काठमाडौँ, १ फागुन - ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ ।

महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो ।   साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाएका थिए ।

महाशाखाले आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गर्ने र सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा लिने विश्वास लिएको छ ।