२०७४ सालमा सम्पन्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचन पश्चात् नेकपा सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश स्थानहरूमा सरकार सञ्चालन गरिराखेको छ । विगतका दुई ठुला कम्युनिष्ट पार्टीको एकतापछि नेपालमा मौजुदा राजनीतिक दल मध्ये ठुलो दल पनि नेकपा नै हो । नेपालको संविधान २०७२ को कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने जिम्मा पाएको नेतृत्वपंक्ति पद लोलुप्ता र आन्तरिक शक्ति आर्जन गर्ने खेलमा लाग्दा अहिले पार्टी कुइरोको काग हुन पुगेको छ । 

नेकपा पार्टी एकताको संक्रमण कालमा भए पनि नेकपाको अन्तरिम विधान २०७५ ले सबै तहका नेता तथा कार्यक्रताहरुलाई परिभाषित जिम्मेवारीको जिम्मा दिएकै छ । तर नेकपाका शीर्ष तहका नेतृत्वबाटै विधान भन्दा बाहिर हुने अतिरिक्त चलखेलले आम कार्यक्रतापंत्तिमा निराशा पैदा हुँदै आएको छ । आफ्नै पार्टीको सरकार विरुद्ध जबरजस्त हमलाका निम्ति रणनीति बनाउनुमै नेताहरूको दिनचर्या बित्ने गरेको छ । नेकपाका शीर्ष नेताहरूका अवाञ्छित क्रियाकलापका कारण अहिले नेकपा सबैतिर छ कहिपनि छैन भने जस्तै अस्तव्यस्त बन्न पुगेको छ । पार्टी एकताले पूर्णता पाउन सकेको छैन । 

भाद्र १४ गते सम्पन्न स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन हुन नपाउँदै विवाद सिर्जना भएको छ । जुन विवादले पार्टी वार र पारको स्थितिमा पुगेको अवस्था छ । आफु गाई नदुहुने अर्कोले दोहेको पोखिदिने प्रवृत्तिका कारण पार्टी एकता धरापमा पर्न लागेको कुरा जगजाहेर छ । पार्टी एकतालाई पूर्णता दिने, जनतालाई सम्वृद्धिको यात्रामा कसरी जोड्ने र कोभिड जस्तो महामारीसँग पार्टीपंक्तिलाइ कसरी परिचालन गर्ने भन्ने विषयहरू नेताहरूका कोठा भेलामा कहिल्यै प्राथमिकता पाएनन् । बरु उल्टै सरकार र पहिलो अध्यक्षलाई कसरी कुन घटनामा कमजोर बनाउन सकिन्छ र पार्टी भित्र कसरी हाबी हुन सकिन्छ भन्ने खेल सरकार गठन भएको केही दिन नबित्दै सुरु भएको थियो, जुन अहिले आएर छरपस्ट भएको छ । 

आरोप पत्र पछाडिको पृष्ठभूमि
विगत चौतिस वर्षदेखि विभिन्न पार्टी भत्काउँदै निमार्ण गदै मूल नेतृत्वमा बस्दै आएका कमरेड प्रचण्डको बानी एक प्रकारको नसा भइसकेको थियो । पछिल्ला दिनहरूमा तत्कालीन नेकपा माओवादी केन्द्र खुम्चिँदै आइरहेको थियो । त्यही बेला स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सँगको चुनावी सहकार्य गर्दा समेत तत्कालीन माओवादी केन्द्रको पक्षमा राम्रो परिणाम आउन सकेन । परिणाम  तत्कालीन माके पार्टीबाट मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त हुने कुरा सम्भव देखिन छाड्यो । सङ्घ, प्रदेशको निवार्चनमा एक्लै जाँदा दुई चार जना बाहेक अरूको सम्भावना कम देखिएपछि तत्कालीन एमाले सँगको चुनावी सहकार्य रहर नभै बाध्यता नै बन्यो र सहकार्य सम्भव हुँदै गठबन्धनलाई निवार्चनमा सफलता प्राप्त भयो ।

कमरेड केपी शर्मा ओलीको राष्ट्रवादी छवि,नेकपा एमालेको सुसङ्गठित सङ्गठनका साथै कमरेड ओलीको कमजोर स्वास्थ्य अवस्थाबाट लोभिएका कमरेड प्रचण्डको महत्वकाक्षा पार्टी एकतामा रुपान्त्ररण भयो । तर कमरेड प्रचण्डका निम्ति तत्काल नेतृत्वमा पुग्ने स्थिति र परिस्थिति दुवै थिएनन् । परिणाम पार्टी एकता हुँदा भविष्यमा आफु सुरक्षित हुने विभिन्न प्रस्तावहरू अगाडी आउन थाले र गोप्यरुपमा गरिएको अडाई बर्से कार्यकालको सम्झौता पश्चात् मात्र पार्टी एकताले औपचारिकता पाएको थियो । त्यो सम्झौता कमरेड केपी ओलीसँग र्बागेनिङ्गगका लागी मात्र थिएन त्यो सम्झौता जब प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर हुन्छ त्यो बेला तत्कालीन नेकपा एमालेका अन्य नेताहरूलाई देखाउनका निम्ति गरिएको एक बठ्याइपनि थियो । 

अरूलाई कमजोर नबनाई आफु बलियो भैइदैन भन्ने मान्यता राखेका नेताहरूको पङ्क्ति तत्कालीन एमालेमा ठुलै थियो । जुन पङ्क्ति कमरेड ओलीका तिल जत्रा गल्तीहरूलाई पहाड बनाउँदै बहसमा उत्रन्थ्यो । टुटफुट र विभाजनको पिडामा रहेको नेपालको कम्युनिष्ट आन्दोलन कमरेड केपीको नेतृत्वमा एकीकरण हुन लागेको कुरा समकक्षी नेताहरूलाई चित बुझेको थिएन र केपी नायक बन्दा आफु खलनायक भइन्छ कि भन्ने त्रासबाट ग्रसित व्यक्तिहरूको मानसिकताको एकता नै अहिले विवादको मुख्य कारण बनेको छ । 

 व्यक्तित्वको फोबिया
सत्यसँग नलड्ने र असत्यसँग नझुक्ने दृढ सङ्कल्प बोक्दै लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति चौध बर्ष जेल जीवन यापन गरी सकेका प्रधानमन्त्रीका निम्ति अहिलेको जीवन नाफाको हो । पारिवारिक हिसाबले पनि कसैलाई केही गर्न पर्ने छैन जे गरे पनि देश र जनताका निम्ति गर्न पर्ने छ । लामो समय देश र जनताका निम्ति सङ्घर्ष गरेका कारण ठुलो पार्टीको अध्यक्ष र देशको दुई पटक प्रधानमन्त्री हुने अवसर प्राप्त भइसकेको छ । 

कुनै लोभ पाप नभएकाले जत्ति सकिन्छ देश जनताका निम्ति निस्वार्थ गर्ने हुटहुटी नै वर्तमान प्रधानमन्त्रीको सम्पत्तिको रूपमा रहेको छ । कमजोर स्वास्थ्य अवस्था हुँदाहुँदै दृढ इच्छा शक्तिका कारण गरिएका कामको परिणामले कमजोर धरातलमा उभिएर बहस गर्नेहरू विगतदेखि परास्त हुँदै आइरहेका छन् । पछिल्ला दिनहरूमा कमरेड केपी ओलीले पार्टी नेतृत्व लिन द्रोसो पुस्तालाई आव्हान गरेको विषयदेखि स्वाभिमानको लडाइमा राष्ट्रलाई एकताबद्ध गर्न सफल भएको विषयले पार्टी भित्र फरक मत राख्ने हुन वा देशी, विदेशी विरोधी शक्तिहरू हुन तिनीहरूको कद छोटो भएको छ । 

सिंहदरबारका भित्ता धेरै सङ्ख्यामा प्रधानमन्त्रीका तस्बिर भए पनि ती मध्ये स्वर्गीय प्रधानमन्त्री बिपी कोइराला,मनमोहन अधिकारीपछि वर्तमान प्रधानमन्त्री केपी ओली नै जनताको मनमा बस्न सफल नाम हो । विगत देखिएका कमरेड केपीसँग गरिएका लडाइहरूको अध्ययन गर्दा लडाइ गर्नेहरू कम्युनिष्ट आन्दोलनबाटै स्खलित भएको इतिहास छ । 

अहिले नेकपा भित्र जारी विवाद पनि न कुनै सैद्धान्तिक छ न कुनै वैचारिक छ न केहीले खपतका निम्ति भने जस्तै विधि र पद्धतिको छ । यो बहस मात्र वर्तमान प्रधानमन्त्रीको व्यक्तित्व प्रति कुण्ठा र इष्यामा केन्द्रित छ । वास्तवमा अहिले नेकपा भित्रको बहस पहिलो अध्यक्षको व्यक्तित्वको फोबिया हो । जुन रोगको उपचार पार्टी सङ्गठनबाट सम्भव छैन । 

सानैदेखि लागेको बानी आरोप पत्र
नेकपाका द्रोसो अध्यक्ष कमरेड प्रचण्ड आफैले बेला बेला भनेको सुनिन्छ म अस्थिर स्वभावको मान्छे हु, यो कुरामा कमरेड प्रचण्डले ढाटेको देखिन्न । तत्कालीन नेकपा मशाल विभाजन भयो र २०४१ सालमा पाँचौँ महाधिवेशन गर्‍यो । महाधिवेशनमा मोहन विक्रम सिंहको राजनीतिक कार्यदिशा पास गर्‍यो । तर प्रचण्डद्वारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो र मोहन वैद्यलाई महामन्त्रीमा निर्वाचित गर्‍यो । त्यो प्रतिवेदन नै प्रचण्ड कमरेडको राजनीतिक जीवनको अस्थिरताको कारण बन्यो । त्यसपछिका दिनहरूमा मूल नेतृत्व खुइल्याउने नेतृत्वमा पुग्ने प्रचण्ड कमरेडको नियति बन्दै आएको इतिहासले बताउँछ । 

२०४३ सालको सेक्टर काण्डमा सबै घटुवा प्रचण्ड बढुवा हुने देखि सशस्त्र युद्धको बेला फरक मत राख्नेको सफाया समेतका काम पद पिपासु बाहेक अर्को मान्छेबाट कल्पना समेत गर्न सकिन्न । आफु पदका निम्ति जे पनि गर्न सक्ने अरूलाई जे आरोप पनि लाउन सक्ने नियत प्रचण्ड कमरेडमा विद्यमान रहँदै आएको छ । यसलाई सबल पक्ष भनी साथ दिनेहरुपनि विगत देखि वर्तमान सम्म छन् । 

अहिले नेकपा भित्रको विवाद पनि प्रचण्ड प्रवृत्तिको पुनरावृत्ति हो यो न कुनै मार्क्सवाद सम्मत छ न यो कुनै लेनिनवाद सम्मत छ । यो विशुद्ध प्रवृत्तिको विचलित मनोविज्ञानसँग सम्बन्धित छ । एउटै पार्टी जुन पार्टी एकताले पूर्णता समेत पाएको छैन, जुन पार्टीमा सैद्धान्तिक वैचारिक बहस सुरु भएको छैन र जुन पार्टीलाई कार्यकारी नेतृत्व आफैद्वारा गरिएको छ, त्यही पार्टीका प्रथम अध्यक्षविरुद्ध शत्रुतापूर्ण सङ्घर्षको आहानका निम्ति आरोप पत्र दर्ज गर्ने कामलाई कसरी स्वस्थ मानसिकताको उपज हो भन्न सकिन्छ ?  

निष्कर्ष
यदि नेकपालाई एकताबद्ध नेकपा बनाउने हो भने शीर्ष नेतृत्व त्यसमा पनि कार्यकारी अध्यक्षले गंम्भिर आत्म समीक्षा गर्नु पर्ने देखिन्छ । कार्यकारी अध्यक्षको विगत हेर्दा वहाँ जहाँ बस्नु भयो त्यो पार्टी हेड क्वाटर वहाँले जे बोल्नु भयो त्यो पार्टी नीति हुँदै आएको थियो तर जुन कुरा अहिले सम्भव छैन र हुँदैन पनि । विगतकै विरासत कायम राख्ने सोचबाट कार्यकारी अध्यक्ष मुक्त नहुँदासम्म पार्टीमा झन् समस्या विकराल हुने देखिन्छन् र पार्टी ढिलोचाडो विभाजन पनि हुन सक्छ । पार्टीको विभाजन रोक्न पहिलो कुरा पार्टीलाई विचारमा जोड्न पर्‍यो र राजनीतिक विषयमा बहस गर्ने वातावरण सिर्जना गराउनु पर्‍यो । 

दोस्रो कुरा आफ्नै पार्टी सरकार हो त्यो सरकार नेपालको संविधान अनुसार राज्य व्यवस्था सञ्चालन गर्छ र गर्नु पर्छ भन्ने मान्यतालाई आत्मा साथ गर्नु पर्‍यो । तेस्रो कुरा पार्टीलाई नेकपाको अन्तरिम विधान अनुसार सञ्चालन गर्नु पर्‍यो र यो संक्रमणकाल छिटो अन्त्यका निम्ति संस्थागत पहल गर्नु पर्‍यो । चौथो, आफु बाचुन्जेल नेतृत्वमा रहने महत्त्वाकाङ्क्षा मुक्त हुँदै आफु केन्द्रित पदका निम्ति समूहगत छलफलहरूको अन्त्य नगर्दा सम्म नेकपाको विवाद केही समयका निम्ति टालटुल भए पनि अन्त्य भने हुने छैन ।