काठमाडौं, २ जेठ–एमाले स्थायी समितिले पार्टी एकता अन्तिम टुंगो भोलि लगाउने निर्णय गरेको छ । बैठकपछि प्रचार सचिव योगेश भट्टराईले भोलि बैठक बसेर टुंगो लाग्ने बताउनुभएको हो ।  

श्रोतका अनुसार, पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने तयारी छ । बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि दुई दलले गरेका छन् । 

भट्टराईका अनुसार, दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ । त्यसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् भने ४३ सदस्यीय स्थायी समितिमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन् ।