काठमाडौं, २८ जेठ - राजधानीको सडकमा गुड्ने अधिकांश डिजेल इन्जिनका सवारीसाधन वातावरणीय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । 
यातायात व्यवस्था विभागको सवारी परीक्षण केन्द्र, वातावरण विभाग र ट्राफिक प्रहरीले गरेको संयुतm सवारी अनुगमनबाट अधिकांश डिजेल इञ्जिनको सवारी मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो । 

तीनवटै निकायको संयुतm टोलीले राजधानीको विभिन्न स्थानमा नियमित परीक्षण गर्दै आएको छ । आइतबार थापाथलीमा अपराह्न दुई घण्टामा जीप, कार, बस गरी ३२ वटा सवारीसाधनको निरीक्षण गरिएको थियो । “निरीक्षणको क्रममा २७ वटा सवारीसाधनले वातावरणीय मापदण्ड पूरा गरेको पाइएन,” वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भन्नुभयो । 

संयुतm परीक्षण टोलीले २६ वटा डिजेल इन्जिनमा परीक्षण गरेको थियो । त्यसमा २४ वटामा मापदण्डभन्दा बढी धुवाँको मात्रा पाइएको थियो भने छ वटा पेट्रोल इन्जिन भएको सवारी परीक्षण गर्दा तीनवटा असफल भएको परीक्षण केन्द्रका रामेश्वर कट्टेलले जानकारी दिनुभयो । परीक्षणको क्रममा हालसालै परीक्षण केन्द्रबाट हरियो स्टिकर पाएका सवारीसाधनले पनि वातावरणीय मापदण्ड पुरा गर्न सकेनन् । 

सवारी परीक्षण केन्द्रका प्राविधिक इन्द्रदेव ठाकुरले वातावरणीय मापदण्ड अनुसार डिजेल इन्जिनमा सवारीले फाल्ने धुवाँमा ‘स्विट पार्टिकल्स’को ‘ओपासिटी’ अर्थात् धुवाको घनत्व ६५ प्रतिशत हुनुर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्विट पार्टिकल्स’को मात्रा बढी भए धुवाँको घनत्व बढ्न जान्छ । त्यस्तो सवारीमा ‘स्मोक एनालाइजर’ जडान गर्दा ‘ओपासिटि’ बढ्न जान्छ ।” 

‘ओपासिटी’ बढी हुने सवारीले कालो धुवाँ बढी फाल्छ । विभागका ‘केमिकल एनालिस्ट’ केशव पौडेलका अनुसार कार्बन मनोक्साइडको मात्रा बढी भए मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्नुका साथै वातावरणमा प्रदूषणको मात्रा पनि बढाउँछ । 

परीक्षण गरिएको २६ वटामध्ये २४ वटै सवारीको ‘ओपासिटी’ ७४ देखि ९९.९ प्रतिशतसम्म रहेको पाइएको छ । सवारी प्रदूषण मापन गर्ने यन्त्र ‘स्मोक एनालाइजर’ले अधिकत्तम एकसय सम्मको ‘ओपासिटी’ रेकर्ड गर्छ । “बाहिरबाट आकर्षक र नयाँ देखिएको पजेरो र टकसन मोडेलको गाडीमा पनि वातावरणिय प्रदूषण मापन गर्ने ‘स्मोक एनालाइजर’को प्रयोग गर्दा कार्बन बढी उत्सर्जन गरेको पाइयो” वातावरण विभागका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागको आव २०७४÷७५ को तथ्याङ्क बमोजिम राजधानीमा चार पाङ्ग्रे सवारीसाधनको संख्या करीब एक लाख ५० हजार छ । जसमध्ये पचास प्रतिशतभन्दा बढी डिजल इन्जिन भएका सवारी छन् । 

अनुगमनमा रहनुभएका ट्राफिक प्रहरी निरीक्षक विमला कठायत भने प्रदूषण गर्ने सवारीको संख्यामा कमी आएको दाबी गर्नुहुन्छ । उहाँले पुरानो सवारीसाधनलाई नै लक्षित गरी निरीक्षण गरिएकोले ९० प्रतिशत सवारीसाधन असफल भएको बताउनुभयो । 

निरीक्षणमा वातावरणीय मापदण्ड विपरीत चलाइएको सवारीसाधनलाई एक हजार जरिवाना र वर्कशपबाट सवारी परीक्षण गराई हरियो स्टिकर लिन लगाइने प्रहरी निरीक्षक कठायतले बताउनुभयो ।

पेट्रोल इन्जिन हुने पुरानो गाडीमा हाइड्रोकार्बन र कार्बन मोनोक्साइडको मात्रा बढी देखिए पनि नयाँ सवारी भने मापदण्डमा खरो उत्रियो । पेट्रोल इन्जिनले उत्सर्जन गर्ने धुवाँमा हाइड्रोकार्बनको मात्रा एक हजार भन्दा कम र कार्बनमोनोक्साइडको मात्रा तीन प्रतिशतभन्दा कम हुनुपर्ने विभागले मापदण्ड तय गरेको छ ।

साभार : गोरखापत्र