणकाल कम अप्ठ्यारो थिएन । तर मदनका सन्तुलित विचार र कृष्णप्रसाद भट्टराईको सुझबुझले संविधान जारी गर्न र नयाँ निर्वाचन गराउन संभव बनाए । उनले गरेको संविधानको आलोचनात्मक समर्थन र त्यसमा राखेका २७ वटा आलोचनाका बुँदा कति सही, दूरगामी र अर्थपूर्ण थिए भन्ने कुरा १६ बर्षपछि पुनस्र्थापित प्रतिनिधिसभाले गरेको ऐतिहासिक घोषणाले पुष्टि गर्छ । नेपालको संविधानमा ती विषयहरुले नयाँ उचाइका साथ प्रविष्ठि पाएका छन् ।

यहाँनिर मदन भण्डारीभित्रको ‘राजनेता’ लाई देख्न सकिन्छ ।

नेपालको सन्दर्भमा ‘राष्ट्रवाद’ सधैभरि एउटा संवेदनशील मुद्दाको रुपमा रहँदै आयो र शासकहरुले यसलाई निरङ्कुश सत्ता टिकाउने अस्त्र पनि बनाए । तर मदन भण्डारीले राष्ट्रवादको सही परिभाषा गरे र ‘अन्धर्राष्ट्रवाद’ र ‘आत्मसमर्पणवाद’ बाट अलग गरेर नयाँ अन्तरवस्तुका साथ अगाडि बढाए । अमुक देशको विरोधलाई नै ‘राष्ट्रवाद’ ठान्ने सङ्कीर्णताबाट माथि उठेर उनले राष्ट्रवादलाई लोकतन्त्रको विस्तारित आयामको रुपमा, जनताको सर्वोपरि हित र समृद्धिको अभिव्यक्तिको रुपमा र राष्ट्रिय हितको संरक्षणको रुपमा अथ्र्याए । जनता अधिकारसम्पन्न र राष्ट्र समृद्ध नहुने हो भने राष्ट्रियता खोक्रो हुने उनको मान्यता आज पनि सान्दर्भिक छ ।

राजालाई श्रीपेच फुकालेर मैदानमा आउन चुनौति दिने मदन भण्डारी, राष्ट्रियताका मुद्दामा घण्टौंघण्टा सदनमा र महिनौंमहिना सडकमा सम्झौताहीन सङ्घर्ष गर्ने मदन भण्डारी, लालित्यपूर्ण, धाराप्रवाह र सम्मोहनकारी प्रवचनले जनतालाई वशीभूत पार्ने मदन भण्डारी, इतिहास, अग्रजहरु र नेपालीपनलाई अत्यन्त आदर गर्ने मदन भण्डारी, प्राञ्जल लेखनका धनी मदन भण्डारी, थोत्रो साइकल चढेर कार्यालय धाउने र निजी स्वार्थबाट निष्पृह आदर्शका प्रतीक मदन भण्डारी– उनको विचार र व्यक्तित्वका अनेकौं आयाम छन् । 

नेपाली समाजले आजसम्म हासिल गरेका उदात्त मानवीय ज्ञान र अनुभव– विदेह सभ्यताले विकास गरेका ज्ञान मिमांशादेखि वुद्धका शान्ति सन्देशसम्म, देशभक्तिपूर्ण युद्धमा जन्मिएको राष्ट्रवाददेखि राणाकालमै विकसित मानवतावादसम्म, निरङ्कुशतन्त्रविरुद्ध जन्मिएको लोकतन्त्रदेखि न्यायपूर्ण समाजको सपनाले हुर्काएको समाजवादसम्म, नेपाली समाजको वहुलवादी चरित्र, सांस्कृतिक वैविध्य र सामाजिक सद्भावको प्रतिविम्वका रुपमा रहेका विविधता र बहुलवादसम्म– यी सबैको समष्टिका रूपमा मौलिक नेपाली चिन्तन हुर्किइरहेको छ र मदन भण्डारीका विचारमा यिनको प्रतिविम्व छ । लोकतन्त्रको तर्क गर्दा राष्ट्रियता बिर्सने, शान्तिको कुरा गर्दा परिवर्तन बिर्सने र राजनीतिक स्वतन्त्रताको पक्षपोषण गरिरहँदा सामाजिक न्याय बिर्सने दृष्टिकोण एकाङ्गी छन् । मदन भण्डारीले यिनमा सन्तुलनको प्रयाश गरेका छन् ।

राजतन्त्रको समाप्तिसँगै सामन्ती र प्रतिगामी वैचारिक धार परास्त भएको छ । नवउदारवाद पनि सङ्कटमा छ र २०४७ सालको संविधानमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन गर्न नचाहने, संवैधानिक राजतन्त्रलाई अपरिहार्य ठान्ने र सीमित राजनीतिक स्वतन्त्रतालाई नै पर्याप्त ठान्दै सामाजिक–आर्थिक अधिकारलाई उपेक्षा गर्ने त्यसका मान्यता असान्दर्भिक भएका छन् । यहाँमात्र होइन, नवउदारवाद विश्वव्यापी रुपमै सङ्कटमा छ । अनि, जनताको बहुदलीय जनवादको ‘एण्टिथेसिस’ का रुपमा अगाडि सारिएको विभिन्न विचारहरु असान्दर्भिक बन्न पुगेका छन् । विचारहरु सङ्कटमा परेको र  एक्काइसौं शताव्दीमा सामाजिक परिवर्तन, शान्ति, लोकतन्त्र र समृद्धिलाई मार्गदर्शन गर्ने सिद्धान्तको खोजी या स्थापित सिद्धान्तमा नयाँ भाष्यको माग भइरहेको परिप्रेक्ष्यमा यसको खाँचो धेरै हदसम्म मदन भण्डारीका सोचहरुमा पाउन सकिन्छ । 

विगत ३० वर्षको नेपाली राजनीतिलाई मदन भण्डारीका विचारहरुले कुशलतापूर्वक मार्गदर्शन गरिरहेका छन् । चाहे राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरणको प्रसङ्गमा होस् चाहे औपचारिक प्रजातन्त्रबाट सामाजिक न्यायसहितको लोकतन्त्रमा रुपान्तरणको क्रममा होस्, मदन भण्डारीका विचारहरुको निर्णायक योगदान रहेको छ । चाहे नेपालको संविधानमा उल्लेख गरिएको ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’ भन्ने सङ्कल्पको विषय होस् चाहे आज नेपालले स्थापित गरेको अभूतपूर्व राष्ट्रिय– चेत, राष्ट्रिय स्वाभीमान र सार्वभौम निर्णय क्षमताको विकास होस्, मदन भण्डारीको मार्गदर्शनलाई हामी सहजै अनुभूत गर्न सक्छौं ।

इतिहासका धेरै उकाली ओराली छिचोल्दै र नेपाली जनताको एकीकृत कम्युनिष्ट पार्टी देख्ने उत्कट अभिलाषालाई सम्मान गर्दै गतः वर्ष नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ऐतिहासिक पार्टी एकीकरण सम्पन्न भएको छ र पुष्पलालले गठन गर्नुभएको तर बीचमा टुट्न पुगेको इतिहासको कडी जोडिन पुगेको छ । यो नेपालको सन्दर्भमा अभूतपूर्व परिघटना हो, जसले श्रमजीवी जनतालाई उत्साहित र जनताका विरोधीहरुलाई हताश बनाएको छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल प्रचण्ड बारम्बार मदन भण्डारीको स्मरण गर्दै भन्नुहुन्छ– २०५० जेठमा हामी दुईबीच महत्वपूर्ण बैठक तय गरिएको थियो । त्यतिबेला त्यो भेट संभव भएको भए सायद नेपाली कम्युनिष्ट आन्दोलनको दिशा नै बेग्लै हुने थियो । तर रहस्यमय दासढुङ्गा दुर्घटनाले त्यसलाई समाप्त पारिदियो । त्यतिबेला त्यो भेट संभव भएको भए के हुन्थ्यो होला भन्ने कुरा अब कल्पनाकै विषय मात्र रह्यो, तर कमरेड केपी ओली र कमरेड प्रचण्डको साहसिक निर्णय र पहलकदमीसँगै मदन–आश्रित स्मृति दिवसकै सन्दर्भ पारेर २०७५ साल जेठ ३ गते ऐतिहासिक पार्टी एकता भएको छ । कमरेड मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली एवं उनका विचारहरुको उच्च सम्मान व्यक्त गर्ने यो भन्दा सही तरिका अरु के हुन सक्छ ?

पार्टी एकताको ऐतिहासिक घोषणामा मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद, सङ्गठनात्मक सिद्धान्तका रुपमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्यका रुपमा समाजवाद र तात्कालिक कार्यक्रमका रुपमा जनताको जनवादलाई आत्मसात गर्ने विषयलाई पार्टी एकताका सैद्धान्तिक आधारको रुपमा आत्मसात गरिएको छ ।‘नेकपा (एमाले) ले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र नेकपा (माओवादी केन्द्र)को पनि शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता हासिल गर्ने लगायतका मान्यतामा समान धारणा रहेको’ कुरा स्पष्ट पारिएको छ । ‘प्राप्त उपलव्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निर्माण गरिने’ कार्यदिशा समेतको बारेमा उक्त सहमतिले स्पष्ट पारेको छ । 

नेकपा (एमाले) ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौं शताव्दीको जनवाद’ सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने कुरा पनि सहमतिमा उल्लेख गरिएको छ । महाधिवेशनले फैसला गर्ने कुरा आफ्नो ठाउँमा छ, तर के कुरा स्पष्ट छ भने अबको नेपाली कम्युनिष्ट आन्दोलन मदन भण्डारीले मार्गदर्शन गरेकै बाटोमा अगाडि बढ्छ ।अन्यथा बाटो लिनु भनेको आन्दोलनलाई दुर्घटनामा पु¥याउनु हो ।

मदन भण्डारीका सही र सन्तुलित विचारले मात्रै आजका राष्ट्रिय समस्याहरूको समाधान दिन सक्छ । हामीलाई सन्तुलित विचारको खाँचो छ । शान्ति र लोकतन्त्रको औपचारिक समर्थन गर्ने तर परिवर्तनप्रति अनुदार दृष्टिकोण राख्ने नवउदारवादबाट यो सङ्कटको समाधान संभव छैन । विश्वव्यापी सङ्कटमा फँसेको ‘उग्रवामपन्थ’ ले त समाधान दिन सक्ने कुरै भएन । 

हामीले मदन भण्डारीका विचारहरूलाई निश्चित दलविशेषका घेराबाट माथि उठाएर साझा राष्ट्रिय चिन्तनको रुपमा विकास गर्न सक्नुपर्छ । 
(मदन भण्डारी बौद्धिक मञ्चद्धारा बिमोचित बौद्धिक अभियान पुस्तकबाट साभार)