काठमाडौं, २१ मंसिर, अहिले ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारीे छ । बिहान ७ बजे शुरुभएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।  
पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो । ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 
यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा अपिल गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् । आज सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने आयोगले जनाएको छ । 
पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने प्रमुख आयुक्त डा। अयोधी प्रसाद यादवले अनुमान गरे ।
दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।