काठमाडौं, १६ साउन  – काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा आस्था र विश्वास नछोड्न तर भीड नगर्न आग्रह गरेको छ । 

‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरि नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । हामीले मनाउने जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो ।’ कामपा प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन । बितेर जानुभएकाहरुको आत्माको चीर शान्तिको कामना गरौं । यस बर्ष घर बाहिर निस्किने समय छैन । अवस्था मनन गरेर घरमै बिधि गरौं । बाहिर नआऔं ।’   बिहीबार सम्पन्न कामपाको  ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

उहाँले गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने बताउनुभयो । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ, उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समुदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनपर्छ ।’

कामपा उपप्रमुख उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने बतआउनुभयो । उहाँले भन्नुभयो एउटै भूगोलमा रहेका स्थानीय तहमध्ये कुनैले मनाउने, कुनैले नमनाउने निर्णय गर्नुहुँदैन ।’ 

बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि — २०७७ पनि पारित गरेको छ ।