रत्ननगर, १ चैत - नेपाल पर्यटन वर्ष सन् २०२० लाई लक्ष्य गरी रामबेल सामुदायिक वन भरतपुरले ‘राइनो ताल’ मा काठे डुङ्गा सञ्चालनमा ल्याएको छ । सामुदायिक वनले सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्षलाई सफल बनाउन प्रयोगविहीन रहेका पाँच वटा डुङ्गालाई मर्मत गरी पुन सञ्चालनमा ल्याएको हो । 

डुङ्गालाई जस्तापाताले बाहिरबाट ढाकेर, रङ लगाएर र पुराना काठलाई परिवर्तन गरी मर्मत गरिएको छ । तालले जिल्लामा नै पहिलोपटक तालमा डुङ्गा सयर गराउने काम शुरु गरेको सामुदायिक वनको भनाइ छ । 

गत वर्ष तालमा पानी बढी भएर बाँध फुटेसँगै १४ वर्षदेखि सञ्चालनमा रहेका डुङ्गा प्रयोगविहीन भएका थिए । रामबेल सामुदायिक वनका अध्यक्ष वेदबहादुर थापाका अनुसार पर्यटकको सङ्ख्यालाई वृद्धि गर्न फुटेको बाँध र डुङ्गालाई मर्मत गरी डुङ्गालाई पुनः सञ्चालनमा ल्याइएको हो । 

चितवनको भरतपुर महानगरपालिका–१२ मा अवस्थित तालमा गैँडा सहजै देख्न सकिने भएकाले तालको नाम ‘राइनो ताल’ राखिएको वनका अध्यक्ष थापाले बताउनुभयो । ‘राइनो ताल चितवनको पुरानो ताल हो, उहाँले भन्नुभयो, “राजमार्गबाट सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटकको चाप राम्रो छ । भरतपुर बजारबाट सबैभन्दा नजिकै यही तालबाट गैँडा हेर्न मिल्छ ।” 

ताललाई व्यवस्थित गर्न प्रदेश सरकारबाट रु २५ लाख विनियोजन हुन लागेको अध्यक्ष थापाले जानकारी दिनुभयो । विनियोजित बजेटबाट तालमा भ्यू टावर, विश्रामस्थल, शौचालय र खानेपानीको धारा निर्माण गरिने उहाँको भनाइ छ । तालमा डेढ घण्टा डुङ्गा सयर गर्न रु २०० शुल्क तोकिएको छ । 

वन कार्यालयका सचिव मोहन शाहीले विदेशी पर्यटक नगन्य मात्रामा आए पनि चितवनलगायत अन्य जिल्लाबाट आन्तरिक पर्यटकको आवागमन राम्रो भएको बताउनुभयो । उहाँले दैनिक २०० देखि ३०० जना तालमा घुम्न आउने जानकारी दिनुभयो । वरण्डाभार क्षेत्रमा पर्ने ताल १५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । तालमा गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु सहजै हेर्न पाइन्छ । तालमा पर्यटक साइकल, इन्धनबाट चल्ने गाडी र पैदलबाट पनि पुग्ने गरेका छन् । 

पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लामा हुने गोष्ठी, एक्स्पोमा आउने सहभागीलाई दुईदेखि तीन घण्टाको ‘टुर प्याकेज’ मा सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य ‘राइनो ताल’ मा घुमाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । 

तालमा गैँडा सजिलै पाइने भएकाले यसबाट सुरक्षित भई घुम्न साना विद्युतीय गाडीको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । ताललाई थप व्यवस्थित गर्न सरसफाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । चितवनको ५० वटा पर्यटकीय गन्तव्यमा यस ताल अग्रणि स्थानमा परेको छ । 

(रासस)