काठमाडौं,८ माघ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । 

भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप आज अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको  छ  । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नुहुनेछ  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुधबार आयोजित सयुक्त पत्रकार सम्मेलनमा भारतले  नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो । 

मन्त्रालयका अनुसार आज बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई यो खोप दिइनेछ ।