काठमाडौं, २ वैशाख– संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय भएको बताउनुभएको छ । उहाँले कतै नअलमलिई कर्मचारीलाई काममा मन फर्कन पनि आग्रह गर्नुभयो ।  

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताउनुभएको हो । 

‘अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको छ । खटाइएको ठाउँमा जानै पर्छ । काम गर्नतिर मन फर्काउनुस् । नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्’ पण्डितले भन्नुभयो । 

उहाँले १५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनका लागि आवेदन दिने मौका दिइने जानकारी दिनुभयो । निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उनले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताए ।

‘बढी सेवा सुविधा पाइन्छ भन्ने आशमा नबसे हुन्छ । स्वेच्छिक अवकाशले व्यक्तिलाई फाइदा होला, तर देशलाई हुँदैन । देशमा धेरै काम गर्नुपर्ने समय छ’ पण्डितले भने ।