​​​​​​नेपालमा अहिले उच्च पदमा आसीन भूतपूर्वहरूले सङ्गठन गठन गरी भाँडभैलो जात्रा गर्ने नीच अभियान जारी छ । यसै सिलसिलामा लोकतन्त्रलाई लज्जित र बहुदलीयतालाई बहुला बनाउने गरी  हाल नेपालमा  ‘नेपाल भ्रान्तिकारी भूपू प्रधानमन्त्री संघ’ नामक सङ्गठनमर्फत् पञ्चपरमेश्वरको उदय भएको छ । यही सङगठनले दलीय अराजकताको ऐँजेरूको हस्ताक्षर बिरुवा लगेर सर्वोच्चेश्वरनाथका दैलाका छेवैमा लगेर समेत रोपेकै छ र एकसय चौवालिसवटा कुविन्डाको बलि पनि चढाउँदै  ‘हे सर्वोच्चेश्वरनाथ ! प्रधानमन्त्री देउ वा!  ’ भन्दै आरती पनि उतारेकै छ !  त्यतिले नपुगेर त्यो सङ्गठनले  बेलाबेलामा केही रिस, कुण्ठा र आवेगका शब्दका स्याउलाहरू जोरजाम पार्दै देशभक्तिकानामको रुञ्चे विज्ञप्ति प्रसारित गरेकै छ र देशभक्तिका भ्रान्तिको डङ्का पिट्न खोजेकै छ । आआफूले प्रधानमन्त्री हुँदा देश हितमा केके न खोरिया फाँडेझैँ अहिले खूब पानीमाथिको ओभानो हुन खोजिरहेको लाखेनाच  देखेर दुनियाँ अट्टहास हाँसिरहेछ !   

दुनियाँलाई थाहा हुँदैछ, बारबुँदे सम्झौताका नाममा नेपालको स्वाभिमान र आत्मनिर्णयको अधिकारलाई लगेर दिल्लीमा लगेर किन भेटी चढाइएको रहेछ ? र त्यो कुन उद्देश्य र केका लागि गरिएको रहेछ ? सत्रहजारको सिकार र खरबौँको जनधनको क्षति गरेर बेलुन फुलेझैँ फुलेका शिकारीहरू स्वयम्‌का ढोका छेवैमा जब मृत्युले ढोका ढक्ढक्याउन थाल्यो त्यस पछि मात्र ऊनीहरू देशभक्तिका दौरासुरुवाल फालेर गान्धीग्रमाका खाडीका वस्त्रहरू कसरी पहिरेका रहेछन् ? त्यतिबेला दिल्लीमा लम्पसार परेका कुरा यी सबै कुराको नालीबेली उतातिरका विद्वान्‌हरूले लेखेका किताबका पानाहरूमा सुरक्षित छँदै छन् ।

लोकतन्त्रमा आफ्नै दलका सांसदले भोट नदिएर सरकारबाट अपदस्थ भएका सबैभन्दा बूढो लोकतान्त्रिक पार्टीका बुढानीलकण्ठतिर बस्दै गरेका  अहिलेका सभापतिको त्योबेलाको घाउ सुकेछ क्यारे !  आझ फेरि अर्को दलको बारीका कुभिन्डा चोरेर देउतालाई चढाई प्रधानमन्त्री बन्छु भन्दै लोकतन्त्र र दलीयताको लङगोटी टाउकामा बेरेर र हातमा निर्दलीयताको त्रिशूल भिरेर बोलबमका तीर्थयात्रीले ‘बोलबम, बोलबम’ भनेझैँ ‘बोल देशभक्ति’ भन्दै हिँडेको देख्दा पो ताजुब लागिरहेछ  !   

नेपाल भ्रान्तिकारी भूपू प्रमंहरूलाई जनताको मन्दिरमा जान भनेपछि मुन्टैमा हिर्काएझै हुने रैछ क्या हो  !   त्यसैले यिनीहरू स्वदेखी होस् वा विदेशी विभिन्न धाममा धाउने पेसालाई स्थायी पेसाका रूपमा पो लिँदैछन् क्यार  !   

अँ, पहिलेपहिले र अहिले पनि महादेवलाई देवाधिदेव भनिन्थ्यो र भनिन्छ पनि । नेपालमा अहिले ती भन्दा पनि ठूला देवतासर्वोच्चेश्वरनाथ बनेका छन् कि जस्तो पो छ त !   चुनावमा जससँग प्रतिस्पर्धा गरेर विजयी भइयो, जससँग पौठेजोरी खेलेर मतदाताले जसलाई विजयी गराए, उहीविरोधीसँग मिलेर आफ्ना मतदाताको हुर्मत लिने लिच्चडजात्रा पनि अहिले देखिँदै छ ।  विरोधीका आँगनका डिलमा बसेर  प्रधानमन्त्रीको प्रसाद बाड्न हिड्ने र आफ्ना मतदातामाथि गद्दारी गर्ने सर्वाधमहरूलाई सर्वोच्चेश्वरनाथले ‘तिमीहरू मिल’ भनेर अन्तरिम  आदेश दिनुभयो । वास्तवमा यो अन्तरिम आदेश मात्र नभएर राजनीतिको लिक छोडेर बतुराउँदै हिँडेकाहरूलाई एकपल्ट लिकमा हिँडाउने अन्तिम आदेश हो कि जस्तो कतिपयलाई लागिराछ । 

अब नेकपा एमालेका माधव नेपाल दादेपथ (दाहाल देउवा पथ ) छाडेर बाकोपथ ( बालुवाटार कोटेश्वर पथ ) तर्फ केकसरी मोडिनुहुन्छ भन्ने कुरालाई सर्वोच्चेश्वर नाथको ‘अन्तरिम उर्फ अन्तिम’ आदेसको फैसलापछि उहाँको भावी यात्रालाई निर्धारण गर्ने छ । वास्तवमा दादेपथ भनेको दादजस्तो चिलाउने, खटपटी हुने, उखर्माउले हुने र पदका लागि र्याल चुहाउने र थुक घुटुघुटु निल्ने अनि छँदा खाँदाको आफ्नो पुरानो राजनीतिक स्वस्थताको साख खलास पार्ने पथ हो । उहाँको जिउमा सल्केको पदप्राप्तिको सुकेलुतो भन्दा पनि खतरनाक दाद एकछिन दादेहरूले कन्याइदिए पनि उहाँको त्यो दाद निको नभई उकुच पल्टेर वर्वाद नहोला भन्न सकिन्न । 

फागुनतिर ‘सके एमाले कब्जा गर्नू नसके विद्रोह गर्नू’ भन्ने पेरिस डाँडाबाट पाएको प्रोकेक्टवर्क चरणबद्धरूपमा बुझाउने क्रम जारी छ । वगमती लुम्बिनी राष्ट्रिय सभा, कर्णाली प्रदेश सभा, सुदूर पश्चिम प्रदेश सभामा इमान्दारी पूर्वक किस्ताबन्दीमा प्रोजेक्ट पूरा गर्ने अभियान चलेकै छ । आफ्नै घर चुहिने पारैँ भनेर मक्ख पर्ने गतिको तीव्रता छ । देउवालाई  प्रधानम्न्त्री बनाउन गरेको हस्ताक्षर लगेर सर्वोच्चेश्वर न्यायदेवका दर्घामा चढाइएकै छ ।  अस्ति कहिले हो कुन्नि विभिन्न किस्ताको होमवर्क बुझेपछि पुष्प सर खुसीले फुस्स हुँदै “ हामीलाई एक्लयाउन क्षतविक्षत हुनेवाला छन् भन्दै डुक्रनु भाको पनि सुनिएकै हो । जमिनमा खासै हैसियत नभएका र अरुले आर्जन गरेको जनमत कब्जा गर्ने अनि आकाशखेतीमा रमाउने बानी परेकाले नेकपा एमालेको बाली फाँड्दा आफ्नो बाली हराभरा हुने सपना देख्नु भा पनि होला !  जमिनमा गएर खेती नगर्ने र अर्काको खेतीबालीमा आँखा गाड्ने र नष्ट गर्ने बानी परेकासँग आफ्नै सुग्रीव मिसिएपछि त त्यसो गर्न हौसिनु स्वभाविकै हो  !   

सर्वोच्चेश्वर न्यायदेवले अहिले गरेको फैसलाले नेकपा एमालेलाई एक ठाउँमा ल्याउन बुटी वा जन्तरको काम गर्न सक्छ तर क्रोनिक दाद जम्मै जिउमा सल्केका एकदुईजना नेतालाई सो दाद कन्याउँदा कन्याउँदै यो कुरो सोच्ने फुर्सद पो कहाँ होला र ?

अर्को कुरो, यो भूतपूर्व भ्रान्तिकारी प्रमं सङ्गठनको जनशक्ति पनि विचित्रको छ  !  यसमा एकातिर सर्पविद् कालिगढको कालिगढी कुरूप रूपमा कुँदिएको छ भने अर्कातिर केटाकेकटीले झिँजाको कटेरी बनाएर भत्काएझैँ पार्टी बनाउँदै ध्वस्त पार्दै हिँड्ने र नयाँ जन्मेको पार्टीलाई फेरि केटाकेटीले कटेरी भत्काएझैँ भत्काउने ‘भत्केको पाटी’का मुखिया पनि त्यहाँ विराजमान हुनुहुन्छ । उहिलेको छापामार लडाइँमा उपकमान्डर भएर हो कि किन हो,  तिहुनचखुवा शैलीमा भएजति पार्टीमा सरुवा हुँदै चाख्दै हिँड्ने र त्यो पार्टीलाई जथाभावी डसेर छापामार शैलीमा उपियाँझैँ बुर्कुसी मार्ने र हरेक पार्टीमा होँडलो मच्चाउने डाक्टर कामरेड पनि त्यहाँ हुनुहुन्छ । “नयाँ शक्ति” नामको लुखुरे पार्टी बनाएर लुखुरलुखुर हिँडदा पार्टीका मुसाहरूले छाड्दै गएपछि त्यो पार्टीको घाँटी ननिमोठेर के पो गरुन् त बिचराले  !   

जे होस्, लोकतन्त्रको उपयोग गर्दै लोकतन्त्रको भ्रम फिँजाउने र बहुदलीयताको मर्ममै प्रहार गर्ने गरी भाँडभैलो गर्न गठन गरिएको  ‘नेपाल भ्रान्तिकारी भूपू प्रमं संघ’का पञ्चपरमेश्वरलाई हार्दिक र मुरीमुरी बधाइ !!!!    आगामी चुनावमा यो समूह ‘महापञ्चगठबन्धन’ का नाममा चुनावमा जाने साउती गर्दै छ भन्ने गाइँगुइँ पनि सुनिँदै छ !  जनताले पक्कै पनि ’काँध थापेर होइन “रामराम !  ” भनेर’ विजयी बनाउने नै छन्  !  हार्दिक शुभकामना  !!!