काठमाडौं, २८ माघ– अढाई वर्षअघि नेपाल र भारतबीच नेपालले भारतसँग विशाखापट्टनम बन्दरगाहलाई प्रयोग गर्ने सम्झौता भएपछि आन्ध्रप्रदेशस्थित विशाखापट्टनम बन्दरगाहलाई नेपाली व्यवसायीले प्रयोग गर्ने क्रम बढ्न थालेको छ । नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्न विशाखापट्टनम बन्दरगाह प्रयोग गर्ने सम्झौता तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको थियो । 

साना जहाज मात्रै चल्ने कलकत्ता बन्दरगाहमै निर्भर रहेको नेपाललाई तत्कालीन प्रधानमन्त्री ओलीले भारत भ्रमणमा गएका बेला विशाखापट्टनमसम्म जाने हक स्थापित गरेका थिए । 

विशाखापट्टनम बन्दरगाह नेपालले प्रयोग गर्न पाउने भएपछि नेपाली ब्यवसायी हरुले उक्त बन्दरगाहबाट सामान भित्र्याउने क्रम बढ्न थालेको हो । दिल्लीस्थित नेपाली दूतावासको तथ्यांकअनुसार गत जनवरी महिनामा मात्र एक सय सात कम्पनीले सो बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेका थिए । 

एक कम्पनीले औसतमा ४० कन्टेनर ल्याउने गर्छन् । दिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर इकोनोमिक कृष्णहरि पुष्करका अनुसार पछिल्लो केही महिनायता कोलकाता बन्दरगाह मार्फत हुने आयात विशाखापट्टनमतर्फ सरेको छ । हाल दूतावासले नै सो बन्दरगाहको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको छ । सुरुका केही महिनामा सो बन्दरगाह प्रयोगमा नेपाली व्यापारीहरू उदासीन देखिएका थिए ।

विशाखापट्टनम बन्दरगाहको सबै कारोबार अनलाइनको माध्यमले नै हुने गरेको छ । तर सरकारी कार्यालयहरू प्रविधिमैत्री नहुँदा समस्या हुने गरेको सरकारी अधिकारीको गुनासो रहेको छ । यति मात्र होइन, दिल्लीस्थित नेपाली दूतावासमा सोही प्रयोजनका लागि पर्याप्त जनशक्तिको पनि अभाव छ । केही साताअघि दिल्ली जाँदा परराष्ट्र सचिव शंकरदास बैरागीले छिट्टै आवश्यक जनशक्ति व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

कामको चाप बढदै गएपछि विशाखापट्टनममा महावाणिज्य दूतावास स्थापनाको अनुमतिका लागि नेपालले भारतसँग औपचारिक आग्रह गरिसकेको छ । भारतीय विदेश मन्त्रालयमा करिब २ महिनाअघि आग्रह गरिएको थियो । अधिकारीहरूका अनुसार भारत सरकारले आग्रह गर्नेबित्तिकै त्यहाँ कार्यालय स्थापना गर्ने प्रक्रिया सुरु हुनेछ । उक्त बन्दरगाहमा कार्यालय नहँुदा व्यापारीहरूले केही कठिनाइ तथा प्राविधिक समस्याहरू झेलिरहेका छन् । अहिले दिल्लीस्थित नेपाली दूतावासले नै सो बन्दरगाह हेरिरहेको छ । कन्सुलेट कार्यालय आवश्यक छ–छैन भन्ने विषयमा एक वर्षपहिला एक सरकारी टोलीले नै अध्ययन थालेको थियो ।



विशाखापट्टनमका उच्च अधिकारीहरूले यो बन्दरगाहका फाइदाहरूको नेपालका व्यापारीहरूलाई पर्याप्त जानकारी गराउन वाणिज्य मन्त्रालयलाई आग्रह गरिरहेको छ । नेपालका व्यापारीले किन यो बन्दरगाह कम प्रयोग गरिरहेका छन् भनी बन्दरगाहका अधिकारीहरूले बुझ्नसमेत चाहिरहेका छन् ।

अहिले नेपालले प्रयोग गरिरहेको कोलकाता बन्दरगाहभन्दा ७५० किलोमिटर टाढा रहे पनि ठूला जहाजबाट ल्याएका सामानको नेपाली वजारमा सस्तोमा भित्रिने कारणले विशाखापट्टनम बन्दरगाह नेपालका लागि उपयोगी हुनेछ । सबै काम अलनाइन मार्फत नै हुने भएकाले कोलकाता बन्दरगाहभन्दा यो वढी उपयोगी हुनेछ ।