काठमाडौं,३ माघ– चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँबाट आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । केहीवर्ष पहिले महामारीको रूपमा फैलिएको सार्समा जस्तै लक्षण देखिने कोरोना भाइरस चीनको वुहानमा भेटिएपछि नेपाली नागरिकमा पनि त्यसको संक्रमण फैलिएको हुनसक्ने आशंकाले उक्त परिक्षण गरिएको हो। 

वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले बताउनुभयो । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई जनवरी १३ देखि भर्ना गरिएको हो ।

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

चीनको वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरस जापान र थाइल्याण्डमा पनि देखा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दुवै देशले वुहानको भ्रमण गरेर फर्किएका आफ्ना नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको बताएका छन्। 

चीनको वुहानमा ७० जनाजति नेपाली विद्यार्थी बसोबास गर्छन ।  अधिकांश विद्यार्थी स्नातकोत्तर र विद्यावारिधि अध्ययनका लागि त्यहा पुग्ने गर्दछन् ।