सिराहा, २८ भदौ– अस्तीसम्म ‘जातीय पहिचान’ र संविधान संशोधनलाई तराई मधेसको मुद्दा भन्दै आएका कांग्रेस, माओवादी र राजपा प्रदेश नम्बर २ को स्थानीय चुनावमा भोट माग्न आउँदा किन पहिचानको कुरा नगरेर एमालेले जस्तै त्यहाँका स्थानीय समस्या र विकासको कुरा गर्न थालेका होलान् ? यी दलका सबै उम्मेदवारले स्थानीय चुनावमा मतदातासँग मत माग्दा एमालेले जस्तै तराईको डुवान, त्यहाँका सडक, विद्यालय आदिकै कुरा गर्न थालेका छन् । 

किन उनीहरुले पहिचानको कुरा गरेनन् भने मधेसी समुदायको समस्या त्यो थिएन । त्यहाँको समस्या थियो–गरिवी, अविकास र भारतीय पक्षले बाँधेका बाँधका कारण वर्षेनी आउने डुबान । तर, कांग्रेस–माओवादी र राजपा लगायतका दलले जातीय संवेदनामा खेल्ने भारतीय स्वार्थ अनुरुप ‘पहिचान’को बबण्डर उचाल्ने र त्यहाँ विकास हुन नदिएर विकास गर्न खोज्ने पक्षलाई मधेस विरोधी प्रचार छेड्ने काम गर्दै आएका थिए । एमालेले भने आफू सरकारको नेतृत्वमा आएका बेला तराई मधेसको समस्या अविकास र गरिवी हो भन्दै हुलाकीमार्ग निर्माण थाल्ने, काठमाडौं–तराई द्रूतमार्गमा बजेट छुट्याउने, तराईका सदरमुकामको विकासका लागि ५०–५० करोड बजेट छुट्याउने र गरिव तथा विपन्नका लागि आवास बनाउन बजेट छुट्याउने काम गर्यो । एमालेको त्यो कामलाई उनीहरुले मधेस विरोधी भने र संविधान संशोधनले मधेसीको हित हुने दलिल पेश गरिरहे । तर, जव चुनावमा जानु पर्ने भयो तव भारतको स्वार्थमा तय गरेका आफ्ना एजेण्डालाई मधेसको एजेण्डा भन्न सक्ने अवस्थामा थिएनन् । त्यसैले उनीहरु एमाले विरुद्ध लगाएका सबै आरोपहरु खण्डित हुनेगरी स्थानीय समस्या समाधान गर्ने आश्वासन दिंदै भोट माग्न ब्यस्त छन् । 

एमालेले अगाडि सारेको कार्यक्रम र बजेटले तराईमा यो यो क्षेत्रमा यसरी विकास गर्न सकिन्छ भन्ने स्पष्ट खाका दिन्छ । तर, भारतले भने अनुसारको संविधान संशोधनले त्यहाँका जनतालाई के फाइदा हुन्छ ? भोट माग्न जाने क्रममा यो प्रश्न उठ्न थाल्यो । अनि कांग्रेस, माओवादी र राजपाका नेताहरुको  एमालेलाई मधेस विरोधी भन्ने स्वर सुक्न थाल्यो । सत्य कुरा सधैं सत्य नै हुन्थ्यो, भ्रम केही समयका लागि मात्रै । त्यसैले यी दलका नेताहरुले पनि भोट माग्दा पहिचान र संविधान संशोधनको रट लगाउन छोडेका छन् । 

एमालेले लिएका विकासका एजेण्डाले २ नम्बर प्रदेशका ८ जिल्लामा पनि एमालेको अग्रता स्पष्ट देखिएको छ । एमालेका विरुद्ध बाँकी सबै दलहरुले घोषित र अघोषित रुपमा गरेको तालमेल यसको प्रमाण हो । फेरि यसबीचमा एमालेले मधेशका सबै जिल्लामा घरदैलो, भेला, बैठक, साना ठूला सभा गरिरहेको छ र ती कार्यक्रमहरु मार्फत मधेसका आफूले के गरेको तथा कांग्रेस, माओवादी र राजपाले के गरेको थियो भन्ने कुरा राखिसकेको छ । 

‘जति भ्रम छर्नु पहिले छरे, तर अहिले जनताले चिनिसके । मधेशको पक्षमा काम गर्ने सक्कली पार्टी एमाले नै हो भन्ने जनताले बुझेका छन् । हामी पहिलो शक्तिका रुपमा मधेशमा उदाउदैछौ’ एमाले महोत्तरीका अध्यक्ष जामुन मण्डलले भन्नुभयो ।

प्रदेश २ का ८ वटै जिल्लामा एमाले अग्रस्थानमा रहेको र प्रतिस्पर्धीका रुपमा कांग्रेस रहेको मण्डलको भनाई थियो । ती जिल्लाहरुमा पनि अघिल्ला चरणका निर्वाचन जस्तै माओवादी निकै पछिको तेस्रो स्थानमा रहेको देखिएको छ । मधेसको प्रतिनिधि ठान्ने राजपा भने निकै पछि रहेको छ । 

मधेशीलाई झुक्याइयो– जामुन मण्डल, एमाले अध्यक्ष महोत्तरी
महोत्तरीका एमाले अध्यक्ष जामुन मण्डल विगत दिनमा मधेशी पार्टीहरुले जनतालाई पहिचानका नाममा झुक्याएको बताउनुहुन्छ । विकासमा सधैं पछाडि पार्न पहिचानका अमूर्त कुरा गर्ने र अर्कैको सेवा गर्न बनाइएका एजेण्डालाई मधेसको मुद्दा भनेका कारण उनीहरुको नियत जनताले थाहा पाएको उहाँले वताउनु भयो । महोत्तरीमा १० नगरपालिका र ५ गाउपालिकासहित १५ स्थानीय तह छन् । एमालेले ५ वटा नगरपालिका जलेश्वर, बर्दीवास, भंगाह, मन्डासिसवा कटैया र रामगोपालपुरमा अत्यधिक बहुमतका साथ सबै पदमा जित्ने मण्डलको विश्लेषण छ । त्यस्तै ३ गाउपालिका पिपरा, महोत्तरी र चम्सीमा एमालेको जित निश्चित भएको मण्डलको दावी छ । 

चुनावका बेला दलका मुद्दा सतहमा आए– राजकिशोर यादव, अध्यक्ष धनुषा
‘चुनाव नआउँदासम्म मधेसी दल भनिएका नेताहरुले आफूलाई नै मधेसको प्रतिनिधि भनेर झुठो दावी गरे र उनीहरुले आफ्नो स्वार्थ अनुसार जे जे भन्छन् त्यसैलाई मधेसको माग भने । मधेसको माग यहाँ तीब्र आर्थिक, सामाजिक विकास हो । एमालेले जे भन्दै आएको थियो, एमालेलाई गाली गरे पनि मधेसको विकासका लागि एमालेले भनेकै जस्तो बाटो हिंड्नु पर्छ भन्नेमा उनीहरु आइपुगेका छन्’ एमाले अध्यक्ष यादवले भन्नुभयो, ‘पहिचान होइन विकास यहाँको मुद्दा हो भन्ने एमालेले स्थापित गरेको छ ।’ सबैको चासो र केन्द्रविन्दु रहेको धनुषा जिल्लामा पछिल्लो दिन एमालेले पकड बलियो पार्दै लगेको यादवको भनाई छ । आन्तरिक समस्या सुल्झाई १८ वटा स्थानीय तहमध्ये अधिकमा जित हासिल गर्न लागिपरेको एमाले जिल्ला अध्यक्ष यादवले बताउनुभयो । 

धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेससँग एमालेको प्रतिस्पर्धा देखिन्छ । मिथिला, कमला, विदेह, शहिदनगर र सबैला नगरपालिकामा एमाले अग्रस्थानमा सबै सिटमा विजयी हुने यादवको दावी छ । त्यस्तै ६ वटा गाउपालिकामा मुखियापटि मुसरनीया, बटेश्वर, धनौजी र औरहीमा एमाले अघि रहेको उहाँको विश्लेषण छ ।

सिराहामा अग्रता देखाउँछौं–  प्रमोद यादव, अध्यक्ष सिरहा
राजपाका नेता, कार्यकर्ताहरु एमाले र अन्य दलमा भटाभट प्रवेश गरेकाले आफ्नो पार्टी सिराहामा सजिलै अग्रस्थानमा आउने एमाले अध्यक्ष प्रमोद यादवको दावी छ । यहाँ ८ नगरपालिका र ९ गाउपालिका गरी १७ स्थानीय तह छन् । त्यसमा ६ वटा नगरपालिकाका प्रायः सबै सिटमा एमालेले जित्ने उहाँको छ । त्यस्तै भगवानपुर, अरनवासहित ३ गाउपालिका एमालेका उम्मेदवार भारी मतले विजय हुने उहाँको आकलन छ । 

जनताको एजेण्डा विकास–गोविन्द न्यौपाने, अध्यक्ष सप्तरी
विगतमा मधेशी दलका नेताहरुले युवालाई आन्दोलनमा मात्र बरालेको, विकासको काममा चासो नदेखाएकोले त्यसको परिणाम राजपाले अहिले भोग्ने बताउनुहन्छ एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने । एमालेले १८ वटा स्थानीय तहमा १० वटामा जित्ने उहाँको दावी छ । ‘पहिले उनीहरुले अरुका विचार सुन्न दिएनन् । जनताले बल्ल थाहा पाए । एमाले मधेशविरोधी होइन रहेछ भन्ने सबैमा परेको छ’ न्यौपानेले भन्नुभयो । एमालेको सुरुंगा, खड्ग, चमुनाथ, डाक्नेश्वरी, कञ्चनरुक नगरपालिका सुरक्षित क्षेत्र रहेको र सप्तकोशी तथा राजविराजमा पनि अग्रस्थानमा रहेको उहाँको दावी छ । ९ वटा गाउपालिकामा कृष्णसौरभ, तिरहुत, विलीचपेनासहित ४ वटामा जित निश्चित रहेको उहाँको भनाई थियो ।

सबैको ध्यान एमालेतिर–  रेवती पन्त, अध्यक्ष सर्लाही
सर्लाहीमा पनि एमाले अग्रस्थानमा रहेको एमाले अध्यक्ष रेवती पन्तले वताउनुभयो । ११ नगरपालिका र ९ वटा गाउपालिका गरी २० स्थानीय तहमध्ये ११ वटामा एमालेको जित निश्चित देखिएको उहाँको भनाई छ । तराईमा एमालेको प्रष्ट नीति, विकासमा चासो र जनताबीच बढी घुलमिल भएका कारण एमालेप्रति आकर्षण बढ्दै गएको उहाँले वताउनुभयो । सर्लाहीका ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, वाग्मती, बरथहवा, कविलासी, मलंगवाजस्ता नगरपालिकामा एमाले अगाडि रहेको पर्सा, विष्णु, चन्द्रनगर, वसवरीया गाउँपालिकामा एमालेको जित निश्चित रहेको उहाँको दावी छ । राजपाका प्रभावशाली नेता तथा निर्वाचित सांसद नै एमाले प्रवेश गरेका कारण पनि एमालेलाई सजिलो भएको हो । 

मधेशविरोधी भन्ने नाराले हावा खायो– कमल राय यादव, अध्यक्ष रौतहट
रौतहटका एमाले अध्यक्ष कमल राय यादव मधेशी पार्टीहरुले एमालेविरुद्ध पहिले चलाएको मधेश विरोधी पार्टी भन्ने नारा हावा खाइसकेको बताउनुभयो । उहाँका अनुसार रौतहटका १८ वटा स्थानीय तहमा १२ वटामा एमाले अघि छ र पछिपछि कांग्रेस–माओवादी छन् ।

चन्द्रनिगाहपुर, गुजरा, बृन्दावन, गौर, गढीमाई, कटहरिया, विजयापुर, राजपुरलगायत नगरपालिकामा एमालेको पकड रहेको उहाँले वताउनुभयो । दुर्गा भगवती र जमुनामाई दुवै गाउँपालिकामा एमाले अग्रस्थानमा रहेको उहाँको दावी छ ।

जनताले कुरा बझे– सुन्दर विश्वकर्मा, अध्यक्ष बारा
बाराका १६ वटा स्थानीय तहमध्ये ९ वटामा एमाले अघि रहेको एमाले बाराका अध्यक्ष सुन्दर विश्वकर्माको दावी छ । मधेशका वास्तविक समस्यामा काम गर्न सक्ने, वेरोजगारी अन्त र युवालक्षित कार्यक्रम ल्याउने पार्टी भएकाले एमालेलाई जिताउन जनता एकजुट भएर लागेको उहाँले वताउनुभयो । बाराका जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अग्रस्थानमा रहेको निजगड, बजरौटा, सिम्रोनगौढ, महागढीमाई नगरपालिकामा एमालेका उम्मेदवारहरु प्रतिस्पर्धी कांग्रेस र माओवादी भन्दा निकै तल रहेको उहाँको मुल्यांकन छ । वारागठी, परवानीपुर, पर्सौनी, सुवर्णलगायत ५ वटा गाउँपालिकाको चुनावी परिणाम एमालेको पोल्टामा जाने उहाँ दावी गर्नुहुन्छ ।

अरुमा खैलाबैला–  प्रभु हजारा पासवान, अध्यक्ष पर्सा
पर्साको अधिक स्थानीय तहमा एमालेको जित हुने देखेपछि अन्य दलका नेताहरुमा निराशा आएको र उनीहरु राज्यशक्ति दुरुपयोग गरी चुनाव जित्ने दाउमा रहेको एमाले पर्सा अध्यक्ष प्रभु हजारा पासवानले वताउनुभयो । पर्साको १४ वटा स्थानीय तहमा कम्तीमा ९ वटामा एमालले प्रष्ट जित हासिल गर्ने उहाँको आकलन छ । बीरगञ्ज महानगरपालिका, पर्सागढी, पोखरीया नगरपालिकामा एमाले अग्रस्थानमा रहेको उहाँले वताउनुभयो । १० वटा गाउँपालिकामध्ये पटेरासुवली, सकुवापसौनी, धोवीसहित ६ वटामा एमाले अघि रहेको उहाँको दावी छ ।