विष्णुहरि त्रिपाठी

आजको युरोप बन्न ३ सय बर्ष लाग्यो । ४० बर्षमा चीन संसारको आर्थिक महाशक्तिको रुपमा अगाडी आएको छ । संसारको बिनास र समृद्धिलाई नजिकबाट देखेका नेपाली जनताको विकास प्रतिको तिव्र चाहना र इच्छालाई प्रयोग गरेर करिब २ बर्षमात्र पुगेको नेकपाको सरकारले केही गरेन् असफल भयो भन्दै प्रतिपक्षी र प्रतिगामी व्यक्तिहरु प्रचार गर्दैछन । २०६४ सालको परिवर्तनपछि अधिकांश समय सरकारमा रहेको नेपाली कांग्रेसले उद्धार अर्थतन्त्रको नाममा जसरी सरकारी उद्योग, कलकारखानाहरु निजीकरण गरिए । जसका कारण नेपालमै निर्मित भन्दा आयात गरिएका सामानमा कम कर लगाउदै देशलाई दलाल पुँजीवादको चङ्गुलमा फसाउदै लगे । ३० बर्षे पञ्चायती र त्यसपछि नेपाली कांग्रेसको सरकारले चालेको कदमले जनतामा बढ्दो बेरोजगारी, गरिबी, अशिक्षा, पछौटेपनका कारण चुलिदो असन्तुष्टिकाबीच २०५२ सालमा जनयुद्ध सुरु भयो । जसका कारण पुन एक दशक देश लथालिंग अवस्थामा रहन पुग्यो । 

२०६२÷६३ को जनआन्दोलन मार्फत सामन्तवादको नाईकेको रुपमा रहेको राजतन्त्रको अन्त्यसंगै देश पुँजीवादी चरणमा प्रवेश गर्यो । जनताको प्रत्यक्ष मतबाट बनेको संविधानसभा मार्फत जनताको सबै अधिकारहरु लिपिबद्ध गर्दै संविधान जारी भयो र आज हामीसंग दुई तिहाई बहुमत सहितको स्थिर सरकार रहेको छ । केन्द्रिकृत शासन व्यवस्थाबाट बिकेन्द्रित व्यवस्थामा देश जाँदै गर्दा शुरुवाती चरणबाटै अगाडी बढ्नुपर्ने तत्कालिन अवस्थामा एक बर्षको अवधीमा ३ सय वटा भन्दा बढी कानुनहरु निर्माण गरिएको छ । जसका कारण नयाँ संरचनालाई सुचारु बनाउन पहिलो बर्ष खर्चिनुपर्यो । 

संविधानमै समाजवाद उन्मुख देश भनेर लेखिएको छ । नेपालमा कम्युनिष्ट पार्टीले जुन सफलता प्राप्त गर्यो २१ औँ शताब्दीको सुरुवाती विश्व परिवेशमा विगतमा समाजवाद लागु भएका रसिया र चीनबाट पाठ सिक्दै नेपाली माटो सुहाउदो समाजवाद स्थापना गर्न सरकार अग्रसर हुँदैछ । दलाल पुँजीवादलाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्ने र समाजवादको आधारभुत सिदान्त भित्रपर्ने उत्पादक शक्तिको विकास, उत्पादन साधनहरुमाथी सामुहिक स्वामित्व र उत्पादन सम्बन्धबीचमा परिवर्तन गर्ने कुरालाई लागु गर्न प्रयास सुरु भएको छ । शिक्षा र स्वास्थ्यमा रहेको निजीकरणलाई अवको १० बर्षमा गैह्रनाफामुलुक बनाउनुपर्ने सरकारले पास गरेको शिक्षा र स्वास्थ्य विधेयक यसको तथ्यसहितको सत्य प्रमाण हो । 

नेपालको विकासका प्रमुख क्षेत्रहरु कृषि, पर्यटन, औद्योगिककरण कनेक्टीभिटी, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारको विकासलाई केन्द्रबिन्दुमा राखेर सरकार तिव्रताका साथ अगाडी बढिरहेको छ । आर्थिक महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण जुन ऐतिहासिक रह्यो । नेपाललाई रेल मार्फत केरुङ–काठमाडौँ जोड्ने र भारतसंग व्यापारिक कारोबारको लागि रणनीतिक कोरिडोर निर्माण गर्ने दिशामा अगाडी बढिरहदा २१ औँ शताब्दीको विश्व व्यवस्था एसियाले नेतृत्व गर्ने,त्यसमा पनि भारत र चीनले गर्ने तयारी गरिरहदा नेपाल दुई देशबीच रहनु अर्को अलौकिक सौभाग्य देखिएको छ । कृषिलाई आधुनिकिकरण गर्दै निर्भरमुखीबाट निर्यातमुखी बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका परियोजनाहरु मार्फत पकेट क्षेत्रहरु घोषणा गर्दै उत्पादन बृद्धी गर्ने दिशामा देश अगाडी बढिरहेको छ । विदेशिएका युवालाई स्वदेशमा पेशा व्यवसाय गर्ने वातावरण बनाउदा लगानीका विभिन्न मोडेलहरु लागु हुने तरखरमा रहेका छन । 
पर्यटनको अथाह सम्भावना रहेको नेपालको प्रमुख चुनौती रहेको एयर कनेक्टिभिटीलाई सरल बनाउन गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्ट निर्माणको अन्तिम चरणमा रहेको छ । यस्तै पोखरा अन्तराष्ट्रिय विमानस्थल २०२१ सम्ममा सम्पन्न हुने र अबको ५ बर्षमा निजगढ अन्तराष्ट्रिय विमानस्थल बनिसकेको घोषणा पर्यटनमन्त्री योगेश भट्टराईले गरिसक्नुभएको छ । 

२०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यसहित पर्यटन बर्ष घोषणाले देश तिव्रगतिका साथ पर्यटनको क्षेत्रमा अगाडी बढ्दैछ भन्ने आंकलन गर्न सकिन्छ । होटल व्यवसायमा बैदेशिक लगानीको बाढी पनि यसको विकासलाई संकेत गर्दछ । विश्व बैँकले निकालेको डुईङ बिजनेश ईन्डेक्समा नेपालको छलाङले बैदेशिक लगानीको अनुकुल वातावरण बन्दै गरेको देखाउछ । अबको आर्थिक बर्षमा ७.१ प्रतिशतको आर्थिक विकास जुन दक्षिण एसियामा बंगलादेश पछिको नेपाल रहने आँकलन गरिएको छ । यसबाट पनि हामी कुन अवस्थामा छौँ  ? र देश कुन दिशामा अघि बढिरहेको छ ? प्रष्ट हुन्छ ।

शिक्षा, स्वास्थ्यको क्षेत्रमा नेपालको प्रगती उत्साहजनक रहेको छ । बाच्ने उमेर ७२ बर्ष पुगिसकेको छ भने साना बालबालिकाहरु स्कुल जाने दर ९७ प्रतिशत पुगिसकेको छ । जसलाई १०० प्रतिशत पुर्याउन प्रधानमन्त्री आफैँले स्कुल भर्नाको अभियान चलाउनुभएको छ । विगतमा रहेको बिकराल लोडसेडिङ अन्त्य हुँदै २४ सै घण्टा विद्युतको पहुँचका कारण औद्योगिक क्षेत्रमा हरियाली छाएको छ । कच्चा पदार्थको आयात बढेको छ भने नयाँ उद्योग धन्दामा बैदेशिक लगानी तिव्रताका साथ अगाडी बढेको छ । ३ खर्वको लगानीमा झापामा चीन–नेपालमैत्री औद्योगिक पार्कको निर्माण शुरु भएको छ । जसको निर्माण सम्पन्न पश्चात १ लाख जनाले रोजगारी पाउने आँकलन गरिएको छ । राजस्व र कर संकलनमा सरकारले चालेका कदमहरुलाई देखाएर सरकारको छवी धुमिल्याउने प्रयास हुँदैछ । लोकतान्त्रिक देशमा जनताबाट प्राप्त राजस्व र करबाटै जनताका आधारभुत कुराहरु पुरा गर्ने र विकासलाई अगाडी बढाउनुपर्ने हुन्छ । जनताको क्षणिक आक्रोश विस्तारै जनताले प्राप्त गर्ने सेवा सुविधासंगै सम्बोधन हुँदै जानेछ । विदेशमा ५०, ६० प्रतिशत सम्म आफ्नो आयको कर तिर्ने गरिन्छ तर जनता असन्तुष्ट छैनन्, कारण प्राप्त सेवा सुविधा नै हो । 

देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्न प्रविधिलाई व्यापकता दिने प्रयास गरिदैछ भने अख्तियार दुरुपयोगलाई भने सक्रिय बनाईदैछ । हामी हरेक दिन जसो सरकारी कर्मचारीहरु रंगेहातसहित भ्रष्टाचारमा संलग्नलाई समातिरहेका छौँ । यातायात, परराष्ट्र लगयतका ठाँउमा जनताले प्राप्त गर्ने सुविधालाई सरल बनाउन “नागरिक एप” सञ्चालनमा ल्याउने तयारी हुँदैछ । जसका कारण अधिकांश सरकारी कामहरु हतमा रहेको मोवाईल मार्फत गर्न सक्ने परिस्थिती निर्माण हुँदैछ । विदेशीने युवाहरुको संख्या घट्दो क्रममा रहेको छ भने चालु चौमासिक रिपोर्टमा आयात घटेको र निर्यात बढेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारका चौतर्फी अंगहरु अब काम गर्न अग्रसर भईरहदा अहिले हुन लागिरहेको उप निर्वाचनमा नेकपालाई पुन विजय गराउन यस कारण पनि जरुरी छ की सरकारले चालेका कदमहरुलाई अझै गतिशिल ढंगले अघि बढाउन सकियोस् । निरन्तर जनताको साथ र सहयोगले पनि यो निर्वाचनमा नेकपालाई भोट गर्न आवश्यक छ । उपनिर्वाचनको विजयले गर्दा सरकारले अघि सारेका योजना जनताले अनुमोदन गरेका छन भन्ने प्रमाणित गर्दछ । लेखक नेकपाका युवा नेता हुन् ।