नेता र नेतृत्वः
नेता र नेतृत्वको सर्वमान्य र एकमात्र परिभाषा पाईँदैन । यद्यपि, साधारण रुपमा यो भन्न सकिन्छ कि ‘नेता त्यो हो जसले भइरहेको अवस्थालाई उन्नत बनाउने तरिकाको बारे दृष्टिकोण राख्दछ र उसको सकारात्मक सोचलाई अरुहरुले सुन्नेछन, पत्याउने छन ।’ यसैगरि ‘नेतृत्व त्यो हो, जसले देशको र समाजको बृहत्तर हितका लागि अन्तरकृया चलाउँदछ, जो सुधारोन्मुख परिवर्तनको सम्बाहक बन्छ, जसले साधारण व्यक्तिले भन्दा बढी अरुहरुलाई प्रभाव पार्न सक्दछ र उसको कार्य क्षणिक भन्दा बढी कालजयी हुने गर्दछ ।’

समाजको बृहत्तर हितको लागि सकारात्मक सोच सहित खास दर्शनमा आधारित भइ त्यसको प्राप्तिका लागि अनवरत लागिरहने र त्यसरि लागे वापत ब्यक्तिगत फायदालाई अभिष्ट नठान्नेहरु मात्र राननीतिक नेता हुनसक्छन । प्रत्येक युगमा राजनीतिक नेताहरु जन्मन्छन र तीनले तत्कालिन समाजलाई अपिल गर्दछन । तर त्यसको मात्र नेतृत्व स्थापित हुनसक्छ जसले आफ्नो देश र समकालिन विश्वसमुदायलाई आफूतिर खैँचिन सक्दछ । अथवा नेतृत्वले समर्थक वा शुभचिन्तलाई मात्र नभएर बिरोधमा रहनेहरुलाई पनि अपिल गर्ने क्षमता राख्दछ वा बिरोधि विचार र प्रणालीलाई पनि नतमस्तक हुन वाध्य बनाउने छ ।  

राज्यको स्वरुप अनुसार चलिरहेको राजनीतिक संयन्त्रका बारेमा आलोचनात्मक चेत सहित उभिएर जनतालाई अपिल गर्ने वा चलिरहेको राजनीतिक संयन्त्रका कुनै पनि  तहमा निश्चित समयावधिसम्म रहने सबैलाई हामीले जनबोलिमा नेता भन्ने गर्दछौँ । राजनीतिक नेतृत्वमा निम्न गुणहरु अनिवार्य ठानिन्छन । ती हुनः 

१) साहस
२) श्रृजनात्मकता
३) निष्ठा (संम्पूर्णता)
४) आत्मा विश्वास
५) नमनीयता 

उल्लेखित गुणहरुको उल्लेख मात्रले धेरै विषयको बोध हुने नै छ । यहाँ ती सबैको विश्लेषण सम्भव छैन । बरु उल्लेखित गुणको आलोकमा नेकपाका नेता र तीनको नेतृत्वको विवेचना इतिहासले समयक्रममा पर्गेल्न अनिवार्य छ ।  त्यसैले सम्पूर्ण विश्लेषणको पाटो इतिहासलाई छाडेर यहाँ मात्र समकालिन घटनाको विवेचना गर्न प्रयास गरिएको छ । 

नेकपाको समस्यामा विधिको प्रयोग
‘जनताको, जनताका लागि, जनताबाट’ शासन गर्ने व्यवस्थालाई प्रजातन्त्र भनिन्छ । अझ विगत केही वर्षदेखि प्रजातन्त्रले जनतासँग सरोकार राख्ने सबै विषय क्षेत्रलाई नओटेको ठानेर प्रजातन्त्रको उन्नत रुपलाई लोकतन्त्र भन्न थालेको पाइन्छ । जनता आफैँले बनाएको कानुनको कार्यान्वयन जनता आफैँले गर्दछन र त्यस्ता कानुनहरु जनताका भलाइका लागि बनेका हुन्छन भन्ने नै लोकतन्त्रको मर्म हो । लोकतन्त्रमा विधिको सब्र्बोच्चता हुन्छ । जनतासँग सरोकार राख्ने विषयमा विधिको निर्माण अनिवार्य हुन्छ र त्यही विधि मार्फत राज्यको सञ्चालन गरिन्छ । सबै कामहरु विधिनुसार हुने हुनाले कोही पनि अन्यायमा पर्दैन, कानुनको अगाडि सबै समान हुन्छन । त्यसैले लोकतन्त्रलाई विधिको शासन (Rule of law)भनिन्छ । 

बहुदलीयताको जगमा बनेको सम्बिधानको सर्बोच्चतामा चल्ने नेकपा एक लोकतन्त्र प्रतिवद्ध दल हो । नेकपा नयाँ दलको निर्माणको प्रकृया पुरा गर्ने चरणमा छ । यो दलको निर्माण तत्कालिन एमाले र मावोवादी नेताको सुझबुझ पूर्ण निर्णयले सफल भएको हो । दुबै दलको एकीकरणको लक्ष सरकारको निर्माण र सरकार मार्फत समाजको परिवर्तन हो । लक्ष एकै तर दलका सिध्दान्तका शव्दमा मात्र भिन्नता भएका ती दुबै दलको धरातलीय यथार्थको अवस्था बुझेका नेताहरुको कारण नेकपा निर्माण भएको हो । 

दल निर्माणका बखत निर्मित दलका कमिटिमा संख्याको आधारमा प्रतिशतको समिकरण मिलाइएको भए तापनि कुनै विषयमा विवाद आएको अवस्थामा प्रतिशतको हिसाबले निर्णय लिँदा कम प्रतिशत भएको मानिएको दलका व्यक्तिले उठाएका विषयहरु सधैँ अल्पमतको शिकार नबनुन, दलको एकीकरणका कार्यमा पूर्व दलका बिचार र व्यक्तिको कारण विषयबस्तु कमजोर नहुन भन्ने कुराको हेक्का राखि दुई नेताको सहमति पछि मात्र कार्य गर्ने गरि २०७५ जेष्ठ १ गते ५ बुँदे सहमतिलाई लिपिबद्ध गरियो । सहमतिको बुँदा नं ३ ले दुबै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको आधिकारिकता मानिने गरी सहमतिलाई बाध्यकारी बनायो । दलको एकता महाधिवेशन नभएको समयसम्मको तदर्थ बेलासम्म दल एकीकरणको एक आधार विधि ‘सहमति’ लाई बनाइयो । 

विगत केही महिनादेखी नेकपामा विधिको प्रयोगको विषय पेचिलो रह्यो । विषयको संगिनतामा सहमतिको अनिवार्यतालाई विधि मान्ने वा दलको संख्यालाई भन्ने विवादले केही महिना दलमा पक्ष विपक्षको जुहारि चल्यो । आखिर दल एकीकरणको समयको बोधलाई दुबै अध्यक्षले स्विकारे पछि मान्यहुने बाटो सुझाउने कार्यक्षेत्र पाएका ६ जनाको कार्यदलले रिपोर्ट पनि बुझाइ सकेको छ । नेकपामा समस्या समाधानको आधार विधि ‘सहमति’ व्यवहारमा समेत स्थापित हुनेभएको छ । 

नेतृत्वको काविलीयताः
माथि नै उल्लेख गरियो कि नेतृत्वले समकालिन दुनियाँलाई आफूतर्फ जवरजस्त तान्ने हैसियत राख्दछ । अढाइ वर्ष अगाडि सरकार बन्यो । नेता, कर्मचारी र जनता समेत लामो समय एकात्मक शासनमा अभ्यस्त भएको देशमा संविधानले संघीय शासन स्वरुपको व्यवस्था गरेपछि त्यसको प्रारुप तयार गर्न, त्यसैनुकुल संरचना बनाउन र त्यसको कार्यान्वयन गर्नु वर्तमान नेतृत्वलाई वाध्यता थियो ।

संघीय स्वरुपका नियम कानुनको तर्जुमा र तीनको निर्माण गरि ब्यवहारमा लागु गर्नेकाममा खरो उत्रनु थियो । संघीय संरचनाको सँगसगै राज्य संचालनको खर्च बढन जाने भयो । संघीय संरचनानुसार कर्मचारीको समयमा व्यवस्थापन, समयमा बजेट घोषणा, संघीयताको कारण बढन जाने साधारण खर्चको बन्दोबस्ति यो सरकारको नेतृत्वको प्रथम दायीत्व रह्यो । संम्बिधान घोषणा पछाडि निकट छिमेकीले समेत दुःख दियो । बाँकी विश्वमा पनि नेपाल अस्थिर शासन भएको कमजोर देशको रुपमा थियो । 

यस्तोबेला आन्तरिक राजनीतिमा आशालाग्दा काम गर्दै लामो समयदेखि विश्व सामु आँखा जुधाउने गरि उठन नसकेको नेपालीपनको पुनरुत्थान समेत गर्न सकेमात्र जनतामा आशाभर्न सकिने थियो  । तर, इतिहासका विरासतको कारण सरकारकालागि सहज हुने गरिको ढुकुटी थिएन बरु घिसेपिटे सरकार चलाउन वाध्य बन्नुपर्ने अवस्थामा थियो देशको आर्थिक अवस्था । अस्थिरता नै सरकारको पर्याय थियो । ती सबै असहजतामा सरकारको नेतृत्व डगमगाएन बरु सबैलाई सहज रुपमा सामना गर्दै जनतामा आशा जागरण गराउन सरकार सफल रह्यो । 

कोभिड–१९ को विश्व कहरमा नेपाल जस्ता विकाशोन्मुख देश बढी आहात हुने नै भए । त्यस्तैमा पहाडि धरातलमा थपिदो दैवी प्रकोपको मार वर्षेनि बढदो छ । छिमेकीका मानव निर्मित संरचनाले समेत दैवी प्रकोपमा पिडा थप्ने काम गरेका छन् । यसै बीचमा सरकारका केही निर्णयको बारे दल भित्रैबाट सरकारलाई बढी नै आक्रमण भयो । हुँदा हुँदा आफ्नै दलले सरकार र दलबाट समेत नेतृत्वलाई धपाउने माग समेत भयो । तर सरकार नेतृत्व यी कुनै कुराबाट त्यति घरवराएन जस्को कारण सरकारको काममा ठूलै नकारात्मक प्रभाव परोस । बरु नेतृत्वले ती सबै कुरालाई नियमित आकष्मिकताको रुपमा लिएर परिस्थितिलाई सहज बनाउन आन्तरिक रुपमा लागि प¥यो । दलको अन्तरविरोधको व्यवस्थापन पछि परिस्थितिमा सकारात्मकता आउने आंकलन गर्न सकिन्छ ।

नेकपाको आन्तरिक राजनीतिमा नेताको ब्यवस्थापन पनि संगिन विषय बनेको छ । दलको निर्माण समयदेखी दलका खातिर जीवन दिएर लागेका नेताहरु स्वयं अभिभावक नबनेसम्म तिनको ब्यवस्थापनमा समेत ध्यान पु¥याउनु अहिलेको तदर्थ बेलाको बाध्यता झैँ भएको छ ।  दलको कार्य व्यवस्थापनको जश अपजश समेत सरकारले धान्नु पर्ने भएकाले कतिपय सहज असहज निर्णय सरकारका लागि बाध्यकारी बन्न जान्छन । यही परिस्थिति बर्तमान सरकारले पनि धानेको बुझ्न सजिलै सकिन्छ । समयको पदचापलाई चिनेर चल्नु नेतृत्वको काविलीयत भएकोले सोनुसार कार्य अगाडि बढाउन वर्तमान नेतृत्वले सोचेको देखिन्छ । 

दलको अपेक्षित भूमिका र भविष्य:
सरकार सञ्चालक दल नेकपाले यो ५ वर्षे अवधिमा जनतामा आशा विश्वास जगाउन सक्नुपर्दछ । बिगत लामो समयदेखीको अस्थिरताको पर्याय राजनीतिलाई स्थिरताको आधार दिएर स्थिर सरकार भएमा देश विकासका कार्यमा तिब्रता आउने र नेपालीपन विश्वसामु स्थापित हुनेछ भन्ने कुरा नेपाली जनताले अनुभुत गर्न पाउनु पर्दछ । कोभिडले थिलथिल्याएको आर्थिक प्रणालिलाई समेटेर आशा जगाउन र जनताको जीवनको रक्षक सरकार हो भन्ने अनुभुत गराउन सरकारले सचेत प्रयत्न गरेको हो भन्ने आभाष जनताले गर्न पाउनु पर्दछ । यसको लागि भ्रष्टाचारमा सुन्य सहनशिलता र कार्यमा लगनको आवश्यकता अनिवार्य सर्त हुन । कहिँ कतै नियत वा कार्यमा अनिमियता भएको भए कानुनको शासनको अनुभूति गर्न जनताले पाउनु पर्दछ । कानुनत कार्यवाहिको दायरामा जो कोहीलाई ल्याउनु पर्दछ । यसको लागि दलले सरकारलाई सघाउनु पर्दछ । यो वा त्यो को आवाजबाट भ्रष्टाचारी बचाउको कार्य हुने वातावरणको अन्त्य गर्न दलको सरकारलाई पूर्ण सहयोग हुनु पर्दछ । 

वर्तमानको संकटापन्न अवस्थामा जनताले भोग्नु परेको मारमा रातोदिन खटेर एकाकार भएपनि सरकारको आलोचनालाई राजनीतिक अभिष्ट ठानेर स्वार्थका रोटी सेक्नेले सरकारलाई जश नदिने गरेको वर्तमान परिस्थितिको परिवर्तन गर्न सक्नु पर्दछ । सरकारका राम्रा कार्यलाई समर्थन गर्नको सट्टा भित्रि बाहिरी स्वार्थको आग्रह मार्फत जनताको इच्छा चाहानाको पारो बढाइदिएर वा अन्य नकारात्मकता फैलाउन लागि परेका इतर शक्तिको लक्षलाई परास्त गर्न दलको एकाकार निर्णय आवश्यक छ । यसका लागि दलको वर्तमानको विवाद समाधानको सुत्रलाई पटके समाधानको सुत्र नबनाएर निश्चित समयसम्मको समष्या समाधानको आधार बनाउनु पर्दछ । तब मात्र आगामि निर्वाचनमा जनता समक्ष जान नेकपाको लागि सहज हुनेछ । आगामि दिनमा नेकपाको शासनको ईच्छा राख्ने नेताले परिस्थितिको आंकलन साथ चाहानालाई मूर्तरुप दिन सक्नुपर्दछ ।  

यदि त्यसो गर्न सकिएन र फेरि पनि विवादको तिललाई हिजो झैँ पहाड बनाउने कार्य यथावत रह्यो भने नेकपाको मिलन सपनाको सुखानुभूति मात्र हुनेछ । ईच्छा सिमित भएर एक अर्कालाई गर्ने आलोचनाकोे कार्यले यदुवंशीय ताडको काठको काम गर्नेमा संका रहन्न । यसैले एकताको महाधिवेशनसम्म अहिलेको मिलनलाई कायम राख्नुमा नै दल नेता र कार्यकर्ताको सुविचार्य कर्म हुनेछ । हैन फेरि पनि कसैको रिसले कसैको नाक काटन उठने हो भने नयो सरकारलाई एकाकार दलले घोक्रेठ्याक लगाउन सक्छ, न आगामि निर्वाचनमा दलले मत माग्ने भावभूमि नै बाँकी रहने छ । बाँकि रहन्छ त सिर्फ पश्चाताप । 

त्यसैले विगत केही दिनबाट नेकपाको विवादले समाधान पाएको मा त्यसमाथि आफ्नो भावनाको स्पष्टताको नाममा फेरि पनि कहीँ कतैबाट आलोचना, प्रत्यालोचना वा नकारात्मक टिप्पणी गर्ने कार्य सार्वजनिक रुपमा नहोस भन्नेबारे दलका नेता र कार्यकर्ताको सचेतनताको सख्त खाँचो छ, हुनेछ।यसको बारे सम्वन्धित सबैले सचेतहुनु आजको आवश्यकता हो । सबैमा चेतना भया !