काठमाडौं, २७ कात्तिक – चिनियाँ राजदुत यु होङले ‘बेल्ट एण्ड रोड एनिसिएटिभ’ मार्फत चीनले दक्षिण एसियाली राष्ट्रहरुसँग सम्वन्ध बिस्तार गर्न चाहेको भन्दै त्यसका लागि ती देशहरुसँग स्वतन्त्र ब्यापार सम्झौता गर्ने तयारीमा रहेको बताउनु भएको छ । 

 नेपाल–चीन मैत्री मंचले सोमबार आयोजना गरेको ‘कोन्टोर्स अफ द बेल्ट एण्ड रोड ईनिसिएटिभ फर साउथ एसिया’ शिर्षकमा आयोजना गरेको अन्तक्रियामा राजदुतले दक्षिण एसियाका सबै राष्ट्रसँग चीनले सम्बन्ध थप बिस्तार गर्न चाहेको बताउनु भएको हो । उहाँले दक्षिण एसिया क्षेत्रको बिकासमा चीन सक्रिय सहभागि हुन इच्छुक रहेको पनि जानकारी दिनुभयो ।

‘यो ईनिसिएटिभ (बीआरआई) प्रस्तावित भएर आएपछि  चीनको दक्षिण एसियासँगको ब्यापार बिस्तार भएको छ । चीन दक्षिण एसियामा मुख्य लगानीकर्ता भएर आएको छ । उर्जा र पूर्वाधारको क्षेत्रमा चीनले लगानी बढाएको छ’ राजदुत होङले भन्नुभयो । उहाँले बीआरआई अन्तगर्त दक्षिण एसियाली राष्ट्रहरुको विकास गर्नका लागि ती सबै देशसँग स्वतन्त्र ब्यापार सम्झौताको तयारी भइरहेको जानकारी दिनुभयो ।

‘नेपालसँग स्वतन्त्र ब्यापार सम्झौता यही बर्षमा गर्दैछौं, त्यसपछि हामी स्वतन्त्र ब्यापार क्षेत्रहरु दु्रुत निर्माण गर्नेछौं’ उहाँले भन्नुभयो,‘त्यसबाहेक अन्य थुपै क्षेत्रमा हामी लगानी बढाउनेछौं ।’ उहाँले एक बर्षका बीचमा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ६० प्रतिशत बृद्धि भएको र यो प्रतिशत धेरै माथी पुग्ने बताउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १९ औं महाधिवेशनमार्फत चीनको प्राथमिकता निर्धारण गरेको र त्यसमा बीआरआई प्रमुख रहेको जानकारी राजदुतले दिनुभयो । अन्तक्रियामा बंगलादेश, भारत, पाकिस्तान र नेपालका बिज्ञले बीआरआईका बिभिन्न आयामबारे चर्चा गर्दै त्यसमा आफ्नो धारणा राखेका थिए ।