समय र भाग्यहरू दुबै परिवर्तनशील हुन्छन् तर यात्राभने नियमित गरिराख्नु पर्छ । यात्रा नियमित गर्नु भनेको परिवर्तित समय र भाग्यलाई आफू अनुकुल बनाउनु हो । गन्तव्यसहितको यात्रालाई निरन्तरता दिन नसक्दा हाम्रो सामाजिक तथा राजनीतिक जीवन धेरै विवादित र विभाजित भएर यहाँसम्म आईपुग्यो । यस्ता क्रियाकलापहरूले देशलाई हिजोभन्दा आज आर्थिक रूपमा झन कमजोर र परनिर्भर बनाउँदैछ । यो यथार्थलाई स्विकारेर अगाडिको यात्रा सबै मिलेर गर्नुपर्ने बेलामा माझ (माधवंझलनाथ) समुह विभाजनको आत्मघाती बाटो रोजेर पार्टीभित्र पार्टीको अभ्यास गर्न खोज्दैछन् ।

हिजो (३ जेठ २०७५ देखि २३ फागुन २०७७ सम्म) पार्टीभित्र पार्टी र सरकारभित्र सरकार चलाउन खोज्ने (माधव झलनाथ प्रचण्ड) माझण्ड प्रवृत्तिका कारणले न नेकपाले गति लिएको थियो न त सरकारले नै अपेक्षित प्रगति हासिल गर्न सकेको थियो । फेरि राज्य र पार्टी सत्ताको मुख्य नेता भएको नाताले केपी ओलीले पनि पार्टीभित्रको आन्तरिक विवादहरू मिलाउँदै पार्टी र सरकारलाई चलाउने क्षमता र कुशलता देखाउन सक्नु पर्थ्यो । तर त्यो परिस्थिति नै बनेन । 

परिणामस्वरूप माझण्ड समुहले केपी ओलीका विरूद्धमा निरन्तर गतिविधि गर्दै आउँदा ५ पुष २०७७ मा संसद विघटन जस्तो अप्रिय निर्णय गर्न प्रम ओली राजनैतिक रूपमा बाध्य भएका थिए। यदि पुष ५ मा संसद विघटन नभएको भए आज माझण्ड समुहको बदनियतपूर्ण राजनीति जनताले थाहा पाउने थिएनन्। त्यसैले त संसद विघटन अप्रिय निर्णय भएको भएतापनि त्यो राजनैतिक रूपमा ठीक थियो भन्ने अवस्था बन्दैछ। हिजोआज माझ समुहका जमघट र प्रचण्डका दौडधुपले उनीहरू के गर्न चाहन्थे भन्ने कुरा प्रमाणित हुँदैछ।

स्वाभिमान बन्धक राखेर सम्वृद्धि खोज्ने र यात्रालाई निरन्तरता दिने नाममा गलत गन्तव्य पछ्याउने क्रियाकलाप गर्ने पनि होइनभन्ने मान्यतामा दृढ भएर अघि बढ्न खोज्दा त्यसमा अवरोध सिर्जना गर्न नेकपाभित्रै बाट धेरै नै अवाञ्छित प्रयासहरू भइरहे । यसको वस्तुनिष्ठ समिक्षा भोलि हुन्छ नै । तर आज हामीसँग विगतबाट सिक्दै उज्वल भविष्यका लागि वर्तमानमा सकारात्मक र रचनात्मक भएर क्रियाशील हुनुबाहेक तत्काल अर्को विकल्प छैन । हाम्रो मनस्थिति सकारात्मक र रचनात्मक बनाउँदै, देशको परिस्थिति आसावादी बनाउने चेतनाको विकास र अभ्यास आवश्यक भएको छ । यसका लागि शिक्षा तथा सामाजिक व्यवस्था, प्रशासनिक तथा न्यायिक प्रणाली र आर्थिक क्रियाकलापहरू राजनैतिक र संवैधानिक परिपाटीअनुसारको प्रगतिशील, जनमुखी र लोकतान्त्रिक हुनैपर्छ ।

फागुन २३, २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपालाई मान्यता नदिई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई फरक–फरक दल रूपमा चिनाई दिएपछि माझण्ड समुह विचलित र असन्तुलित हुनपुग्यो । त्यसमा पनि माधव कुमार नेपाललाई त्यो फैसलाले अप्ठ्यारोमा पारिदियो । त्यही अप्ठ्यारोले हिजोआज उनका गतिविधि र बोलीचालीमा पार्टी विभाजनको छनक देखिन्छ । माधव नेपालको त्यही अप्ठ्यारो र छनकमा खेलेर प्रचण्डले नेकपा (एमाले) चोईट्याउने प्रयास पनि गर्दैछन् । त्यही प्रयास सफल बनाउन उनीहरू कुनै निष्कर्षमा पुग्नुभन्दा अघि गोप्य भेटघाट र छलफल पनि गरिरहेका छन् । तर त्यस्ता गतिविधिले माधव नेपाललाई नै राजनीतिक रूप झन कमजोर बनाईरहेको छभन्ने यथार्थ उनका सहयोगीहरूले किन सुनाउँदैनन् ? रहस्यको विषय बनेको छ । फेरि नेकपा (एमाले) मा सामान्य विभाजन आउँदा पनि त्यसले भोलि बढी क्षति गर्छभन्ने वास्तविकतालाई मनन गरेर संस्थापन पक्षले असन्तुष्ट  विद्रोही पक्षलाई सम्वादमार्फत विश्वासमा लिने र एकतालाई बलियो बनाउने वातवरण बनाउनु पर्थ्यो र पर्छ।

समयले एकिकृत र बलियो कम्युनिष्ट पार्टी खोजिरहँदा नेतृत्वहरूले विवाद बढाउँदै विभाजनलाई बल पुग्ने खालका गतिविधि गरिरहे । पार्टी एकिकृत भएपछि एकता पूर्वका समिकरण त्यागेर नयाँ ढङ्गले अघि बढ्नु पर्ने बेलामा एकले अर्कोलाई कमजोर बनाएर आफू बलियो हुन्छु भन्ने गलत चेतनाबाट निर्देशित हुँदा सुषुप्त अवस्थामा रहेको अन्तरद्वन्द्व विस्फोट हुने चरणमा पुगेको हो । यसको मुख्य कारण नेकपाको एकतामा विचार र विश्वास सङ्कट थियो भन्ने नै हो ।

नेकपा हुँदै नेकपा (एमाले) मा देखिएको विग्रहपूर्ण अवस्थालाई दक्षिणपन्थी यथास्थितिवादी र तिनका सहयोगीहरूले राम्रो अवसरका रूपमा लिएका छन् । त्यसैले उनीहरू कम्न्युनिष्ट पार्टीहरूभित्र देखिएको अन्तरद्वन्द्वभित्र खेलेर आफ्नो राजनीतिक स्थान पुनः कायम गर्ने मौन रणनीतिका साथ क्रियाशील भइरहेका छन् । तर पनि अझै उनीहरू कम्न्युनिष्ट पार्टीभित्रको द्वन्द्व बढेर आफूहरूलाई लाभ हुने कुरामा विश्वस्त हुन सकिरहेका छैनन् । किनभने विगतमा त्यस्ता द्वन्द्वका बीचमा पनि कम्न्युनिष्टहरूबीच सहकार्य भएर आफूहरूलाई पछाडि पारेको विगत उनीहरूले बिर्सन सकेका छैनन् । कम्न्युनिष्ट विरोधीहरूको कमजोर आत्मबल र अन्तरद्वन्द्वका बीचमा पनि सहकार्यको सम्भावनाहरूलाई बुझेर प्रम तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले फराकिलो मनका साथ पार्टीभित्र र बाहिरका आफ्ना विरोधी तथा आलोचकहरूसँग सम्वाद बढाएर कम्न्युनिष्टलाई बलियो बनाउन विशेष भूमिका निभाउन तयार हुनुपर्छ।

विवाद हुँदा अडान राखेर होइन, लचक भएर विवाद समाधानका उपायहरू खोज्नु पर्छ । विवाद बढाउने खालका गतिविधिहरू नगरेर परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन। त्यसैले विवादमा देखिएका मुख्य पात्रहरूका बीचमा मध्यस्त गर्न बेग्लै ईमानदार र निष्पक्ष प्रयासहरू आवश्यक पर्दछ । आज नेकपा (एमाले) मा देखिएको विवादमा मध्यस्त गर्न सक्ने पक्षको सक्रियता आवश्यक भएको छ । मध्यस्त गर्ने पक्षले दुबै पक्षका सबल र दुर्बल पक्षलाई विश्लेषण गरेर पार्टीभित्र सबैले आफ्ना कमजोरी स्विकार गर्दै एकिकृत भएर अघि बढ्ने विश्वासको वातावरण तयार गर्नुपर्छ । यसका लागि दुबै पक्षले विभाजनउन्मुख गतिविधिहरूलाई थाँती राख्नु पर्छ।

मूल नेतृत्वलाई बदनाम गराएर कमजोर बनाउँदै आफू बलियो हुन्छुभन्ने खराब चेतबाट मूक्त हुने होभने नेकपा (एमाले) भित्रको विवाद क्षणभरमा समाधान हुन्छ। किनभने अहिले नेकपा (एमाले) भित्र देखिएको विवाद वैचारिक र सांगठनिक नभएर नितान्त वैयक्तिक हो । हिजो नेकपाभित्र देखिएको विवाद पनि त्यस्तै थियो । त्यसैले मूल नेतत्वदेखि कार्यकर्ताले नकारात्मक चेतबाट मूक्त भएर देश र जनतालाई केन्दमा राखेर राजनीति गर्ने मनसस्थिति बनाउनै पर्छ । आफ्नो मान, सम्मान र पदीय प्रतिष्ठालाई भन्दा देशलाई शिरमा र जनतालाई मनमा राखेर वैचारिक आदर्शअनुरूपको राजनीति गर्न तयार हुनुपर्छ । समयले नेतत्वबाट त्यो सुझबुझ, त्याग र योगदान खोजेको छ ।

राजनीतिक नेतृत्वले विवेकसँगै विचार र पार्टीको लक्ष्यमा पनि ध्यान दिनुपर्छ अन्यथा अनावश्यक विवादमा फसेर आफ्नो प्रभाव र प्रतिष्ठामात्र धरापमा पार्दैन देशलाई पनि समस्यामा पार्छ । त्यसैले राजनीतिक नेतृत्वले विगत होइन भविष्य, आफू होइन देश र जनता हेरेर अघि बढ्नु पर्छ । नेकपा (एमाले) को हकमा त्यसका नेता तथा कार्यकर्ताहरूले विचारमा जनताको बहुदलीय जनवाद मान्ने र रातो झण्डा बोक्ने मनस्थिति बनाउँदै मत तथा मनभेदहरूलाई हटाएर एकजुट हुँदै राष्ट्रिय आकांक्षा “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने अभियानमा जट्नु पर्छ।

तल्लो तहका शुभचिन्तक तथा कार्यकर्ताहरू नेपालमा एउटा बलियो कम्न्युनिष्ट पार्टी बनेको र क्रियाशील भइरहेको देख्न चाहन्छन् । यो यथार्थलाई आत्मबोध गरेर केपी ओलीदेखि माधव र प्रचण्डले आफ्ना लाभ–हानी नहेरी वैचारिक धरातलमा टेकेर नेपालमा एउटा बलियो कम्न्युनिष्ट पार्टी बनाउन क्रियाशील हुनुपर्थ्यो नकि एकले अर्कोलाई निषेध गरेर कम्न्युनिष्ट विरोधीहरूको आत्मबल बढाउने । त्यसैले अब विगतमा अल्झेर होइन, भविष्यलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । विभाजन होइन एकता, विमति होइन सहमति, द्वन्द्व होइन शान्ति, वैरभाव होइन मित्रता अनि षडयन्त्र होइन विश्वास बढाएर प्रगतिशील लोकतान्त्रिक धारको राजनीति आदर्शअनुरूपको व्यवहारबाट श्रेष्ठता हासिल गर्नेगरी अघि बढ्न नेतृत्व प्रतिबद्ध हुनुपर्छ।

माझण्ड समुह अनौपचारिक रूपमा कायम हुनु, उनीहरूबीचको भेटघाटलाई गोप्य राख्न खोज्नु, माझ समुहले बेग्लै पार्टीको अभ्यास गर्नु र नेकपा (एमाले) को संस्थापन पक्षको संसयलाई बल पुग्नेगरी डा.विजय पौडेलले गुटको भेलामा “एमालेमा फर्किनु गम्भीर त्रुटी थियो, ढिला गर्दा झन ठूलो घेरावन्दीमा फस्छौं।” भन्ने निष्कर्षका साथ लिखित प्रस्ताव गर्नु र माधव नेपालको कुण्ठाग्रस्त अभिव्यक्तिहरूले उनीहरू जसरी पनि एमाले फुटाउन चाहन्छन् भन्ने देखिन्छ।  

कथित नागरिक अगुवा र केही बुद्धिजिवीहरूले नागरिक आन्दोलनको व्यानरमा नेकपा (एमाले) लाई फुटाउन प्रचण्ड र माधवलाई खुला रूपमा आह्वान गर्दैछन् । त्यसलाई प्रचण्ड र माधवले शक्तिका रूपमा बुझेको देखिन्छ । जबकी त्यो नागरिक आन्दोलनको लक्ष्य नेपालमा कम्न्युनिष्टहरूलाई विभाजित गर्दै कमजोर बनाउने हो । यसका लागि सबभन्दा पहिला केपी ओलीलाई बदनाम गराउनु पर्छ र कमजोर बनाउनु पर्छभन्ने निष्कर्षका साथ बुर्जुवा अवसरवादी नागरिक तथा बुद्धिजिवीहरू प्रचण्ड र माधवलाई केपी ओलीलाई पार्टी र राज्य सत्ताको नेतृत्वबाट हटाउन उक्साउँदै छन् । यसर्थ नेपाल र नेपालको कम्न्युनिष्ट आन्दोलन जोगाउन बुद्धिजिवी र नागरिक अगुवारूपी खास्टो ओढेका दलालहरूबाट टाढा बसेर राष्ट्रिय राजनीति जनमुखी र देशमुखी बनाउँदै विग्रह चाहनेहरूको रणनीतिलाई असफल बनाउनु पर्छ । विभाजन र विग्रहको मानसिकताबाट होइन एकता र सहकार्यको भावनाबाट आन्दोलनलाई अघि बढाउने सङ्कल्पका साथ अघि बढ्नु पर्छ।

‘नतिजा सकारात्मक ल्याउन ईच्छा, क्षमता र परिवेसबीच तालमेल मिल्नै पर्छ । पात्रका प्रवृत्ति, सामाजिक संस्कार र व्यवहारहरू अनुकरणीय हुनैपर्छ । यसका लागि शिक्षा व्यवस्था र राज्यको नीतिले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अनिमात्र राजनीतिले समाजमा सकारात्मक तरङ्ग ल्याउन सक्छ।’ तर  नेपालको राजनीतीक नेतृत्व विद्रोहको मानसिकताबाट बाहिर निस्कन सकेन । जसले गर्दा राजनीतिमा अस्वस्थ्य अन्तरद्वन्द्वहरू मात्र बढेन त्यसले नेपालमा नियन्त्रित अस्थिरता कायम गर्न चाहने बाह्य शक्तिको मनोबल पनि बढायो । त्यसमाथि उपयोगितावाद र कुण्ठाबीचको समिकरण बन्दा बाह्य पक्षलाई कम्न्युनिष्टहरूमा विभाजित बनाउँदै नेपालको राजनीतिलाई प्रदुषित बनाउन सजिलो भयो । अहिले त्यसलाई नीति र विधिको कालो खास्टो ओढाएर जनमनलाई भ्रमित बनाउन खोजिदैछन् । यसबाट नेतृत्वदेखि कार्यकर्ताहरू जोगिदै विभाजन छोडेर एकता र विमति छोडेर सहमतिको राजनीतिमा फर्कनुको अर्को विकल्प छैन्।