काठमाडौं १६ मंसिर – वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ ।
प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने छन् । यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग वल्र्डलिंकले सहकार्य गरेको छ ।
काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।
यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निःशुल्क वाइफाइ उपलब्ध हुनेछ ।
वल्र्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । यसले नेपालका दुर्गम जिल्लाहरुमा समेत निःशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ ।
हरेक एक लाख प्रयोगकर्ताले छ हजार स्थानबाट निःशुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वल्र्डलिंकले दुर्गममा निःशुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।