चितवन, २२ असोज - तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । 

पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । 

अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिनुहुन्थ्यो । उहाँले आगामी वर्ष पनि  नेपालमा आएर दशैँ मनाउने बताउनुभयो । 

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।